८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अक्सिजन सिलिण्डरमा कालोबजारीः संक्रमित अक्सिजन नपाएर ज्यान गुमाउँदै

सुदूरपश्चिमका अस्पातलमा अक्सिजनको चरम अभाव भएको छ। कोराना संक्रमणका गम्भिर बिरामी अक्सिजन नपाएर छट्पटिरहेका छन्। अक्सिजन नपाएर कतिपयले जनाले ज्यान गुमाएका छन्। अक्सिजनको चरम अभाव भैरहेको कैलालीमा अक्सिजनको सिलिण्डरमा कालोबजारी भएको खुलासा भएको छ।  

कोरानाको दोस्रो लहरको नयाँ भेरियन्ट संक्रमणले अवस्था भयावह भएर कैयौँले अक्सिजन नपाएर जिवन जोगाउन धौ धौ भएको वेला अक्सिजनको कालोबजारी भएको भन्दै स्थानियले समाजिक सन्जालमार्फत आक्रोश पोख्दै कारवाहीको माग गरेका छन्।  

गत सोमवार बिहान जिल्ला प्रशासन कैलालीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको आपुर्ती सम्बन्धी सर्वपक्षिय बैठकमा अक्सिजनको कालोबजारी भैरहेको र कृत्रिम अभाव भएको भन्ने कुरा उठेको थियो। बैठकमा अनुगमन गरेर कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय गरिएको थियो। जसअनुसार प्रहरीले र बुधवार बिहान सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा वाणिज्य कार्यालय, प्रहरी सहितको अनुगमन टोलीले धनगढीस्थित ड्रग सेन्टरमा छापा मारेको थियो।  

उक्त टोलीले  त्यहाँबाट ५० वटा भरिएका सिलिण्डर र १० खाली सिलिण्डर फेला पारेको प्रहरीले बताएको छ। कैलालीका प्रहरी उपरिक्षक अनुप शमशेर जवराले एकजना संक्रमितले अक्सिजन नपाएकाले त्यहाँ लुकाएर राखेको भनेर फोन गरेपछि प्रहरी टोली अनुगमनमा पुगेकाे बताए। 

सुदूरपश्चिमका अस्पतालमा आपुर्ती गर्ने डिलर भएकाले अन्यत्र पठाउन राखेको भनेर संचालक दुष्यन्त वस्नेतले जवाफ दिएको उनले बताए। आवश्यक कागजपत्र भने उनले पेश गर्न सकेका छैनन्। अघिल्लो दिन २ सय ५० अक्सिजन सिलिण्डर खरिद गरेको बिल भेट्टिएको र ती अक्सिजन सिलिण्डर अस्पतालहरुमा पठाएको कागजपत्र नेभेटिएको वाणिज्य कार्यालयका प्रमुख कमल बहादुर पुनमगरले बताएका छन्। उनलाइ तीन दिनभित्र कागजपत्र पेश गर्न समय दिइएको छ।

सेटिङमा अनियमितता र ठगी गर्दै आएको आरोप लागेका ती व्यवसायीले कालोबजारी गर्दा पनि जोगाउने खेल हुन सक्ने भन्दै स्थानियले समाजिक सन्जालमा कडा कारवाही हुनुपर्ने माग राखेका छन्। कमिशन र सेटिङमा सुदूरपश्चिमका अस्पतालमा औषधी र उपकरणको आपुर्तीको ठेक्का वर्षौदेखि उनले लिदै आएका छन्। कमशल औषधी, कम परिमाण, बजार मुल्य भन्दा महंगोमा उपकरण उपलब्ध गराउने गरेको उनीमाथी आरोप लाग्दै आएको छ।

यसैगरि सुदूरपश्चिममा रहेको एक मात्र अक्सिजन उत्पादन गर्ने मालिका उद्योगमा पनि अनुगमन टोलीले अनुगमन गरेको छ। सेती प्रादेशिक अस्पतालमा मालिका उद्योगले आवश्यक अक्सिजन सिलिण्डर उपलब्ध गराउने भनेर सम्झौता गरेको थियो। ‘एक दिनमा १ सय ८० अक्सिजन सिलिण्डर क्षमता छ भन्दै आवश्यक परेको अक्सिजन सिलिण्डर ४ सयका दरले उपलब्ध गराउने गरि मालिका उद्योगका संचालकले सम्झौता गरेको हो’सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।हेमराज पाण्डेयले बताएका छन्। ७५ अक्सिजन सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट भएको अस्पतालमा पहिले अक्सिजनको माग कम थियो।

पहिले उद्योगले भनेजति नियमित पठाउने गरेको उनले बताए। कोरोना संक्रमणको दोश्रो लहर फैलिएपछि वैशाख महिनामा दिनको १ सय अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने भनेकोमा अहिले फाटफुट मात्र उपलब्ध गराइरहेको उनको भनाई छ। ‘१ सय सिलिण्डर अक्सिजन उपलब्ध गराउन सक्छु भन्यो, त्यसको केहि दिन उपलब्ध गराएर पछि वाट घटाउदै लगेर ६० हुदै ४० हुदै अहिले कुनैवेला ६,७, अक्सिजन सिलिण्डर कुनै वेला ५,७ गरेर किस्तामा अलिअलि उपलब्ध गराईरहेको छ’उनले भने। मालिका उद्योगमा करिव ९ सय बढी खाली सिलिण्डर छन्।

भरिएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन नसकेमा ती मध्य खाली सिलिण्डर उपलब्ध गराएमा पनि नेपालगंज कतैतिर वाट भरेर ल्याउन सकिने उनी बताउछन्। ‘अक्सिजनको समस्याको यो कुरा मैले प्रदेशका मन्त्री, प्रजिअ, मेयर,  संघिय सरकार मन्त्री,उपप्रधानमन्त्री सवैलाई भनिसकेको छुँ ’उनले भने,‘तर अहिले सम्म समाधान हुन नसक्दा अक्सिजन नपाएर छट्पटिरहेका संक्रमितलाई बचाउन हम्मे हम्मे परेको छ।’ कोरानाको संक्रमणले गम्भिर प्रकृतिका संक्रमितलाई ओभर फ्लोमा अक्सिजन चाहिने भएकाले अहिले एक जनालाई ३,४ घण्टामै एक अक्सिजन सिलिण्डर सिद्धिने गरेको उनी बताउछन्।  

मालिका उद्योगले अस्पताल सँग प्रति अक्सिजन सिलिण्डर ४ सयका दरले उपलब्ध गराउने भनेर सम्झौता गरेको उनले बताए। सेती अस्पताललाई ४ सय प्रति सिलिण्डर अक्सिजन उपलब्ध गराउने सम्झौता गरेको उद्योगले निजी अस्पताल, व्यक्ती तथा अन्यलाई भने महंगोमा बिक्री गर्ने गरेको बुझिएको छ । ‘मैले एक सिलिण्डर एक हजार रुपैयामा किनेको हुँ’निजी अस्पतालमा उपचार गराईरहेका संक्रमितका एक आफन्तले भने।  नियमित संचालन भएकाले अक्सिजन प्लान्टले पहिले भन्दा कम उत्पादन गर्ने गरेको उद्योग संचालकले जवाफ दिएको प्रहरीले बताएको छ। अहिले ६०, ७० सिलिण्डर मात्र उत्पादन भएको बताएको र कति उत्पादन हुन्छ भन्ने कुरा बुझ्ने काम भैरहेको कैलालीका प्रहरी उपरिक्षक जवराले बताए।

उद्योगमा अनुगमन गरेको टोलीले सबै खाली सिलिण्डर फेला पार्न सकेको छैन। उद्योगमा कति सिलिण्डर अक्सिजन उत्पादन हुन्छ रु अक्सिजन सिलिण्डर कहाँ कहाँ जान्छ भनेर बुझ्न २४ घण्टा प्रहरीलाई त्यहाँ खटाइएको छ। ‘ मालिका उद्योगमै २४ घण्टा प्रहरी खटाइएको छ’कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने,‘अस्पतालको सिफारिस बिना व्यक्तिलाई अक्सिजन सिलिण्डर नदिन, कोभिड बेड संख्याको प्राथमिकताका आधारमा अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन उद्योग संचालकलाई भनेका छौं।’ अनुगमन गरेर कालोबजारी नियन्त्रण गर्ने र दोषीलाई कारबाही गरिने उनले बताए। अक्सिजन उत्पादनको क्षमताका बारेमा बुझ्नका लागी मालिका उद्योगका संचालक सँग सम्पर्क हुन सकेन्।

खाली सिलिण्डर पनि छैनन्

नेपाल उद्योग वाणिज्य सँघ कैलालीका उपाध्यक्ष पुष्कर ओझा भएजतिका सवै खाली सिलिण्डर नै बजारमा नभेट्टिरहेको बताउछन्। खाली सिलिण्डर भएमा पोखरा, चितवन, बिरगंजवाट अक्सिजन ल्याउन सकिने उनको भनाई छ।‘ पहिले भएका जति संख्यामा बजारमा खाली सिलिण्डर भेट्टिएका छैनन्।  

मार्केटमा खाली सिलिण्डरको नै अभाव भएकाले कालोबजारीको आशंका देखिएको छ’ उनले भने,‘घर घरमा राखिएको र खुला सिमानाका कारण भारततिर समेत अक्सिजन सिलिण्डर गएको हुनसक्छ’ सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएर संक्रमित ज्यान गुमाईरहेका छन्। ‘

खाली सिलिण्डर मात्र भएमा अक्सिजन जति पनि उपलब्ध गराउँछाैँ भनेर पोखरा,चितवन र विरगन्जका उद्योगहरुले भनिरहेका छन् ’उनी भन्छन,‘ पहिलेकै १ हजार भन्दा बढी खाली सिलिण्डर हुनुपर्ने हो, तर त्यो नहुदाँ अक्सिजनको अभाव पुर्ती गर्न कठिनाई भएको छ।’ अक्सिजन नपाएर ज्यान गैरहेको संकटका वेला अक्सिजन सिलिण्डरको कालोबजारी गर्नु महाअपराध भएको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउछन्। ‘छानबिन गरेर कालोबजारी गर्नेलाई कडा कारबाही हुनुपर्ने उनकाे भनाइ छ। 

प्रकाशित: २३ वैशाख २०७८ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App