८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘सरकार गैरजिम्मेवार बन्दा समस्या’

फाइल तस्बिर

कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै सरकारले हात झिकिसकेपछि त्यसको दबाब चिकित्सक र अस्पतालमा परेको छ। उपचारमा आफूहरू खटिने प्रतिबद्धता जनाएका चिकित्सकहरू सरकारले नै आँट नदिएपछि थप डराएका छन्। अक्सिजन अभाव हुँदा सरकारले आवश्यक समन्वय नगरिदिएको चिकित्सकको गुनासो छ। सरकार गैरजिम्मेवार भए जनस्वास्थ्यमा ठूलै समस्या आउने चिकित्सकहरूको भनाइ छ।

‘अस्पतालहरूमा अक्सिजन अभाव भइरहेका बेला सरकार थाहा नपाएझै गरेको छ,’ करुणा हस्पिटलका मेडिकल डाइरेक्टर सौगात पौडेलले भने, ‘सरकारको साथ नभएपछि अस्पतालले मात्र अक्सिजन जोहो गर्न मुस्किल पर्छ।’ सरकारले अक्सिजनमात्रै सहज ढंगले उपलब्ध गराउन सके धेरैको ज्यान जोगाउन सकिने उनको भनाइ छ। उनका अनुसार हाल संक्रमितमध्ये २० प्रतिशतलाई अक्सिजन चाहिएको छ। यो संख्या बढ्ने संकेत देखिएको छ।

अक्सिजन खोज्दाखोज्दै भक्तपुर अस्पतालमा शुक्रबार दुई संक्रमितको ज्यान गएको थियो। त्यस्तै टेकु र बयोधा अस्पतालमा पनि अक्सिजन अभाव भएपछि बिरामीलाई अन्यन्त्रै सारिएको थियो। अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेपछि नेपाल मेडिकल एसोसिएसनले सहजताका लागि सरकारसँग अपिल गरिसकेको छ। एसोसियसनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अक्सिजन अभावमा उपचारमा समस्या हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो।

‘अस्पतालहरूमा अक्सिजन अभाव भइरहेका बेला सरकार थाहा नपाएझै गरेको छ,’ करुणा हस्पिटलका मेडिकल डाइरेक्टर सौगात पौडेलले भने, ‘सरकारको साथ नभएपछि अस्पतालले मात्र अक्सिजन जोहो गर्न मुस्किल पर्छ।’

अस्पताल र चिकित्सकहरूले अक्सिजन आपूर्तिका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने बताएका छन्। व्यापारी र डिलरलाई दिँदा अक्सिजनको झनै कालोबजारी हुनसक्ने चिकित्सकको भनाइ छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले संक्रमण नियन्त्रणबाहिर जान सक्ने देखिएकाले निकै सावधानी अपनाउन आवश्यक रहेको बताए। उनले भने, ‘अब अस्पताललाई मात्रै जिम्मा दिएर पनि हुँदैन, सरकारकै कारणले संक्रमण भयावह भएको हो, त्यसैले सरकार र आमनागरिकले साथ दिनुपर्छ, सबै मिल्ने हो भनेमात्रै संक्रमण नियन्त्रण गर्न सकिएला।’ 

उनका अनुसार सरकार गम्भीर नबन्दा संक्रमण तीव्र गतिमा फैलिएको हो। ‘सरकारले सचेतना बढाएन,’ उनले भने, ‘स्थानीय सरकारले पनि बेलैमा सोचेनन्। त्यसैले समस्या भयावह भएको छ।’ उनले भ्याक्सिन र अन्य औषधि, उपकरण ल्याउने विषयमा सरकार गैरजिम्मेवार बनेको आरोप पनि लगाए। सरकार जिम्मेवार नहुँदा सबै जिम्मेवारी चिकित्सककै काँधमा परेको उनको भनाइ छ। उनले संक्रमण कम गर्नका लागि कन्ट्याक्ट ट्रेसिङ र पिसिआर दायरा बढाउनुपर्ने बताए।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पनि कोरोना संक्रमतिले भरिभराउ छ। अस्पतालले अन्य बिरामीको उपचार हुने भवनहरूमा समेत कोरोना संक्रमितलाई राखे सेवा दिन थालेको छ। ‘माथिल्लो निकायले अस्पतालहरूलाई जिम्मेवारी मात्रै सुम्पिएको छ, सहयोग गरेको छैन,’ सो अस्पतालका एक चिकित्सकले भने, ‘स्वास्थ्य मन्त्रालयले महामारीका बेला निकै खेलाँची गरेको छ।’ ती चिकित्सकले मन्त्रालयले सामान्य समन्वय र सहयोग नगरेका कारणले कोरोना व्यवस्थापनमा थप समस्या भएको छ। सरकारको पछिल्लो काम तथ्यांक सार्वजनिक गर्नमै केन्द्रित रहेको उनले बताए। ‘चिकित्सककै बलले उपचार प्रणाली चलेको छ,’ ती चिकित्सकले भने, ‘मन्त्रालयले अहिलेसम्म महामारीमा खटिएकालाई प्रोत्साहन भत्तासमेत दिएको छैन।’

प्रकाशित: २६ वैशाख २०७८ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App