१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

बिपी प्रतिष्ठानमा नयाँ आकस्मिक कक्ष

क्षमताभन्दा दोब्बर बिरामी हुँदा अस्तव्यस्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्ष विस्तार गरिएको छ। साबिकको भवनसँगै नयाँ भवन निर्माण गरेर प्रतिष्ठानले आकस्मिक कक्ष विस्तार गरेको हो। नयाँ आकस्मिक कक्षको बुधबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले उद्घाटन गरे। 

आकस्मिक कक्ष विस्तार भएपछि इमर्जेन्सी उपचारमा आएका बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ। प्रदेश १ को रिफरल सेन्टर भएकाले प्रतिष्ठानको आकस्मिक कक्षमा प्रदेश भरिका गम्भीर प्रकृतिका मात्र होइन, सामान्य खालका बिरामीसमेत रिफर भएर आउने गरेका छन्। यसकारण यहाँको आकस्मिक कक्ष अस्तव्यस्त बन्ने गरेको हो।  

उपकुलपति डा. गिरीले इमर्जेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर गुणस्तरीय उपचार सेवा विस्तार कार्यलाई अघि बढाइएको बताए। इमर्जेन्सीमा कुनै समस्या आए तत्काल समस्या समाधान गरिने उनको भनाइ थियो। उनले कोरोना महामारीको दोस्रो लहरलाई सामना गर्न कार्ययोजना पनि तयार बनाइसकेको बताए। ‘कोरोनाको दोस्रो लहरले भयावह स्थिति ल्याउन सक्छ, यसको सामना गर्न कार्ययोजना तयार भइसकेको छ,’ उपकुलपति डा.गिरीले भने। 

आकस्मिक कक्षको नयाँ ब्लकमा २१ वटा शय्या थप गरिएको छ। त्यहाँ दुई शय्याको आइसोलेसन पनि व्यवस्था गरिएको इमर्जेन्सी विभागले जनाएको छ। नयाँ ब्लकका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने फिक्स्ड बेड, जाँच टेबल र ट्रलीसमेत गरि १ सय ७ शय्या क्षमता रहेको इमर्जेन्सी तथा फेमिली मेडिसिन विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए।

प्रतिष्ठानको इमर्जेन्सी विभागले आकस्मिक कक्षमा हुने अत्यधिक चापलाई सहजीकरण गर्दै उपचार सेवा प्रवाह गर्न ट्रियाज पद्धति अपनाइरहेको छ। बिरामीको चाप हुने आकस्मिक कक्षमा यो पद्धति निकै प्रभावकारी रहेको छ। ‘हामीले इमर्जेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका बिरामीहरूलाई ट्रियाज गरी बिरामीको स्वास्थ्य स्थितिका आधारमा उपचार गर्छौं।

‘यस उपचार पद्धतिमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक, सम्बन्धित विभागका विशेषज्ञ टोलीले बिरामी तथा रोगको गम्भीर्य हेरेर राय, सुझाव दिने र उपचार पद्धतिबारे छलफल गर्छौं,’ डा. मल्लले भने, ‘त्यसपछि बिरामीलाई सम्बन्धित वार्ड, आइसियुमा भर्ना गर्ने वा सामान्य उपचार, अवलोकन गरेर डिस्चार्ज गर्ने भनेर निर्णय गछौं।’ यसरी उपचार गर्दा केही समय बिरामीलाई होल्ड गर्नुपर्ने भएमा विस्तार भएको आकस्मिक कक्षमा राख्न सकिने उनले बताए।

प्रकाशित: ९ वैशाख २०७८ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App