८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पुष्टि हुन नसकेका सन्देश

यसपटक युवा अधिक संक्रमित छन्?

भारतमा हाल देखिएको महामारीका विषयमा केही कुरा प्रस्ट छन् तर कतिपय विषयमा गलत तथ्य तथा समाचार पनि उत्तिकै प्रचारित छन्। कहिलेकाही यस्ता समाचारलाई सत्य मानिएको छ। सिएनएनले यही भ्रमको चिरफार गरेको छ।  

के यसपटक युवा अधिक संक्रमित छन् ?

यसपटकको लहरमा युवा अत्यधिक संक्रमित भएको समाचार आइरहेको छ। भारतका चिकित्सकले युवामा अत्यधिक संक्रमण देखिएको बताउँदै आएका छन्। भारत सरकारले पनि यस्तै सन्देश प्रवाह गरेको छ। अप्रिल १५ मा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक भिडियोमार्फत युवालाई विशेष रूपमा सतर्क हुन आह्वान गरे। यही पृष्ठभूमिमा दोस्रो लहरले युवालाई अत्यधिक प्रभाव पारेको आम विश्वास भारतमा छ।

तथ्यको परीक्षणले के देखाउँछ भने यस्तो सन्देश पूर्ण सत्य छैन। पहिलो लहरमा ३१ प्रतिशत बिरामी ३० वर्षमुनिका रहेको भारतको कोभिड कार्यदलका अध्यक्ष भिके पाउलले अप्रिल १९ मा बताएका थिए। दोस्रो लहरमा यो प्रतिशत ३२ मात्रै पुगेको छ। पहिलो लहरमा २१ प्रतिशत बिरामी ३० देखि ४५ वर्षबीचका थिए। दोस्रो लहरमा पनि यो अनुपातमा परिवर्तन नभएको सरकारी तथ्यांकले देखाउँछ। यसैगरी गत वर्ष भएका कुल मृत्युमध्ये २० प्रतिशत ५० वर्ष तथा त्यसभन्दा मुनिका थिए भने यसपटक यो १९ प्रतिशत छ। ‘युवामा कोभिडको अत्यधिक जोखिम रहेको देखिँदैन। उमेरगत हिसाबले पनि संक्रमितको संख्यामा फरक अवस्था देखिएको छैन,’ कोभिड कार्यदलका अध्यक्ष पाउल भन्छन्।

नयाँदिल्लीस्थित मधुकर रेन्वो चिल्ड्रेन अस्पतालका वरिष्ठ चिकित्सक डा. चन्द्रशेखर सिंह पहिलो लहरको तुलनामा अधिक बालबालिका संक्रमित भएको देखिएको बताउँछन्। ‘तर यसपटक संक्रमितको संख्या नै धेरै भएकाले बिरामी बालबालिकाको संख्या धेरै देखिएको हुनसक्छ’, उनी तर्क गर्छन्। उनी बालबालिकामा कोरोना पोजेटिभ देखिए पनि अभिभावक आत्तिन नहुने बताउँछन। ‘जबसम्म बच्चा अत्यधिक तौलका र अन्य रोगले ग्रसित हँुदैनन्, त्यति बेलासम्म उनीहरूलाई अक्सिजन थेरापी र अस्पताल भर्ना गर्ने आवश्यकता रहँदैन,’ उनी भन्छन्।

यो विषयसँग जोडिएको अर्काे जनसांख्यिक पृष्ठभूमि पनि छ। अन्य देशको तुलनामा भारतमा युवाको जनसंख्या अधिक छ। भारतको मध्यम आयु (मेडियन एज) २८ हो, जब कि यो बेलायतमा ४० र अमेरिकामा ३८ छ। अन्य देशको अनुभव हेर्दा पनि के देखिन्छ भने युवा बढी चलायमान हुन्छन् र उनीहरूले संक्रमण विस्तार गर्ने सम्भावना बढी हुन्छ। भारतमा हाल देखिएका भाइरस भेरियन्ट अन्यभन्दा बढी संक्रामक छन् र एकबाट अर्काेमा छिटो सर्न सक्छन्। दिल्ली र उत्तरी भारतमा कोरोना भाइरसको युके भेरियन्ट हाबी छ।  

के पूरा डोज खोप लगाएका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ?

