१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दोस्रो लहरको कोरोना कहर: ‘गम्भीर बिरामीलाई बचाउनै मुस्किल’

कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभई धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए। उनले शनिबार साँझ नागरिकसँग कुरा गर्दै भने, ‘अस्पताल भर्ना भएर के गर्नु ? कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरूलाई बचाउनै मुस्किल छ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आइसियु र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए। ‘गम्भीर लक्षण लिएर पुगेकाहरूलाई निको पार्ने कुरा सामान्य छैन,’ उनले भने। 

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए। ‘धेरै संक्रमित हुनु भनेको गम्भीर बिरामीको संख्या बढ्नु पनि हो, गम्भीर हुनु भनेको मृत्यु संख्या बढ्नु पनि हो,’ उनले भने।  

उपचारकै क्रममा मृत्यु हुनेमा सबैजसो मिर्गौला, कलेजा तथा क्यान्सरजस्ता दीर्घरोगका बिरामी रहेको टिचिङ अस्पतालका कोभिड उपचार संयोजक डा. सन्तकुमार दासले भने। दासले अहिल्यै औषधिले काम गरेको या नगरेको विषय भनिहाल्न नमिल्ने बताए। पहिलो लहरको कोरोनाभन्दा दोस्रो लहरको पुरै फरक भएकाले संक्रमणबाट बच्न आम नागरिक, सबै सरकारी निकायलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको आदेश कडाइपूर्वक पालना गर्न अधिकारीको अनुरोध छ।  

उपचारमा पुगेका कोरोना संक्रमितहरू जो युवा उमेरका छन्, उनीहरूको आँखैअघि धमाधम मृत्यु भएको दृश्यले स्वास्थ्यकर्मीहरूसमेत दुःखी बनिरहेको उनले बताए। ‘न नागरिकले कोरोनालाई गम्भीर रूपमा लिए न नेताले, कोरोना के हो भन्न बुझ्न अस्पतालमा भइरहेका मृत्युको दृश्य देख्नुपर्छ,’ उनले दुःखी हुँदै भने। सरकारले आदेश गरेको मापदण्ड पालना गर्नेगराउने कुरामा अहिले पनि फितलो हुनु, सीमा नाका खुला हुनु, कन्ट्याक्ट ट्रेसिङ फितलो हुनुले संक्रमण भयावह हुने स्थिति देखिएको उनले आरोप लगाए।  

‘मापदण्ड पालना गराउने काम स्वास्थ्य मन्त्रालयको मात्र हैन, हरेक निकायको हो, अहिले पनि सीमा नाका खुलै छन्, सार्वजनिक बस, सभाजुलुस, भोजभतेरमा कमी आउन सकेको छैन,’ उनले भने। यी सबै निकायलाई कडाइपूर्वक मापदण्डभित्र ल्याउन सके मात्र संक्रमण रोक्न सकिने अधिकारीको सुझाव छ। उनले दोस्रो लहरको कोरोना संक्रमण पहिलोभन्दा जटिल रूपमा आएकाले लकडाउनतिर नगई जनताको ज्यान बचाउने स्थिति नरहेको संकेत गरे। ‘मान्छेको आर्थिक गतिविधिभन्दा जीवन बचाउनु अहिलेको स्थितिको माग हो, सम्बन्धित निकायले ध्यान दिनुपर्ने बेला आएको छ,’ उनले भने।  

थप २२ जनाको मृत्यु  

कोरोना संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृतकमध्ये आठजनाको गत २४ घन्टाभित्र मृत्यु भएको हो भने १४ जनाको दुईतीन दिनभित्रै मृत्यु भएको हो। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ। नेपालमा हाल कोरोनाबाट हुने मृत्युदर १.२ प्रतिशत पुगेको छ। मृत्यु हुनेमा युवा र वृद्ध दुवै उमेर समुहको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

संक्रमणदर ३० प्रतिशत बढी  

गत २४ घन्टामा नेपालमा संक्रमण दरमा वृद्धि भई ३० प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले वृद्धि भई ३० पुगेको हो। गत २४ घन्टामा परीक्षण भएका ८ हजार ८ सय ६८ वटा नमुनामध्ये २६ सय १९ जना एकै दिन संक्रमित भएका हुन्। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ। तीमध्येमा १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये २ सय १३ जनाको आइसियुमा, ६९ जनाको आइसियुमा र १ हजार ३ सय १६ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।

प्रकाशित: १२ वैशाख २०७८ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App