७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडी सेवा बन्द गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

सबै चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाको उपचारमा खटिनुपर्ने भयो,’ डा. शाहले भने, ‘अहिले आकस्मिकबाहेकका सेवा वन्द छन्। ओपिडीमा रहेको जनशक्ति कोरोनाको उपचारका लागि खटिएको छ।’ कोरोना भाइरसको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण बिरामी तथा समुदायको सुरक्षाका लागि ओपिडी सेवा बन्द गरिएको हो। इमरजेन्सी बिरामीका लागि प्रतिष्ठानले हटलाइन सेवाको व्यवस्था गरेको छ।

जुनसुकै रोगका बिरामीले १६६०८७५२५५५ नम्बरको हटलाइन सेवा प्रयोग गरेर उपचार विधिबारे जानकारी लिन सक्ने प्रतिष्ठानले जनाएको छ। साधारण समस्या भएका बिरामीले टेलिफोनमार्फत चिकित्सकबाट परामर्श सेवा लिन सक्नेछन्,’ डा. शाहले भने, ‘प्रतिष्ठानमा विशेषज्ञ डा. पुजन रोकाया हाडजोर्नी, डा.सूर्यमान लिम्बु सर्जरी, डा. राजेन्द्रमणि गिरी मेडिसिन, प्रा.डा. सुनिल बुढाथोकी बालरोग, डाक्टर राजीव शाह स्त्री तथा प्रसूति रोग विशेषज्ञले फोनबाट बिरामीलाई परामर्श दिनेछन्। ’

कोरोना संक्रमण बढेपछि जनशक्ति खटनपटन व्यापक गरिएको छ। प्रतिष्ठानले २४सै घण्टा ५ जना डाक्टर राखेर इमरजन्सी र कोरोनाको उपचार गरिरहेको प्रतिष्ठानले जनाएको छ। कर्णाली प्रतिष्ठानका ६ जना चिकित्सकको टोली नेपालगन्जको भेरी अस्पतालमा पठाएको छ। कोरोना संक्रमणको उपचारमा खटिरहेका कर्णाली प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट बिरामी आउन थालेका छन्। सुर्खेतबाट आएका मध्यम स्वास्थ्य समस्या भएका बेड र अक्सिजन आवश्यक बिरामीको समेत उपचार भइरहेको छ। प्रतिष्ठानले एकजना बिरामी सिकिस्त भएको जनाएको छ। यसैगरी कोरोना पोजेटिभको संख्या ४८ पुगेको छ। प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पलसहित अन्य जुम्लाका गरी ४८ जना संक्रमित भएका छन्।

प्रकाशित: २२ वैशाख २०७८ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App