१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

फेरि बढ्यो कोरोना जोखिम

गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरू ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारो धेरै माथि थियो। बाहिरबाट किनेर ल्याएका तरकारी, फलफूल, संक्रमणयुक्त हुन सक्ने डरले मानिसहरू पसलबाट ल्याएको दूधका प्याकेट समेत नधोइपखाली घरभित्र लग्दैन्थे, डराउँथे। आफन्तसँग पनि दूरी कायम गर्थे। सकभर फोन वा सामाजिक सञ्जालबाटै भेटघाट, कुराकानी गर्थे।  

लकडाउनका कारण नयाँ वर्षमा न मेला लाग्यो न रमाइलो नै भयो। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै सर्वसाधारण घरभित्रै खुम्चिए। नयाँ वर्ष ०७८ को सुरुवातसँगै कोरोनाको पुनःआगमन भएको छ। फरक यत्ति हो कि पहिले जस्तो डर अहिले देखिँदैन। पहिलेको कोरानाभन्दा अहिलेको कोरोनाको संक्रमण दर र मृत्यु क्षमता बढी भएको स्वास्थ्य विज्ञहरू बताउँछन्।  

कोरोनाको पहिलो लहर जेठको दोस्रो सातादेखि बढेर असारको पहिलो साता उच्च बिन्दुमा पुगेको थियो। साउनको पहिलो सातामा न्यून भएको संक्रमण पुनः बढ्दै कात्तिकको दोस्रो सातामा उच्च बिन्दुमा पुग्यो। त्यसपछि माघको पहिलो सातामा कम भए पनि चैत दोस्रो सातादेखि फेरि संक्रमण बढ्न थालेको छ।

केही महिना संक्रमण मत्थर भएपछि वर्षको अन्तबाट(चैत मध्यबाट) कोरोना संक्रमण पुनः फैलिन थालेको छ। संक्रमण फैलिएसँगै मृत्यु दर पनि बढ्दैछ। तर लापरबाही, हेल्चेक्र्याइँमा कमी आएको छैन। संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन, स्थानीय सरकार पनि बेपरवाह देखिएको छ। पोहोरको वर्ष लकडाउन र आवतजावत बन्द भएकाले सबैजसो मानिस घरभित्रै हुँदा संक्रमण फैलिन पाएको थिएन। अहिले लकडाउन छैन। आवतजावत खुकुलो छ। हटिया, मेला, सभा, सिनेमा हल समान्य रूपमा चलेका छन्। स्वास्थ्य सावधानी र मापदण्ड पालना गर्नेको संख्या बढ्न सकेको छैन।  

पोहोर चीनको वुहानमा देखिएको कोरोना भाइरसले डराएको थियो भने अहिले ‘युके भेरिएन्ट’ ले त्रसित बनाएको छ। पोहोर जस्तै संक्रमण फैलिए सरकारले फेरि लकडाउन गर्ला कि भन्ने सर्वसाधारणमा अर्को त्रास छ। कारण अघिल्लो लकडाउनमा धेरै मानिसको दैनिक जीवन कष्टकर बन्यो। रोजगार गुमाएर भोकभाकै बस्न बाध्य भए। किसानको उत्पादनले बजार नपाउँदै खेतमै फाल्न बाध्य भए। अन्ततः सर्वसाधारण लकडाउनको विरोधमा उत्रिन बाध्य बने।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको संयोजकत्वमा आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले नयाँ वर्षको अवसरमा लाग्ने मेलामा भारतबाट पनि मानिसहरू आउने हुनाले सीमामा रोक्ने निर्णय गरेको थियो। भारतबाट आउनेहरूलाई सीमामै रोक्ने र मेला आयोजना नगर्न/नगराउन गरिएको निर्णय भने कागजमै सीमित भयो। नयाँ वर्षको दिन लहानको सलहेस फुलबारीमा मेला पनि लाग्यो र बेपरवाह भीड पनि लाग्यो। भारतका मानिसहरू मेला भर्न ठाढी, माडर, बरियारपट्टी नाकाबाट बेरोक फुलवारीमा आए। बाँसुरी बेच्नेदेखि प्लास्टिकका खेलौना बेच्नेसम्म र प्रसाद बेच्नेदेखि सिन्दुर बेच्नेसम्म भारतीहरू नै छन्। उनीहरू दुई दिनअघि नै मेलास्थलमा आएको बताए।  

