६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

अक्सिजन दिँदै मध्यपुरथिमी नगरपालिका : २४ घण्टामा १ लाख ९२ हजार लिटर उत्पादन

शुक्रबार राती १० बजेबाट अक्सिजन उत्पादन थालेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले शनिबार २४ जना बिरामीलाई अक्सिजन दिएको छ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको चारदोबाटोस्थित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्नै प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का बिरामीलाई अक्सिजन दिन थालेको हो।

अक्सिजन दिन थालेपछि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सन्तुष्ट देखिए।

अस्पतालमा उपचाररत संक्रमितका लागि आवश्यक अक्सिजनको बन्दोबस्त गरी अकालमा ज्यान गुमाउनबाट जोगाउने कामका लागि सुरु गरेको प्लान्टबाट अक्सिजन उत्पादन र वितरण हुन थालेपछि उनी सन्तुष्ट देखिएका हुन्।  

‘हिजो परीक्षण गर्न स्वीच दबाउँदा सफल होला कि नहोला भन्ने चिन्ता थियो, आज सफल भएको छ, हामीले अक्सिजन सप्लाई पनि गर्न थालेका छौं,’ उनले भने।

कोरोना संक्रमित बिरामीहरु बढिरहेको मध्यपुरथिमिमा नगरवासीको ज्यान जोगाउनुलाई प्राथमिकतामा राखेर सुरु गरिएको सो प्लान्टले राहत पुगेको छ। ‘यो पटकको भेरियन्ट गत वर्षको भन्दा क्रिटिकल देखिएको छ, त्यही भएर नागरिकलाई बचाउनु हामी जनप्रतिनीधिको पहिलो कर्तव्य हो, त्यही अनुसार नगरपालिकाले बजेट विनियोजन गरी अस्पतालमा अक्सिजन प्लान्ट सुरु गरेका हौं,’ उनले भने।

सो प्लान्ट प्रतिघन्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको छ। यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुने छ।  

वातावरणमा रहेको हावालाई फिल्टर गरि अक्सिजन उत्पादन गर्ने प्रविधिको सो प्लान्टका लागि करिव ६५ लाख रुपैयाँ खर्च गरेको नगरपालिकाले जनाएको छ। उत्पादित अक्सिजन अस्पतालको आइसियू, एचडियू र भेन्टिलेटरमा उपचार गरिरहेका संक्रमितलाई प्लान्टबाटै कन्ट्रोल गरि पुर्‍याउने गरी च्यानल मिलाइएको छ। ‘अक्सिजन पाएपछि संक्रमितको मनोबल पनि बढ्छ, मृत्युको जोखिम पनि घट्छ,  कम्तिमा मध्यपुर थिमीका जनताले अब अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनु पर्दैन,’ उनले भने।

अक्सिजन उत्पादनसँगै अस्पतालले दैनिक ९० सिलिण्डर अक्सिजन खपत गर्दै आएकोमा अहिले ६० सिलिण्डर मात्रै अन्यत्रबाट ल्याए पुग्ने भएको छ।

प्रकाशित: १ जेष्ठ २०७८ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App