१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

अस्पतालमा अक्सिजन अभाव : चिकित्सक भन्न थाले अब भगवान भरोसा !

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले दिनानुदिन उग्ररुप लिँदै छ। महामारी तीव्र भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव पनि उत्तिकै देखिएको छ। कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरुजस्तै काठमाडौंको वीर अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको अस्पतालका कर्मचारी बताउँछन्।

वीर अस्पतालमा कार्यरत नर्स मुना पोखरेलले अक्सिजन आवश्यक भएका गम्भीर खालका बिरामी धेरै आउने गरेको बताइन् । ‘एकदमै गम्भीर अवस्थाका बिरामी आउनुहुन्छ, हामीसँग अक्सिजन एकदमै कम छ,’ उनले भनिन्, ‘अब पनि यस्तै अवस्थाका बिरामी आइरहनु भयो भने हामी उपचार गर्न सक्दैनौं।’ कोरोना भाइरसका बिरामीको चाप अत्यधिक भएका कारण अस्पतालले थेग्नै नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ। अस्पतालमा अक्सिजनको कमी त छँदै छ भएका अक्सिजन पनि बिरामीलाई चढाउँदा १,२ घन्टालाई पनि नपुग्ने उनी बताउँछिन्।

यस्तै, अक्सिजन पुगेन, सहयोग चाहियो भन्दै अन्य अस्पतालबाट पनि आफूहरुलाई फोन आउने गरेको उनले सुनाइन्। ‘अक्सिजनको चरम अभाव छ कसरी बिरामी बचाउनू,’ उनी भन्छिन्, ‘अक्सिजन छ भने सहयोग गर्नुपर्यो भन्दै ट्रमा सेन्टरबाट पनि कल आएको थियो, त्यहाँ पनि एकदमै अभाव भएर लाचार हुने अवस्था आयो कसरी बचाउने बिरामी ?’

जताततै अक्सिजनको चरम अभाव भएकाले वीर अस्पतालले पनि आउँदा दिनमा बिरामीसँग ‘कन्ट्रयाक्ट साइन(करारनामा) गराउने अवस्था आउन सक्ने नर्स मुना बताउँछिन्। ‘अक्सिजनको यस्तै अभाव भइरह्यो भने हामीले पनि बिरामीलाई भैपरि आए आफै जिम्मेवारी हुनुपर्ने भनी साइन गराउन बाध्य हुनेछौं,’ उनले भनिन्।  

वीर र ट्रमामा अक्सिजन अभाव, अस्पताल भन्छन्ः यही गतिमा संक्रमित आए भने कन्ट्रयाक्ट साइन गराउन बाध्य हुनेछौं

पछिल्ला दिनमा अस्पतालहरुमा गम्भीर र अक्सिजन नै दिनुपर्ने बिरामी धेरै आउने गरेका छन्। यस्तो अवस्थामा चिकित्सक तथा नर्सहरुले बिरामीलाई नै अक्सिजनको व्यवस्था गर्नू भन्ने समाचार पनि सञ्चारमाध्यममा आउने गरेका छन्। नर्स मुना भन्छिन्, ‘बिरामीलाई अक्सिजन लिएर आउन भन्छौं, कतिपयले ल्याउनु हुन्छ भने कतिपयलाई आफै दिन्छौं, अहिले आउने प्रायः बिरामी अक्सिजन चाहिने अवस्थाका गम्भीर बिरामी हुनुहुन्छ।’

अस्पातलामा बेड र अक्सिजनको माग गर्दै कोभिड बिरामीहरुको धेरै फोन आउने गरेको पनि उनले सुनाइन्।  

यसैगरि, राष्ट्रिय ट्रमा सेन्टरमा पनि अक्जिनको चरम अभाव भएको छ। जसले गर्दा बिरामीले अनाहकमा ज्यान गुमाउन परिरहेको छ। एक त अक्सिजनको अभाव त्यसमाथि सिलिण्डर पनि कम हुँदा यतिबेला कोरोना संक्रमितको उपचारमा कठिनाई आएको हो। यतिबेला धेरैजसो अस्पतालले रातभर अक्सिजन सिलिण्डरले धाने पनि अब गाह्रो भो भन्दै अक्सिजन सहयोगको याचना गरेका देखिन्छन्। सोही क्रममा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख सन्तोष पौडेलले पनि आफ्नो फेसबुकमार्फत् अक्सिजन सहयोगको याचना गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना बिरामीहरु अक्सिजनको सहायताले उपचाररत छन्। एम्बुलेन्समार्फत् अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मको लागि मात्र अक्सिजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ।’

उनले फेसबुमार्फतै उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई अक्सिजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन आह्वान पनि गरेका छन्।

बिरामीको सेवामा खटिने चिकित्सकहरु अहिले अक्सिजन सिलिण्डरको खोजीमा भौतारिनु परेको तीतो अनुभव सुनाउँछन्। उनी भन्छन्, ‘हामी डाक्टरहरु बिरामीको सेवामा खटिने हो तर आज हामी सिलिण्डर खोज्दै र बोक्दै बस्नु परेको छ।’

ट्रमा अस्पतालमा ३ सय ५० वटा अक्सिजन सिलिन्डर खपत हुन्छ तर एकपटकमा २० वटामात्र अक्सिजन सिलिण्डर पाउने गरेको चिकित्सक पौडेलले बताए। प्रमुख पौडेलले भने, ‘२० सिलिण्डर मात्र दिन्छन्, त्यो पनि बालाजु लिन जानु पर्छ। त्यसमाथि पनि प्रहरीले केरकार गर्ने हुँदा ज्यादै अप्ठेरो भएको छ।’  

अक्सिजनको चरम अभावका कारण ट्रमा सेन्टरले पनि हिजो साँझदेखि नयाँ बिरामी लिन छोडेको उनले बताए। ‘अक्सिजन वितरणको कोटा तोकेपछि ढोकामै छोडिदिनु पर्छ, उनले भने, ‘हामीलाई कारबाही गरे जस्तै भएको छ।’

डाक्टर सेवामा खट्ने हो हामी सिलिण्डर घिसार्दै हिँड्नु परेको छ, यस्तो पनि हुन्छ देश? भन्दै उनले सरकारलाई प्रश्न गरे। ‘हाम्रो देशमा सिस्टम नै छैन, घर घरमा अक्सिजन राख्ने अनि हामीसँग कसरी आउँछ’ भन्दै प्रमुख पौडेलले आक्रोश पोखे। अक्सिजन सिलिण्डरको व्यवस्थापनमा डाक्टर नै एक्लै खटिनु दुःखदायी अवस्था भएको पनि उनले बताए।

प्रकाशित: ३० वैशाख २०७८ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App