विश्वको कुनै पनि खोपले हरेक व्यक्तिलाई हुने संक्रमण रोक्न सक्दैन। तर भारतका स्थानीय सञ्चारमाध्यमले पूर्ण रूपमा खोपको मात्रा लगाएका चिकित्सक पनि संक्रमित भएको समाचार सार्वजनिक गरेका छन्। तर तथ्यगत परीक्षणले यो कुरालाई प्रमाणि गर्दैन। भारतमा हालसम्म १७ लाख मानिसले खोपका दुवै डोज लगाएका छन्। भारतको सरकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) का अनुसार कोभ्याक्सिन खोपका दुवै मात्रा लगाएका ६९५ मा मात्र संक्रमण देखिएकोछ। यो खोपको पूर्ण मात्रा लगाएकाको शून्य दशमलव शून्य चार प्रतिशत मात्र हो।  

यसैगरी अस्ट्राजेनेकाको दुवै मात्रा खोप लगाए १५ लाखमध्ये ५ हजार १४ जनामा भाइरसको पुनः संक्रमण देखिएको छ। यो खोपको दुवै मात्रा लगाएकाको शून्य दशमलव शून्य तीन प्रतिशत हो। शनिबारसम्म भारतले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र जोखिममा रहेका समूहलाई खोप उपलब्ध गराएको छ। ‘खोपका दुवै मात्रा लगाएकामध्ये पुनः कोरोना पोजेटिभ देखिनेमा अधिकांश अग्रपंक्तिमा खटेर काम गर्ने कामदार र स्वास्थ्यकर्मी छन। सबैभन्दा पहिला खोप पाउनेमा रहेको यो समूह कार्यस्थलमा हुने संक्रमणको हिसाबले पनि अगाडि आउँछ,’ आइसिएमका कार्यकारी निर्देशक डा. बलराम भार्गवले हालै संचारमाध्यमलाई भनेका थिए।

के नयाँ भेरियन्ट दोस्रो लहरका लागि जिम्मेवार हो ?

गत मार्च २४ मा भारतको स्वास्थ्य मन्त्रालयले पहिलोपटक नयाँ भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट भारतमा देखिएको तथ्य सार्वजनिक गरेको थियो। बी.१.६१७ नाम गरेको उक्त भेरियन्टले महामारी तीव्र रूपमा फैलाएको आशंका गरियो। यो भेरियन्टले खोपलाई समेत छक्याउन सक्ने चिन्ता थपियो। तर तथ्यगत परीक्षणले यो भेरियन्टले महामारी तीव्र बनाएको भन्ने यथेष्ट प्रमाण छैनन् र वैज्ञानिकहरूले यो विषयमा थप अध्ययन गरिरहेका छन्। भाइरसको आनुवंशिक अध्ययनले मात्र यो कुरालाई प्रस्ट्याउन सक्छ। विज्ञका अनुसार कुल कोभिड संक्रमित जनसंख्याको कम्तीमा ५ देखि १० प्रतिशत नमुनाको अध्ययनले कुन भाइरस जिम्मेवार छ भन्ने प्रस्ट्याउन सक्छ। हालसम्म भारतमा १ प्रतिशत भाइरस नमुनाको आनुवंशिक अध्ययन भएको अमेरिकास्थित ब्राउन युनिभर्सिटीका डिन डा. आशिष झा बताउँछन्।

