७ वैशाख २०८१ शुक्रबार
समाज

प्राचार्य कुट्नेलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ

दोषीलाई कारबाहीको माग गर्दै आईतबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका रामचरित्र माध्यमिक विद्यालयका शिक्षक तथा अभिभावकहरु ।

आदर्शकोतवाल गाउँपालिकाको च्युटाहामा रहेको रामचरित्र माध्यमिक विद्यालयका प्राचार्य दिनेश साहलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा सोमबार घेराउ गरिएको छ।

प्राचार्य साहलाई आईतबार कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका सदस्य रुपेन्द्र कुशवाहालाई कारबाहीको माग गर्दै विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय बारा कलैयालाई घेराउ गरेका हुन्।

विद्यालयका टेबल, शैक्षिक सामग्री तोडफोड गर्ने र प्राचार्यलाई हातपात गर्नेलाई बारा प्रहरीले कारबाही गर्नमा आलटाल गरिरहेको भन्दै प्रहरी कार्यालय घेराउ गर्नु परेको शिक्षकहरुले गुनासो गरेका छन्।

शिक्षकलाई कुट्ने आरोप लागेका रुपेन्द्र कुशवाहालाई आईतबारदेखि नै बारा प्रहरीले नियन्त्रणमा राखेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताए।

एक पक्षले कुशवाहाले प्राचार्य साहलाई कुटपिट नगरेको दाबी गरेका छन् भने अर्को पक्षले कुशवाहाले नै प्राचार्य साहलाई हातपात गरेको दाबी गरिरहेको शाहीले बताए। घटनाको बारेमा अनुसन्धान गरेर दोषी देखिएकालाई कारबाही गरिने उपरीक्षक शाहीले बताए।

गत माघ महिनामा अभिभावकहरुको मतदानबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मुन्ना पटेलले सदस्य रहेका रुपेन्द्र कुशवाहाले विद्यालय व्यवस्थापन समितिको बैठकमा भाग नलिने र बैठक सकिए पछि प्राचार्य साहसँग बिभिन्न बहानामा निहुँ खोज्ने कार्य गर्दै आएको बताए।

आईतबार विद्यालयले गरेको खर्च माग्ने बहानामा कुशवाहाले प्राचार्यमाथि हातपात समेत गरेको र प्राचार्यलाई हातपात गर्ने कुशवाहालाई कारबाही नगरिएसम्म शिक्षकहरुले पढाउने कार्य छोडेर बिरोधमा उत्रेको अध्यक्ष पटेलले बताए।

प्रकाशित: ३० चैत्र २०७७ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App