१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बढ्दो संक्रमण, अत्यास लाग्दो तयारी

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीमा एउटै परिवारका १६ जना सदस्यमध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी संक्रमितका सम्पर्क व्यक्तिहरू दुई हजारभन्दा बढी देखिएका छन्। जसले स्वास्थ्यकर्मीलाई समेत अत्याएको छ। गत चैत २८ गते यहाँका ६० वर्षीय एक पुरुष भारतबाट घर फर्केका थिए। वैशाख दोस्रो हप्ता उनको छोराको विवाह तय भएको थियो।  

उनको वैशाख २ गतेदेखि नै स्वास्थ्यमा सामान्य समास्या देखियो। वैशाख ४ गते उनी स्वास्थ्य परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुगे। उनको पिसिआर परिक्षण गर्दा कोरोना पोेजेटिभ पुष्टि भयो। नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोज विरेन्द्र प्रसाद साहका अनुसार त्यसपछि उनको परिवारलाई आइसोलेट गरेर राखियो। नजीकका सम्पर्क व्यक्ति मध्ये १५ जना सदस्यको स्वाब परिक्षण गराउँदा ११ जनाको कोरोना पुष्टि भएको थियो। अहिले उनको परिवारका सदस्य विवाहका लागि सिन्धुलीबाट आएका पाहुना सबैलाई होम क्वारेन्टिनमा राखिएको छ। मंगलबारसम्म यस प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय १७ पुगेको छ। जसमध्ये १ हजार ३ सय ७१ जना होम आइसोलेसनमा र ४६ जना अस्पतालमा भर्ना रहेको प्रदेश स्वास्थ्य निर्देशनालायले जनाएको छ।  

उपचारको अवस्था

कोरोना संक्रमण तीव्र हुँदा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले २५ शय्या एचडीयु (हाइडिपेन्डेसी) युनिट तयार पारेको छ। अस्पतालका डा. रन्जितकुमार झाका अनुसार संक्रमण पुष्टि भएका गम्भीर बिरामीका लागि विशेष उपचारका लागि युनिट तयार गरिएको हो। तीमध्ये ७ शय्या आइसीयु र ४ शय्यामा एनआइसीयु सञ्चालन गर्ने तयारी रहेको डा. झाले जानकारी दिए। अहिले आईसियू र एनआईसियूमा कोरोनाका बिरामीको मात्र उपचार गरिनेछ। यस्तै ४ वटा भेन्टिलेटरको पनि व्यवस्था गरिएको उनले बताए। संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन पनि थालिएको छ। डा. झाका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा अहिले ९० सिलिन्डर अक्सिजन मौज्दात छ।  

अस्पतालमा अहिले जनशक्तिको समस्या रहेको बताए। तत्काल ५ जना मेडिकल अफिसर, १० जना नर्सिङ स्टाफ तथा ल्याबमा ६ जना प्राविधिक आवश्यक रहेको उनको भनाइ छ। जनशक्ति अभावबारे संघ र प्रदेश सरकारलाई लिखित रूपमा जानकारी गराइएको उनले बताए। जिल्ला अस्पताल सिरहाले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको छ। अक्सिजन उत्पादन गर्ने यो अस्पताल प्रदेश २ को पहिलो बनेको छ। मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले पाइपलाइन मार्फत आवश्यक अक्सिजन सबै विभागमा आपुर्ति गरिरहेको बताए। यस प्लान्टले अधिकतम प्रतिदिन ६० हजार लिटर अक्सिजन उत्पादन गर्न सक्छ। यस्तो अवस्थामा पनि प्रदेश २ को सामाजिक विकास मन्त्रालय सचिव विहीन छ। सामाजिक विकास मन्त्री नवलकिशोर साहकाअनुसार मन्त्रालयको नेतृत्व गर्ने सचिव वैशाख महिनाभर नआउने भन्ने जानकारी पाएको बताए।