भारतका केही विज्ञ भेरियन्टको संख्यामा भएको वृद्धि र कोरोना संक्रमितको संख्या बढ्नुमा प्रत्यक्ष सम्बन्ध रहेको तर्क गर्छन्। तर सुरुमा बेलायतमा देखिएको युके भेरियन्टसहित भाइरसका अन्य भेरियन्ट पनि भारतमा सक्रिय छन्।  भाइरसको स्पाइक प्रोटिनमा दुईवटा उत्परिवर्तन (म्युटेसन) भएमा डबल म्युटेन्ट भनेर परिभाषित गरिएको छ। यसमध्ये एल ४५२ आर नाम गरेको म्युटेसन अन्य भेरियन्टमा पनि देखिएको छ जसले मानिसको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ। यसैगरी अर्काे ई४८४ क्वी नाम गरेको म्युटेसन दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रजातिसँग मिल्ने देखिएको छ। तर यही म्युटेसन देखिएकै कारण संक्रामकता र संकट बढेको मान्न सकिन्न। यसका लागि यथेष्ट प्रमाण संकलन भएका छैनन्।  

के परम्परागत उपचारले संक्रमण रोक्न सक्छ ?

कोरोना महामारी सुरु भएयता विभिन्न उपचार विधि भारतमा सार्वजनिक भए। यस्ता विधिको कतिपय सरकारी अधिकारी र सेलिब्रिटीले समेत पैरवी गरे। तर यस्ता विधिको प्रभावकारिता पुष्टि गर्न थोरै मात्र प्रमाण अघि सारिएका थिए। गत वर्षको मार्चमा एक हिन्दु समूहले दिल्लीमा गाईको गहुँत सेवन गर्ने पार्टीको आयोजना ग¥यो। यो पार्टीमा २०० जना सहभागी थिए। सोही महिना भारतीय जनता पार्टीसँग आबद्ध असमका एक नेताले स्टेट एसेम्ब्लीको बैठकमा गाईको गहुँत र गोबरले कोरोना भाइरसको उपचार गर्न सकिने बताएका थिए। यसैगरी फेब्रुअरीमा एकजना प्रभावशाली योग गुरुले जडिबुटीले कोभिडको उपचार हुनसक्ने र यसलाई विश्व स्वास्थ्य संगठनले समेत प्रमाणित गरेको दाबी गरे। केही दिनअघि भारतीय जनता पार्टीका राष्ट्रिय महासचिवले मेंलोरका प्रहरी अधिकारीले पानीको बाफ लिएको तस्बिर ट्विट गरेका थिए। त्यसरी पानीको बाफ लिँदा रोगको उपचारमा सहयोगी भएको एक प्रहरी अधिकारीले सिएनएनलाई बताएका थिए।  

तर तथ्यगत परीक्षणले यस्ता स्थानीय उपचार विधि उपयोगी हुनेमा थोरैमात्र प्रमाण दिन्छन। यसैगरी औषधि व्यवस्थापन गर्ने निकायले यस्ता विधिलाई स्वीकृति दिएका छैनन। भारतीय योग गुरुको जडिबुटीले भाइरसको उपचार भएको दाबीलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनले यो विषयमा कुनै समीक्षा नभएको र यसको प्रभावकारिता प्रमाणीकरण नभएको भनेर ट्विट गरेको थियो। संगठनले यसअघि भनेको थियो, ‘कोभिड–१९ को खास उपचार छैन। पानीको बाफले सहयोग गर्छ भन्नेमा पनि यथेष्ट प्रमाण छैनन्। यसैगरी उपयुक्त हिसाबले बाफ नलिँदा यसले नोक्सान पुर्‍याउन सक्छ।’

संगठनले गत वर्ष वक्तव्य नै प्रकाशित गरेर यस्ता खाले उपचारका बारेमा सामाजिक सञ्जालमा धेरै प्रचार भएको र यसमा सावधान हुन अनुरोध गरेको थियो। यथेष्ट परीक्षण र अध्ययन नभएका उपचारले मानिसमा गलत हिसाबले आफू सुरक्षित छु भन्ने भावना सिर्जना हुने पनि संगठनले बताएको थियो। भारतको इन्डियन मेडिकल एसोसिएसनले समेत उच्च व्यक्तित्वले यसप्रकारको उपचार पद्धतिको समर्थन गर्न‘ अनैतिक विषय रहेको र यसले खोपको आवश्यकतालाई समेत प्रभाव पार्ने बताएको छ।  

के खोपको यथेष्ट पहुँचले महामारी रोक्न सक्थ्यो ?

