१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालले घर फर्काउँदैन कोराेनाका बिरामी

कोरोना संक्रमितको संख्या स्थिर छैन। पश्चिम तराईमै कोरोना संक्रमित बढ्दो क्रममा छन्। उपचारको लागि अस्पताल पुग्ने कोरोना संक्रमित ग्राफ पनि दिनहुँ बढ्दो छ । तर, अस्पतालबाट उपचार नपाएर घर फर्काउने बाध्यता भेरी अस्पतालमा यतिबेला टरेको छ। 

चुस्त व्यवस्थापनको ज्वलन्त उदाहरणले कोराना महामारीमा समेत भेरीमा उपचार सम्भव भएको छ। अस्पताल परिसरमा टेन्ट गाडिएको छ। टेन्ट, भुईं र अस्पतालका ग्यालरी बिरामीले भरिएका छन्। जताततै चिकित्सकको उपस्थितिमा उपचार भइरहेको दृश्य यतिबेला भेरी अस्पतालमा देखिन्छ।

बिरामीको उपचार उच्च मनोबलका साथ खटिएका स्वास्थ्यकर्मीले गरिरहेका अस्पताल प्रशासनको दाबी छ। भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सक्रियताले डिस्चार्ज हुने बिरामी संख्या बढेको छ।  

शनिबारदेखि शुक्रबारसम्म अस्पतालमा भर्ना भएका सयजना बिरामी घटेको रेर्कडले पुष्टि गर्छ। शुक्रबार ३ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्केको कोभिड फोकल पर्सन तेज वलीले फेसबुक वालमा पोष्ट  गरेका छन्।  

कोभिड अस्पतालमा काम गर्ने ६५ जना संक्रमित स्वाथ्यकर्मी नियमित काममा फर्केपछि अस्पतालको सेवामा कायापलट भएको बिरामीको आफन्त बताउँछन्। यता, जनशक्ति र अक्सिजन अभाव नहुँदा बिरामी उपचार सम्भव भएको स्वयम् अस्पताल प्रशासनले बताइरहेको छ।

पहिलो लहरको कोरोना संक्रमणका बेला १ सय ८० शय्यामा विस्तार भएका कारण उपचार सम्भव भएको भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा दाबी गर्छन । ‘अस्पतालमा अक्सिजनको अभाव छैन’ उनी भन्छन् ‘बिरामी खचाखच भएपनि उपचार बिधि र पद्दतिबाट भइरहेको छ।’  

मेसु थापाको रेर्कडमा शनिबार ग्यालरी, वार्ड गरेर ३ सय १९ जना बिरामी एकैपटक उपचार सम्भव भएको थियो। त्यतिबेला स्वास्थ्यकर्मी (स्टाफ नर्स, प्यारामेडिक्स र चिकित्सक) समेत कोभिड संक्रमित हुँदा ३ सय  १९ जना बिरामीको उपचार एकै साथ गरेको उनले सुनाए। ‘जसरी भएपनि उपचार सम्भव छ भन्ने अस्पताल विश्वास दिलाउन सफल भइरहेको छ,’ उनले भने।  

यतिखेर संक्रमित २ सय बढी छन्। संक्रमित स्वास्थ्यकर्मी निको भएर अस्पताल फर्केकाले जनशक्तिको अभाव नभएको उनले बताए। मेसु थापा दुई पटकसम्म संक्रमित भइसकेका छन्। थापा पनि निको भएर अस्पतालको सेवामा तल्लिन मध्यका स्वाथ्यकर्मीभित्र पर्छन्।  

आवश्यकतालाई मध्यनजर गरेर प्रक्रिया पूरा नगरी अक्सिजन प्लान्ट जडान गरेको समेत उनले सुनाए। ‘नियतबस राम्रो गर्दा के फरक पर्देन जस्तो लाग्छ,’ उनी भन्छन, ‘अस्पतालको प्रमुख हैसियतले बिरामी बचाउन र सेवा दिन आँखा चिम्लेर निर्णय लिने गरेको छु।’  

पहाडी जिल्लाको समेत भेरी अस्पताल उपचार केन्द्र भएकाले पहाडी जिल्लाका बिरामी थेग्नसमेत तयार रहेको उनी बताउँछन्। ‘पहाडी जिल्लामा समेत महामारी रुप लियो भने पनि अस्पतालले उपचारको लागि तयारी गरेको छ’ उनले भने।

भेरी अस्पतालमा शय्या अभावका कारण कतिपयले भुईंमा सुतेर उपचार गराइ रहेपनि उपचारका हर सम्भव प्रयास गरिरहेको उनले बताए। उनका अनुसार लक्षण देखिएका गम्भीर प्रकृतिका बिरामीलाई समेत अस्पतालले तत्काल जाँच गर्ने प्रबन्ध मिलाएको उनले जानकारी दिए।

जिन एक्सपर्ट बिधिबाट गरिएको जाँचबाट एक घन्टाभित्रै कोभिड पुष्टि हुने भएकाले  तत्काल अस्पतालमा बिरामी भर्ना गर्ने गरिएको उनी बताउँछन्। ‘यो प्रबिधि मंहंगो त हो, तर अवस्था हेरेर एक घन्टाभित्र कोरोना पुष्टि गर्ने गरेका छौ,’ उनी भन्छन्, ‘पीसीआर रिपोर्ट कुर्न परे दुईचार दिन नै लाग्न सक्छ, रिपोर्ट कुर्दाकुर्दे ज्यान सक्छ।’  

पश्चिम नेपालको रिफरलसेन्टर भनेर चिनिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले कोभिड संक्रमित बिरामीका लागि उपचार सम्भव बनाउन एकपछि अर्को सेवा विस्तार गरेसँगै बाँके जिल्ला नै कोभिड संक्रमणको ईपिसेन्टर बने पनि भेरी अस्पताल पुग्ने बिरामी औषधि, र अक्सिजन अभावमा उपचार नपाएर घर फर्कर्ने नपर्ने वातावरण अस्पतालले सिर्जना गरेको दाबी गरे। 

प्रकाशित: ३१ वैशाख २०७८ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App