८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण भित्रन नदिन डोल्पामा उच्च सतर्कता अपनाउने निर्णय

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट बच्न हिमाली जिल्ला डोल्पामा उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ।

जिल्लास्थित एक सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकले थप संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो।

संक्रमित व्यक्ति भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालयका सबै कर्मचारीलाई अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न लगाई एन्टिजेन परीक्षण गर्ने, नतिजा नेगेटिभ आएमा पिसिआर समेत गर्ने पिसिआरको नतिजा नआउँदासम्म अनिवार्य होम आईसोलेसनमा बस्ने निर्णय बैठकले गरेको छ।

यसैगरि स्थानीय तहले क्वारेन्टिन, आईसोलेसन, कन्ट्याक ट्रेसिङ, उपचार व्यवस्थापन परीक्षण, आवश्यक सामाग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय समेत गरेको छ। यसैगरि जिल्लाका ८ ओटै स्थानीय तहका सबै वडामा द्रुत प्रतिकार्य समूह गठन गर्ने, घर बाहिर निस्कँदा मास्क नलगाएका व्यक्तिलाई कुनै पनि व्यवसायीले सामान बिक्री वितरण गरेको पाइएमा संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्ने, सबै कार्यालय पसल जस्ता सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्थाका साथै भौतिक दूरी कायम गर्ने निर्णय समेत गरिएको संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए।

स्थानीय तहले आवश्यकताअनुसार आफ्नो पालिकाभित्र स्वाव संकलनको व्यवस्था गर्ने बैशाख मसान्तसम्म मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने र नित्यपूजा ध्यान र प्रार्थनाबाहेक भिडभाड हुने गरी पूजाआजा गर्न नपाउने निर्णय गरेको छ।

केन्द्रले जिल्ला अस्पतालमा आईसोलेसन बेड तथा आई.सि.यु बेड तयारी अवस्थामा राख्ने जिल्लाका विद्यालय तथा शैक्षिक संस्थाहरु सम्भव भएसम्म सिफ्टमा सन्चालन गर्ने र पिसिआर परीक्षणको लागि स्वाव ढुवानी गर्दा दुनैदेखि सुँपानी र जुफाल एयरपोर्टसम्म ठूलीभेरी नगरपालिकाले र त्यसबाहेकको रुटमा त्रिपुरासुन्दरी नगरपालिकाले ढुवानीको व्यवस्था गर्नुका साथै अन्य गाउँपालिकाहरुले आफ्नो स्थानबाट दुनै जुफाल वा त्रिवेणीसम्मको स्वाव ढुवानी व्यहोर्ने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी ढकाले बताए।  

जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीसहित जिल्लाका ८ ओटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र राजनितिक दलका प्रमुखहरुको बैठकमा सहभागिता रहेको थियो।

प्रकाशित: ११ वैशाख २०७८ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App