भारतको खोप अभियान अत्यन्त ढिलो गतिमा सञ्चालन भएको र केही राज्यमा आवश्यक डोज आपूर्ति नभएको आरोप लागेको छ। हालसम्म भारतको कुल १ अर्ब ३० करोड जनसंख्यामध्ये २ प्रतिशतले मात्र पूर्ण रूपमा खोप लगाएका छन्। अमेरिकामा यो प्रतिशत ३० छ। यसैले खोपको सुस्त अभियानले दोस्रो महामारी बढाउन योगदान गरेको आरोप छ।  

तथ्यगत परीक्षणबाट खोपले केही हिसाबले सुरक्षा दिने पाइएको छ। खोप नलगाइएको भए भारतमा संक्रमण झन बढेकाे हुन सक्ने साउथ एम्पटन विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता माइकल हेड भन्छन्। ‘अन्य देशले झैं भारतले पनि सबैभन्दा पहिले अत्यधिक जोखिममा रहेकालाई खोप लगाएको थियो। तर रोगको प्रसारको हिसाबले धेरै भूमिका खेल्ने युवा वर्गलाई खोपको पहिलो प्राथमिकतामा राखिएन’, हेड भन्छन्।  

‘कम्तीमा जनसंख्याको ५० देखि ६० प्रतिशतलाई खोप लगाएपछि मात्र महामारी नियन्त्रण प्रभावकारी हुन सक्छ,’ उनी थप्छन्, ‘रोगको हिसाबले जोखिममा नभए पनि युवाले रोगको प्रसारमा झन् बढी योगदान पुर्‍याउने पक्षलाई यथोचित ध्यान दिइएको देखिएन।’ विश्वका अन्य देशमा भएका अध्ययनले पनि युवाले सबैभन्दा बढी रोगको प्रसार गर्ने देखिएको छ। ‘खोप अभियानमा सबै जनसंख्यालाई समान व्यवहार गरिएको भए खोपको प्रभावकारिता बढी हुन्थ्यो,’ हेड भन्छन्।  

के शवदाह गर्दा निस्कने धुवाँले प्रदूषण बढाउँछ ?

नयाँ दिल्लीमा एकै दिन ६ सयभन्दा बढी शवको दहन हुने गरेको छ। यसबाट निस्कने धुवाँले प्रदूषण बढेको कतिपयको तर्क छ। तथ्यगत परीक्षणले वायु प्रदूषणमा यसको केही योगदान हुन सक्ने देखाएका छन्। यसअघि गरिएका अध्ययनले शवदहनमा प्रयोग हुने दाउरा बाल्दा कार्बन मोनोअक्सायड र अन्य प्रदूषक ग्यास निस्कने देखाएका छन्। तर शवदाह गर्दा निस्कने धुवाँले प्रदूषणको मात्रामा त्यति धेरै प्रभाव नपार्ने नयाँदिल्लीका वातावरणकर्मी विमलेन्दुले बताए। त्यसो त वायु प्रदूषण भारतका लागि सदावहार समस्या हो र प्रदूषणले महामारीलाई समेत सहयोग पुर्‍याएको कतिपय अध्ययनले देखाएका छन्। हार्वर्ड विश्वविद्यालयले गरेको एक अध्ययनले अत्यधिक प्रदूषणले कोभिड–१९ को मृत्युलाई बढाएको देखाएको छ। (सिएनएन)

प्रकाशित: २२ वैशाख २०७८ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App