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख जनस्वास्थ्य विज्ञ कृष्ण यादव भन्छन्, ‘मानिसले व्यवहारमा परिवर्तण र भीड नियन्त्रणमा कडाइ नल्याएसम्म लकडाउन मात्र गरेर कोरोना संक्रमणबाट निदान पाउन सकिन्न। जीवनशैली बदल्नुपर्यो। स्वास्थ्य सुरक्षा मापदण्ड पालना मात्र गरिदिए पुग्छ। मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र हात धुने कामलाई जीवनपद्धति बनाउन सके कोरोनमाथि विजय प्राप्त गर्न सकिन्छ।’

उनी भन्छन्,‘मैले मात्र मापदण्ड पूरा गरिदिएर भएन यो प्रत्येक नागरिकले पालना गरिदिनुपर्छ। नगर्नेलाई कानून प्रयोग गरेर पालना नगराएसम्म संक्रमणबाट निदान पाउन सकिँदैन। आफ्नो, आफ्ना परिवारको र अन्ततः सामाजको जीवन सुरक्षाका लागि नाक मुख राम्ररी छोपिनेगरी मास्क लगाउन हामी किन गाह्रो मानिरहेका छौं ? उनले भने,‘मोटरसाइकल चलाउँदा जसरी हामी हेलमेट लगाउँछौं, घर बाहिर निस्किँदा मास्क लगाउने बानी बसालौं। 

कुनै चिज छुँदा हातलाई साबुनपानीले धाऔं र भीड नगरौं। यति गर्न केही बिग्रिँदैन। नगरे आफ्नो र सबैको ज्यान खतरामा पार्छौं।’ प्रदेश २ मा सक्रिय संक्रमितको संख्या चैतदेखि बढ्दै गएको छ। अहिले प्रदेश २ का आठवटै जिल्लामा संक्रमितको संख्या बढ्दो क्रममा छ। चैत १५ गत्तेसम्म यस प्रदेशमा ३५ जना सक्रिय संक्रमित थिए। चैत २५ गत्तेसम्म ६५ पुग्यो। वैशख १ गतेसम्ममा संक्रिय संक्रमितको संख्या २२४ पुगेको छ।

सामाजिक विकास मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार यस प्रदेशमा सक्रिय संक्रमित सबैभन्दा बढी सक्रिय संक्रमित पर्सामा १३७ जना छन्। बारामा ४१, धनुषामा २१, सिरहामा ८, महोत्तरीमा १०, सप्तरीमा ३, सर्लाहीमा २ र रौतहटमा २ छन्। प्रदेश २ मा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहोर, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चेक्र्याइँ भएको जस्वास्थ्य विज्ञहरू बताउँछन्।

 सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको अनुमान छ। ‘सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लोसमय बढ्दै गएको संक्रमितको संख्या हो,’ जिल्ला स्वास्थ्य प्रमुख यादवले भने। नयाँ वर्षको अवसरमा ठाउँ ठाउँमा लाग्ने मेला, उत्सवले झन् संक्रमणको भयावह अवस्था निम्त्याउँछ।  

एकैदिन पर्सा र बाराका तीन जना कोरोना संक्रमितको मृत्यु भएपछि प्रदेश २ मा मृतकको संख्या २१२ पुगेको छ। पर्साका तीन जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको छ।  

पर्साकै कालिकामाई गाउँपालिका–२ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनी चैत २४ गते भारतको हैदरावादबाट घर फर्किएका थिए।  

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति १ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाबाट सबैभन्दा बढी पर्सामा ५३ जना, सप्तरीमा ४१ जना, सिरहामा २५ जना, धनुषामा २५ जना, बारामा २५ जना, महोत्तरीमा १८ जना, सर्लाहीमा १४ जना, रौतहटमा १० जना र एक जना भारतीय नागरिकको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: २ वैशाख २०७८ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App