१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन अभाव : छट्पटाउँदै जान्छ ज्यान

दाङस्थित कोरोना बिशेष अस्पतालमा बुधबार राती दुईजनाको अक्सिजन अभावका कारण मृत्यु भयो । अक्सिजन दिईएका गम्भिर ति बिरामीहरुलाई निरन्तर अक्सिजन दिन अस्पतालले सकेन । कारणः अस्पतालमा अक्सिजन स्टक थिएन । एक घण्टा अक्सिजन बिहिन रहनु पर्दा उनिहरुको मृत्यु भयो । ‘एकघण्टा सम्म उहाँहरुलाई अक्सिजन दिन सकेनौँ,’ अस्पतालका ब्यवस्थापक दोर्ण ओलीले भने, ‘अक्सिजन दिन सकेको भए उहाँहरुको ज्यान जोगाउन सकिन्थ्यो ।’ ओलीका अनुसार अक्सिजन अभाव भएकै कारण यो अस्पतालमा तीनजनाले ज्यान गुमाईसके । अस्पताल भन्छ, ‘अक्सिजनको स्टक ब्यवस्थापन गर्न नसके कैयन बिरामीहरुको अवस्था यस्तै हुने खतरा उच्च छ ।’  

अक्सिजन अभावमा बिरामीहरुको अवस्था भयावह बन्दै जान थालेपछि अस्पतालले बिरामीहरुलाई अस्पतालमै थप जटिल हुने बताईसकेको छ । फलतः अस्पतालका ब्यवस्थापक भन्छन् ‘ यो अस्पतालमा बिरामीहरु भर्ना गर्नु भनेको बिरामीहरुको ज्यान थप जोखिममा पार्नु हो ।’

१ सय शैयाको यो अस्पतालमा अहिले ५७ जना बिरामी छन् । सबै बिरामीहरुलाई अक्सिजन दिनु अनिवार्य छ । दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैनन् । यो कठि परिस्थतीमा बिरामीलाई अक्सिजन दिलाउन रात बिरात अक्जिन खोजीका लागि ब्यवस्थापक ओली आँफै भौतारिन्छन् । ‘अक्सिजन अभावमा बिरामी छट्पटाउन थाले भने मैे सिडिओ सापलाई सुरुमै खवर गर्छु,’ उनले भने, ‘सिडिओ सापले जोहो गरेर रात बिरात केहि सिलिण्डर ब्यवस्थापन गरिदिनु हुन्छ, अनि एकदमै गम्भिर बिरामीहरुलाई त्यो अक्सिजन दिन्छौँ ।’  यो बेलामा गम्भिर बिरामीको ज्यान जाने उच्च खतरा बढिरहेको छ । ‘अस्पतालमा एक हजार सिलिण्डर अक्सिजन नभए बिरामीहरुलाई जतिबेलै जे पनि हुन सक्ने अवस्था भैसक्यो,’ ब्यवस्थापक ओली भन्छन्, ‘यो अवस्थामा अस्पतालले थप बिरामी भर्ना गर्नै नसक्ने अवस्था आईसकेको छ ।’

अक्सिजन अभावमा दिनहुँ बिरामीको ज्यान जोखिममा परिरहँदा पनि तीनै तहका सरकारहरु भने अनुदार देखिएका छन् । संघ, प्रदेश र स्थानीय सरकारलाई अस्पतालले अक्सिजनको ब्यवस्थापनका लागि गुहार्न थालेको महिना दिन भन्दा बढि भैसक्यो । गत चैत २८ मा सिसिएमसीको बैठकमा ओलीले अक्सिजन अभाव हुन नदिनका लागि सबै गम्भिर बन्नु पर्ने सुझाव दिएका थिए ।  

उनले स्थानीय तहहरुलाई प्रति स्थानीय तह १ सय अक्सिजन सिलिण्डर खरिद गरेर अस्पताललाई सहयोग गर्न आग्रह गरेका थिए । जिल्लाका कुल १० वटा स्थानीय तहले खरिद गरिदिएको भए अस्पतामा थप १ हजार सिलिण्डर हुन्थ्यो ।  

तर सिसिएमसीको उक्त बैठमा सहभागी स्थानीय तहहरुले आर्थिक समस्याको कारण देखाउँदै खरिद गर्न नसक्ने जवाफ दिएका थिए । ‘मैले चैतको अन्तिममै अहिलेको यो भयावह स्थिती आउन सक्ने तर्फ स्थानीय सरकारहरुलाईत सचेत गराईसकेको थिएँ, उनिहरुसंग मैले प्रति स्थानीय तह १०० अक्सिजन सिलिण्डर खरिद गर्नका लागि अनुरोध पनि गरेको थिएँ,’ ओलीले भने, ‘तर उहाँहरुले मान्नु भएन,आर्थिक अभावको कारण देखाउँदै उहाँहरुले अस्वीकार गर्नुभयो ।’  

यसैगरि प्रदेश सरकारसंग अस्पतालले दिनहुँ अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा अक्सिजनको अभाव भएकै कारण बिरामीहरुको ज्यान गएको जानकारी अस्पतालले प्रदेश सरकारलाई गराईरहेकै छ । तर प्रदेश सरकार झनै राजनीतिक दाउपेचमा रुमल्लिएको छ । ‘प्रदेश सरकारलाई त मैले दिनहुँ अक्सिजनको व्यवस्थापन र समस्याका बारेमा जानकारी गराईरहेकै छु,’ओलीले भने, ‘प्रदेश सरकार त झन अहिले कुन अवस्थामा जेलिईरहेको छ, तपाइलाई पनि थाहै छ ।’

केहि दिन अघि आएका संघीय सरकारका एक सचिवलाई पनि अस्पतालले अक्सिजनको व्यवस्थापनका सम्बन्धमा ध्यानाकर्षण गरायो । तर संघीय सरकारबाट पनि सहयोग प्राप्त भएन । अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेको अवस्थामा मात्रै अस्पतालले बिरामीहरुको सहज उपचार गर्न सक्ने ओलीको भनाई छ । 

प्रकाशित: २३ वैशाख २०७८ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App