२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीः पिपिई र मास्कसँगै अक्सिजन पर्याप्त छैन

कोभिडको दोस्रो लहर बिस्तारै बढ्दै गएको छ । पोखरा पनि दोस्रो लहरको चपेटामा पर्ने खतरालाई न्यूनिकरण गर्न स्वास्थ्यसँग सरोकार राख्ने निकायले पिपिई, मास्क र अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या हुने जिकिर गरेका छन्।  

‘हामीसँग थोरै संख्यामा पिपिई र मास्क छ। विरामी थपिँदै गए उपचारमा समस्या हुन्छ। तत्कालै टेण्डर आह्वान गरेर पिपिई र मास्क खरीद गर्नुपर्छ।’ छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मेडिकल रेकर्ड अधिकृत भीमप्रसाद पौडेलले भने,‘त्यो बाहेक अक्सिजन पनि पर्याप्त छैन। त्यसको विषयमा समेत छलफल गरियो। सप्लायर्सलाई पर्याप्तताको लागि आग्रह गरिसकिएको छ।’ अक्सिजन प्लान्ट छैन। प्लान्ट राख्न प्रक्रिया सुरु भएपनि समय लाग्न सक्छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाब संकलन गर्ने जनशक्ति समेत पर्याप्त छैन। संकलित स्वाबको परीक्षण गर्ने मेशिन (अटोएक्ट्रक्टोर) नहुँदा समस्या हुने जिकिर उनले गरे। संकलित स्वाबको नजिता निकाल्न ढिलो हुँदा मेशिनको लागि प्रदेश सरकार एवं प्रदेश जनस्वास्थ्य कार्यालयसँग आग्रह गरिएको छ। ‘अहिले हाम्रो(प्रतिष्ठानमा) ल्याबमा स्वाब संकलन गरी क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य कार्यालयमा पठाउँदै आएका छौं।’ उनले भने,‘भोलि विरामीको संख्या बढ्दा प्रतिष्ठानमै नमूना संकलन गरेर परीक्षण गर्नुपर्ने अवस्था आउँछ। त्यसको लागि मेशिन नभई नहुने अवस्था छ।’ उनका अनुसार प्रतिष्ठानको दैनिक ६० देखि ७० जनाको मात्रै स्वाब संकलन गर्ने क्षमता छ।  

अस्पतालमा ओपिडी विरामीपछि मात्रै स्वाब संकलन हुँदै आएको छ। ओपिडीका विरामीको व्यवस्थापन गर्नुपर्ने अवस्थाले स्वाब संकलनमा ढिलो हुने गरेको छ। मध्यान्ह १ बजेपछि मात्रै प्रतिष्ठानमा स्वाब संकलन हुँदै आएको छ। ‘ढिलो र बढी समय लाग्ने हुँदा विरामीलाई होल्डिङ गर्नुपर्ने अवस्था हटाउन पनि जनशक्तिसँगै मेशिन अत्यावश्यक छ।’ उनको भनाइ थियो,‘मेशिन उपलब्ध भए विरामीको होल्डिङ कम हुने थियो।’  

प्रतिष्ठानमा कोभिड विरामीको लागि ४० बेड छ। प्रि-आइसोलेसनको लागि १० बेड छन्। भेन्टिलेटर बढीमा १५ वटासम्म उपलब्ध छन्। तर भेन्टिलेटरमै राखेर विरामीको उपचार गर्नुपर्ने अवस्था आए अन्य वार्डमा रहेको भेन्टिरलेटर ल्याउनुपर्ने उनले सुनाए। अस्पताल आउने विरामीको अवस्था हेरेर मात्रै स्वाब संकलन गरिने छ। कस्तो अवस्थाको विरामीको स्वाब संकलन गर्ने र कस्तो विरामीको नगर्ने भन्ने विषयमा स्पष्ट धारणा समेत बनाइएको छ। विरामीमा देखिएको कोभिड सम्बन्धी लक्षणका आधारमा मात्रै स्वाब संकलन गरिने छ। ज्वरो आएका विरामीलाई ‘फिवर क्लिनिक’ पठाउने र क्रिटिकल विरामीको स्वाब संकलन गरिने उनले बताए।  

छलफलमा आइसियु, भेन्टिलेटिर आइसोलेसन र होम आइसोलेसनमा रहेका विरामीको स्वास्थ्य अवस्थाको बारेमा अनुगमन र निगरानी गरिने छ। ‘जटिल विरामी अस्पतालमा उपचाररत हुन्छन्। होम आइसोलेसनमा भएका विरामीको पनि ‘मनिटरिङ’ गरिने छ।’ उनले भने,‘विरामीको समस्या बारे बुझ्ने र अवस्था अनुसार अस्पतालमा भर्ना हुन सल्लाहसहितको सुझाव दिइने छ।’ प्रवेशद्वारमै विरामीको ज्वरो नापेर मात्र फिवर क्लिनिकमा वा अन्य जाँच गरिने बारेमा निर्क्यौल गरेर पठाइने समेत अस्पताल प्रशासनले जनाएको छ।  

दोस्रो लहरले बढी वृद्धवृद्धा र बालबालिका संक्रमित भएका छन्। छलफलमै मेडिसिन, बच्चा वार्ड, सुत्केरी, ल्याब, सर्जिकल, फार्मेसी, एमर्जेन्सी, नर्स, एनेस्थेसिया लगायत सरोकार निकायका १६ जनाको समिति समेत गठन गरिएको छ। गठित समितिबाटै विरामीको तथ्यांक संकलन, अवस्था कस्तो, औषधि कसरी दिने, कति दिने, सामाग्रीको उपलब्ध लगायतका विषयमा एकद्वार प्रणालीबाट गर्नुपर्ने आवाज उठाइएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा. अर्जुन आचार्यले कोभिडको महामारीले निम्त्याउने सम्भावनालाई ध्यान राख्दै जनशक्तिमा ध्यान दिइएको उल्लेख गरे। ‘हामीसँग ५० बेड छ। थप ५० बेड व्याकअप छ।’ डा. आचार्यले भने,‘विरामी बढ्दै गए अस्पतालका अन्य सेवा भने बन्द गर्नुपर्ने अवस्था आउँछ।’ पोखरामा दैनिक एक सय कोरोना संक्रमित थपिँदै गएका छन्।

प्रकाशित: १३ वैशाख २०७८ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App