फितलो तयारी

प्रदेश २ का ८ जिल्लामध्ये सिराहामा मात्र अक्सिजन प्लान्ट सञ्चालनमा छ। बाँकी जिल्लामा अक्सिजन प्लान्ट छैन। यस प्रदेशमा कुल ४५ वटा भेन्टिलेटर छन्। वीरगञ्जमा १० वटा, राजविराजमा ४ वटा, जनकपुरमा ७ वटा, बाराको कलैयामा २ वटा, रौतहटको गौरमा ४ वटा, महोत्तरीको जलेश्वरमा ५ वटा, जिल्ला अस्पताल सिरहामा २ वटा, लहान अस्पतालमा १ वटा र वीरगञ्जको नेसनल मेडिकल कलेजमा १० वटा भेन्टिलेटर छन्। यस प्रदेशमा कुल ६९ वटा आईसियू बेड छन्। वीरगञ्जमा १५ वटा, जनकपुरमा १० वटा, गौरमा १० वटा, जलेश्वरमा ५ वटा, सिरहामा ५ वटा र नेसनल मेडिकल कलेज वीरगञ्जमा २६ वटा गरेर कुल ६९ वटा आईसियू शय्या रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अक्सिजन प्वाइन्ट जडान गरिएको हाई डिपेन्डेन्सी युनिट (एचडीयु) अन्तर्गत १ सय ८१ शय्या रहेका उनले बताए। वीरगञ्जमा २५ वटा, राजविराजमा २५ वटा, जनकपुरमा २५ वटा, कलैयामा १५ वटा, गौरमा १५ वटा, मलंगवामा १५ वटा, जलेश्वरमा १५ वटा, सिरहामा १५ वटा र नेसनल मेडिकल कलेज वीरगञ्जमा ३१ वटा गरेर कुल १८१ वटा शय्या छन्।

चोरबाटो चुनौती

प्रदेश २ को ८ वटै जिल्लाको सीमा भारतसँग जोडिएको छ। ४ सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा १ सय ९ वटा नाका छन्। जसमध्ये ३९ वटा नाकामा सुरक्षा पोष्ट छ। सुरक्षाकर्मीको उपस्थिति नभएका नाकाहरू पारिबाट (परदेश) घर फर्किनेहरूले ‘चोरबाटो’ को रूपमा प्रयोग गरिरहेका छन्।

चोरबाटो यहाँका स्थानीयवासीमा मात्र नभई सरकारको पनि टाउँको दुखाई बनेको छ। मुख्यमन्त्री लालबाबु राउतले सीमाबाट लुकिछिपी हुने प्रवेश कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिरहेको बताए। उनी भन्छन्, ‘खुला सिमानाका कारण हुने आउजाउले जोखिम बढाउँदै छ। हामी सीमा सिल गर्न संघीय सरकारलाई गुहारेका छौं,’ उनले भने। सीमाबाट हुने प्रवेश पूर्ण रूपमा नरोकिँदा जोखिम उस्तै रहेको छ। प्रदेश २ मा भेटिएका संक्रमितहरूमध्ये अधिकांशको यात्रा विवरण भारत रहेको छ।  

प्रदेश सरकारले सीमा नाका पूर्ण रूपमा सिल गर्न संघीय सरकारलाई अनुरोध गरेको छ। जबसम्म सीमामा आवतजावत पूर्ण रूपमा बन्द हुँदैन त्यसबेलासम्म जोखिम कम नहुने विज्ञहरूको भनाइ छ। भारतसँग सीमा जोडिएको प्रदेश हो। यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा जाने गर्छन्। भारतमा संक्रमण फैलिएपछि उनीहरू घर फर्किरहेका छन्। उनीहरूको व्यवस्थापन ठूलो चुनौती हो। संक्रमित सहरबाट जोखिमपूर्ण यात्रा गरेर फर्किरहेकाहरू अधिकांशमा कोरोना संक्रमण पुष्टि हुनु थप चुनौतीपूर्ण हो। यस प्रदेशमा भारतबाट संक्रमण बोकेर फर्किनेको व्यवस्थापन प्रमुख चुनौती रहेको छ।

प्रकाशित: १६ वैशाख २०७८ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App