६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

इलाम अस्पताललाई जुट्दै स्वास्थ्य सामग्री

सदरमुकामस्थित इलाम अस्पताललाई कोरोना रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको छ। १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर रानामगरले गृह जिल्ला पुगेर सामग्री हस्तान्तरण गरेका हुन्।  

अस्पताललाई १० थान अक्सिजन सिलिन्डर, २ सय थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), १० लिटर सेनिटाइजर, १ हजार थान सर्जिकल मास्क, १० थान डेड बडी ब्याग, २० थान अक्सिजन प्रग र १० थान भेन्ट्री मास्क प्रदान गरिएको छ।

मन्त्री रानामगरले बिहीबार अस्पतालै पुगेर मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहलाई सामग्री हस्तान्तरण गरे।

यसअघि कोरोना उपचार सुरु गर्न प्रदेश सरकारले इलाम अस्पताललाई १० लाख रुपैयाँ प्रदान गरेको मन्त्री रानामगरले बताए। ‘दाताको सहयोगमा इलामका लागि १ हजार थान एन्टिजेन किट आउँदैछ,’ उनले भने, ‘त्यसमध्ये इलाम अस्पतालमा ५ सय र सदरमुकामबाहिरका स्थानीय तहमा ५ सय किट वितरण हुनेछ।’  

अस्पतालको हाई डिपेन्डेन्सी केयर युनिट (एचडियु) सेवा सुरु भएको भन्दै उनले अहिले रहेको भेन्टिलेटर सेवा सुरु गर्न धरानबाट विशेषज्ञ आउने तयारी भइरहेको बताए। ‘जनशक्ति मिलाउने अवस्था हुँदा भेन्टिलेटर थप गर्न पनि सकिन्छ,’ उनले भने, ‘तर, अहिले कोरोनाविरुद्धको खोप र अन्य सामग्री चाहिँ कम भइरहेको छ।’ संघीय सरकारबाट प्रदेशमा आएको स्वास्थ्य सामग्री इलामका लागि ल्याइएको हो।  

संघीय, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा इलाम अस्पतालको जनशक्ति, उपकरण र स्वास्थ्य सामग्रीको अभाव पूर्ति गर्दै जाने उनले जनाए। ‘महामारीका बेला गरिएका सकारात्मक कामको जस कसले लिने भन्ने कुरा अहिले गौण राखौं,’ उनले आग्रह गरे, ‘नागरिकको जीवनरक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बेला हो यो।’

जिल्लामा कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेपछि निजी र सामाजिक क्षेत्रले पनि अस्पताललाई सहयोग जुटाउन थालेका छन्। इलाम अस्पताललाई स्वास्थ्य सामग्रीमा सहयोग गर्न जिल्लाबासीले सहयोग रकम जुटाउन थालेका हुन्।  

इलाम उद्योग वाणिज्य संघ, रेडक्रसलगायत सामाजिक संघ–संस्थाको पहलमा सहयोग संकलन भइरहेको छ। अहिलेसम्म अस्पतालका लागि दाताबाट करिब ५ लाख रुपैयाँ उठिसकेको र थप सहयोगको प्रतिबद्धता पनि आएको वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालुले बताए।संघले यसअघि अस्पताललाई ५ वटा शड्ढया प्रदान गरेको छ।  

सामाजिक क्षेत्रमा क्रियाशील रतन चौधरी, निरोज खड्गीलगायतले पनि इलाम अस्पतालका लागि सहयोग संकलन गर्दैछन् । ‘विभिन्न दाताबाट सहयोग जुटिरहेको छ,’ खड्गीले भने, ‘नागरिक आफूले पनि कोभिड–१९ नियन्त्रणमा सक्दो सहयोग गर्नुपर्छ भनेर अभियान चलाइएको हो।’ स्थानीय युवक मेघनाथ ढुंगानाले विभिन्न जलविद्युत् आयोजनाबाट सहयोग जुटाएर ११ वडा अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेका छन्।

इलाम र पाँचथरका जिल्ला प्रशासन कार्यालयको समन्वयमा अपी जलविद्युत् आयोजनाबाट अस्पतालका लागि १५ अक्सिजन सिलिन्डर प्रदान गरिएको छ ।  

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा सिडिओ धु्रवबहादुर खड्काले इलाम अस्पताललाई करिब १० दिनको आवश्यकता पूरा गर्नेगरी अक्सिजन सिलिन्डर संकलन भएको बताए। ‘अहिले इलाम अस्पतालमा ९५ सिलिन्डर अक्सिजन छ,’ उनले भने, ‘जिल्लाका अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा २ देखि २० सिलिन्डरसम्म अक्सिजन भएकाले १० दिनसम्मलाई अभाव हुँदैन।’

उनले जिल्लाभरमा १ सय ६५ सिलिन्डर अक्सिजन रहेको बताए। ‘जिल्लाभर जहाँ अक्सिजन आवश्यक पर्छ, भएका ठाउँबाट त्यहाँ पुर्‍याइने छ,’ उनले भने, ‘एउटाले २ जनासम्मलाई सेवा दिन मिल्ने अक्सिजन कन्सन्ट्रेटर्स अहिले इलाम अस्पतालमा ४ थान छ, ५ थान खरिद भइ शुक्रबारसम्ममा आउँछ र ३ थान १ नम्बर प्रदेश सरकारबाट आउने भएको छ।’ खाली भएका सिलिन्डर भरेर ल्याउने ठाउँमा पनि आफूले समन्वय गरिसकेकाले इलामले अक्सिजनको ठूलो संकट खेप्नुपर्दैन भन्ने आफूलाई लागेको सिडिओ खड्काले जनाए। 

प्रकाशित: ६ जेष्ठ २०७८ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App