१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमणको जोखिम गाउँमा बढ्यो

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार दुई दिनयता उपत्यकानजिकका धादिङ, काभे्र, नुवाकोटलगायत जिल्लाबाट कडा लक्षणसहितका संक्रमित उपचार गराउन आइरहेका छन्। उनले उपत्यकाबाहिरका गाउँबाट आइतबार अस्पतालमा १६ जना संक्रमित आएको जानकारी दिए।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा पनि उपत्यकाबाहिरका ग्रामीण क्षेत्रबाट संक्रमित आउन थालेका छन्। दुई सातादेखि गाउँबाट बिरामी आउने क्रम सुरु भएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ पल्मोनरी तथा छातीरोग विशेषज्ञ डा. निरज बमले बताए। अस्पतालमा नुवाकोट, रसुवा, काभे्र, सिन्धुपाल्चोकका गाउँबाट गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन्। समयमै उपचार नपाएका कारण कतिपय बिरामीको आउँदाआउँदै मृत्यु हुने गरेको डा. बमले बताए। ग्रामीण भेकबाट आउने धेरैजसोमा श्वासप्रश्वासको समस्या देखिएको छ। डा. बमको अनुभवमा पछिल्ला दिनमा मृत्युदर पनि सहरको तुलनामा गाउँमा बढी छ। ‘कतिको उपचारमा आउनुअघि नै मृत्यु भइसकेको हुन्छ’, उनले भने।

डा. बमका अनुसार गाउँमा कोरोना संक्रमितले हेरचाह नपाउने र राजधानीमा आइसकेपछि पनि भनेकै बेला आइसियु र भेन्टिलेटर नपाउँदा मृत्युसम्म हुने गरेको छ। ‘आर्थिक अवस्था कमजोर भएका संक्रमितले निजी अस्पतालमा उपचार गर्न सक्दैनन्, सरकारीमा चाहिएका बेला बेड नै पाइँदैन’, उनले भने। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिले प्रदेश १, प्रदेश २, सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमणदर बढेको छ। 

गाउँमा गत वर्षको तुलनामा यो वर्ष क्वारेन्टिनको उचित व्यवस्था नहुनु, जनस्वास्थ्य मापदण्ड पालनामा बेवास्ता, निषेधाज्ञाकै बीचमा हिँडडुल, होम आइसोलेसनमा बसेका संक्रमितका परिवारका सदस्यले मास्क प्रयोग नगर्नु र साबुनपानीले राम्रोसँग हात सफा नगर्नु जस्ता कारणले संक्रमण बढेको देखिन्छ।

ती प्रदेशका पनि गाउँ–गाउँमा संक्रमण बढ्दै गएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए। गाउँमा गत वर्षको तुलनामा यो वर्ष क्वारेन्टिनको उचित व्यवस्था नहुनु, जनस्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गर्नु, निषेधाज्ञाकै बीचमा हिँडडुल गर्नु, होम आइसोलेसनमा बसेकाका परिवारका अन्य सदस्यले मास्क प्रयोग नगर्नु र साबुनपानीले राम्रोसँग हात सफा नगर्नु जस्ता कारणले संक्रमण घट्न नसकेको डा. पौडेलको भनाइ छ। गाउँमा संक्रमणदर बढी भएमा प्राविधिक हिसाबले उपचार तथा अन्य व्यवस्थापनमा कठिनाइ हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी बताउँछन्। 

‘भौगोलिक विकटता तथा स्वास्थ्य संस्थाको अभावले पनि गाउँमा उपचार गर्न, गराउन समस्या हुन्छ’, उनले भने। गाउँमा संक्रमणको जोखिम घटाउन जनस्वास्थ्य मापदण्ड पालनामा जोड दिनुपर्ने, पालना भएनभएको स्थानीय तहले अनुगमन गर्नुपर्ने, होम आइसोलेसनमा निगरानी गर्नुपर्ने, परीक्षण दायरा बढाई उपचारको उचित व्यवस्थापन गर्नुपर्ने इपिडिमियोेलोजिस्ट अर्चना थापा बताउँछिन्।  

‘कोरोना संक्रमण सबैतिर फैलिसकेको अवस्थामा अब स्थानीय तह, नागरिक समाज र स्वयं संक्रमितसमेत सचेत हुन आवयश्क छ। एउटामात्र पक्षको भूमिकाले पुग्दैन’, उनले भनिन्। संक्रमण ५० वटा जिल्लामा व्यापक रुपमा फैलिसकेको मन्त्रालयले जनाएको छ। तथ्यांकअनुसार गत वर्षको यही समयको तुलना गर्ने हो भने अहिले संक्रमण तीन गुणा बढेको छ। गत वर्ष प्रतिदस लाखमा १ सय ७ प्रतिशतले संक्रमण वृद्धि भएको थियो भने यो वर्ष ३ सय ७ प्रतिशतले वृद्धि भएको छ। यो वर्ष दैनिक संक्रमणदर ४६.७ प्रतिशतसम्म पुगेको छ भने छ भने गत वर्ष यो २५ प्रतिशतसम्म थियो। गाउँमा संक्रमण नियन्त्रणका लागि सरकारले मंसिरमै समुदाय स्तरमा कोभिड सहजीकरण समूह परिचालनसम्बन्धी मार्गनिर्देशन निर्माण गरेको थियो। निर्देशनअनुसार हरेक टोलमा कम्तीमा एउटा समूह गठन गर्नुपछ र त्यसले कम्तीमा ५० घरको निगरानी गर्नुपर्ने हुन्छ।

संक्रमणदर ३९.७ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणदर ३९.७ प्रतिशत रह्यो। परीक्षण भएका १९ हजार ९ सय २६ वटा नमुनामध्ये ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भयोे। दोस्रो लहर सुरु भएयता २ लाख ६० हजार २ सय ८० जना संक्रमित भएका छन्। मुलुकमा हालसम्म ५ लाख १३ हजार २ सय ४१ जना संक्रमित भएका छन्। अहिले मुलुकमा १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ८ हजार १ सय ९८ जना होम आइसोलेसन र ७ हजार ३ सय ४९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। एक हजार ७ सय २१ जनाको आइसियुमा र ४ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

थप १ सय ९० जनाको मृत्यु

गत चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १ सय ९० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ। दोस्रो लहर सुरु भएयता ३ हजार ३ सय १४ जनाको मृत्यु भएको छ।

विभिन्न अस्पताललाई बजेट

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा अक्सिजन व्यवस्थापनका लागि २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले २ सय शड्ढयाभन्दा बढी क्षमता भएका अस्पतालहरूका लागि आवश्कताअनुसार ८० लाखदेखि ३० करोड रुपैयाँसम्म विनियोजन गरेको हो। उपत्यकाभित्र वीर अस्पताललाई ३० करोड, त्रिवि शिक्षण अस्पताललाई १२ करोड ८० लाख, पाटन अस्पताललाई १२ करोड ८० लाख रुपैयाँ विनियोजन भएको छ।

प्रकाशित: १० जेष्ठ २०७८ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App