३० वैशाख २०७८ बिहीबार
स्वास्थ्य

कोरोना भाइरसको नयाँ भेरियन्टसँग डराउनु पर्दैन

अनुवांशिक शब्दावली र जटिलतासँग परिचित नभएकालाई कोरोना भाइरसको नयाँ भेरियन्ट भनेपछि डर लाग्ने गर्छ। तर संक्रमित मानिसको शरीरभित्र र एक मानिसबाट अर्काेमा सर्दा भाइरस लगातार उत्परिवर्तन भइरहने गर्दछ। भाइरसको परिवर्तन भइरहने चरित्रलाई हामीले बुझ्न जरुरी छ। गलत प्रमाणित नभएको अवस्थासम्म सबै भेरियन्ट निर्दाेष हुन्छन्।

कोरोना भाइरसका झण्डै ३० हजार न्युक्लियोटाइड्स अथवा बेसहरू छन्। यो भाइरस पाहुनाकहाँ पुगेपछि यी बेसको संरचनामा परिवर्तन हुन्छ। यदि २० बटा मात्र बेसहरू परिवर्तन भएमा खर्बौं थरीका भेरियन्ट निस्कन्छन्। यी भेरियन्ट सुरुको मौलिक भेरियन्टभन्दा फरक हुन्छन्। हालसम्म विश्वमा १ करोड ३६ लाख कोभिड–१९का केसहरू देखिएमा १० लाख मानिसलाई संक्रमण गरेको भाइरसको अनुवांशिक सिक्वेन्स तयार भैसकेकोछ। 

यी अध्ययन गरिएका सिक्वेन्समध्ये केही भेरियन्टको विषयमा वैज्ञानिकहरू चिन्तित छन्, किनभने यिनीहरू अन्यभन्दा बढी संक्रामक छन् र संक्रमितलाई गम्भीर हिसाबले बिरामी पार्न तथा हाम्रो प्रतिरक्षा प्रणालीलाई परास्त गर्न अथवा सबै काम गर्न यी भेरियन्ट सक्षम देखिएका छन्। अर्काे शब्दमा भन्ने हो भने भाइरसका लाखौं रूपले उसको व्यवहारमा खास परिवर्तन ल्याएको देखिएको छैन। यी परिवर्तनले वैज्ञानिकलाई यो भाइरस कसरी र कहाँ प्रसार भैरहेकोछ भन्ने जानकारी दिन्छ र यस्को खास मेडिकल महत्व हुँदैन।  

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी)का अनुसार हालसम्म कोरोना भाइरसका ६ भेरियन्ट बढी दोषी देखिएका छन्। यिनमा बेलायतमा देखिएको बी. १.१.७, दक्षिण अफिकामा देखिएको बी.१.३५१, ब्राजिलमा देखिएको पी.१ र पछिल्ला दिनमा अमेरिकाको क्यालिफोर्निया र न्युयोर्कमा देखिएका २ नयाँ भेरियन्ट रहेका छन्। यी हरेक भेरियन्टमा २ दर्जन उल्लेखनीय उत्परिवर्तन भएका छन् र अधिकांश रूपमा यो परिवर्तन भाइरसको स्पाइक प्रोटिनमा देखिएको छ। हाम्रो शरीरका कोसिकालाई एकआपसमा टाँसिन स्पाइकप्रोटिनले सहयोग गर्दछ र खोप बनाउँदा यही स्पाइकप्रोटिनलाई लक्षित गरिएको हुन्छ। केही उत्परिवर्तनले भाइरसलाई हाम्रा कोषिकासँग टास्सिन सहयोग गर्छन् भने अन्यले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय हुन दिँदैनन्। भाइरस उत्परिर्वनको संख्यासँग संक्रामताको कुनै सम्बन्ध छैन।  

उदाहरणका लागि अंगोलामा भाइरसका सबैभन्दा धेरै भेरियन्ट देखिए तर यसले त्यहाँ धेरैलाई बिरामी पारेको देखिएन। कुनै खास भेरियन्टले अस्पताल भर्ना हुनु पर्ने बिरामी बढाएको, मृत्यु बढाएको अथवा पुनः संक्रमण देखिएको भन्ने प्रमाणित गर्न धेरै मानिसमा र प्रयोगशालामा अध्ययन हुन आवश्यक छ। कोरोनाका नयाँ भेरियन्ट देखिनुअघि नै अमेरिकामा खोप अभियान सुरु भइसकेको थियो। तर अहिलेसम्म लगाइएका खोप यी भाइरसका नयाँ प्रजातिविरुद्ध प्रभावशाली नै देखिएका छन्। 

