१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

इनरुवामा २० बेडको कोभिड अस्पताल सञ्चालनको तयारी

फाइल तस्बिर

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएकालाई सुनसरीकाे सदरमुकाम इनरुवामा २० बेडको अस्पताल सञ्चालनको तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रुपमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन तयारी गरेको हो । इनरुवा अस्पतालको इमरजेन्सी कक्षलाई कोभिड अस्पतालका रुपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । इनरुवामा कोभिड अस्पताल सञ्चालनमा आउँदा जिल्लाको दक्षिणवर्ती क्षेत्रका कोरोना संक्रमितलाईं राहत हुनेछ ।  

इनरुवा अस्पतालमा आवश्यक उपकरण र स्रोत साधन जुटाएर तीन दिनभित्र कोभिड अस्पताल सञ्चालनमा ल्याउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए । कोभिड अस्पताल सुविधा सम्पन्न हुनेछ ।  

कोरोना संक्रमितका लागि सुनसरीमा यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेडको कोरोना अस्पताल थियो । तर, यहाँ प्रदेश नं. १ र २ का बिरामी ल्याउने भएकाले गर्दा सुनसरीका अधिकतर बिरामी विराटनगरका निजी अस्पताल लानुपर्ने अवस्था छ ।  

बिरामी बढीरहँदा सुनसरीका प्रत्येक नगर अस्पतालमा ५० प्रतिशत बेड छुट्याएर काम तत्काल थाल्न जिल्ला स्वास्थ्य कार्यालयले सर्कुलर गरेपनि अहिलेसम्म अन्यत्र कुनै काम भएको छैन । पहिलो चरणको कोरोना हुँदा स्थानीय तहले तयार गरेका आइसोलेसन र क्वारेन्टाइन अलपत्र भएकाले गर्दा तत्काल व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले सुकर्लर गरिसकेको छ।  

भारतमा जति बढी मात्रामा संक्रमितको संख्या बढ्छन्, नेपालमा उत्तिकै मात्रामा बढीरहेका छन् । अझ खुल्ला सीमानाका कारण सुनसरीका नाका भएर भारतबाट नेपाल आउनेको संख्या त झन बढ्दो छ । जसले गर्दा कोरोना संक्रमित पनि बढी हुने निश्चित छ । कोरोनाको दोस्रो कहर सुरु भएसँगै खोप लगाएकामध्ये ७० प्रतिशतलाई प्रोटेक्सन गर्ने विश्वास छ। तर, सुनसरीमा भने न्यूनले मात्र खोप लगाएका त्यसमा पनि बालबालिका त झनै कम भएको जानकारी दिइयो । जिल्ला स्वास्थ्य कार्याललयको रेकर्ड अनुसार ५१ हजार २६८ जनाले मात्र खोप लगाएको स्वास्थ्यकर्मी दिक्षा श्रेष्ठले बताइन् । सुनसरी कोरोनामा संवेदनशील जिल्ला मानिन्छ ।

कोरोना संक्रमित बिरामीका लागि सुनसरीको वीपीबाहेक मोरङमा कोभिड अस्पताल रहेको छ भने कोशी अञ्चल अस्पताल छ । यस्तै, निजीमा नोवेल, विराट नसिंह होम र न्यूरो हस्पिटल छ । झापामा बिएन्सी र मेची अस्पताल रहेको छ। यी अस्पतालमा पनि सबैै बिरामीलाईं सहज ढंगले उपचार गर्न सक्ने अवस्था छैन ।

प्रकाशित: २० वैशाख २०७८ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App