मोर्डना र फाइजर खोपले एमआरएन विधिलाई आत्मसाथ गरेका छन्। यी खोप हालसम्म देखिएको प्रमुख भेरियन्टविरुद्ध प्रभावकारी नै देखिएका छन्। भाइरसका नयाँ भेरियन्टले खोपलाई केही हिसाबले असर पारे पनि एमआरएन विधिमा आधारित कोरोना भाइरस खोपको प्रभावकारितामा खास परिवर्तन ल्याउन सकेका छैनन्। जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका र नोभाभ्याक्स खोपका बारेमा उपलब्ध सीमित जानकारीको आधारमा के भन्न सकिन्छ भने यी खोप सफल देखिएका छन्।

अध्ययनले के देखाएका छन् भने खोपले बिरामी हुनबाट बचाउन सहयोग गरेको छ। अमेरिकामा बी.१.१.७ सबैभन्दा बढी देखिएको भेरियन्ट हो। यी भेरियन्टलाई सुपर स्प्रेडरको रूपमा मान्न सकिन्छ। बेलायतमा संक्रमणका लागि नयाँ भेरियन्ट सत प्रतिशतले जिम्मेवार मान्न सकिन्छ तर खोपले संक्रमणको केस घटाउन, अस्तताल भर्ना दरमा कमी ल्याउन र मृत्युलाई घटाउन सहयोग गरेकोछ। यसैगरी सबैभन्दा धेरै जनसंख्यालाई खोप उपलब्ध गराउन सकेको इजरायलले पनि के प्रमाणित गरेको छ भने एमआरएन खोपको प्रभावकारिता घटाउन यी नयाँ भेरियन्ट सफल छैनन्।  

अमेरिकामा भाइरसको चौथो लहर देखिएकोछ। विशेषगरी अमेरिकाको मिचिगनमा पछिल्लो २ साता संक्रमण ६० प्रतिशतले बढेको छ भने अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको सख्या पनि २ गुणाले बढेको छ। अमेरिकाका यसअघिको लहरमा खोप उपलब्ध थिएनन् तर अहिले खोपको उपलब्धताका कारण संक्रमण बढेको खण्डमा खोपले त्यसलाई रोक्न सक्दछ। संक्रमण अत्यधिक देखिएको मिचिगन जस्ता स्थानमा खोपको यथेष्ट पर्याप्तता रहनुपर्नेमा दुर्भाग्यवस अमेरिकाले जनसंख्यागत हिसाबले खोपको वितरणमा जोड दिएको छ। यो इजरायल, बेलायत र अन्य देशले अवलम्बन गरेको सफल अभ्यासको प्रतिकूल छ। त्यसैले अहिले देखिएका भाइरसका भेरियन्टले चुनौती त थपेका छन् तर विकास भइसकेका खोपका प्रभावकारितालाई कमजोर पार्न सकेका छैनन्।

खोप नलाएकाभन्दा खोप लगाएका मानिसको बृहत् र सुदृढ प्रतिरक्षा प्रणाली विकास भएको हुन्छ। तर सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने हामीले भाइरसलाई थप प्रसार हुने मौका दिन हुँदैन, यसो भएमा भाइरसले आफूलाई थप विकास गर्न सक्छ र खोपलाई निष्प्रभावी पार्न सक्छ। महामारी रोक्न खोप अत्यन्त महत्वपूर्ण छ तर मास्क लगाउने र सामाजिक दूरी कायम गर्न सकेमा नयाँ भेरियन्टले खास प्रभाव पार्न सक्दैनन्। त्यसैले यो महामारीबाट पार पाउन सबै हरसम्भव उपाय अवलम्बन गर्न आवश्यक छ। भाइरस भेरियन्टसम्बन्धी विज्ञानको जानकारी र खोपको प्रभावकारिताप्रतिको विश्वासले महामारीबाट बाहिरिने बाटो देखाउन सक्छन।

(लेखक स्किप्स रिसर्चका मोलुकुलर मेडिसिनका प्राध्यापक र कोभिड ट्र्याकिङ प्रोजेक्टका सल्लाहकार हुन्।)

प्रकाशित: २ वैशाख २०७८ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?