१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आर्थिक अभावमा कुपोषित बालिका

कुपोषणको सिकार बनेकी सुमित्रा नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ। १८ महिनाकी नेपाली तीन महिनादेखि कुपोषणकै कारण थला परेकी छिन्। तर उपचारका लागि परिवारसँग आर्थिक स्रोत अभावकै कारण उपचारमा समस्या भएको हो।

त्रिवेणी नगरपालिका–९ पैमाकी सुमित्रा आमा भुजा नेपालीको सहारामा छिन्। बुबा धर्म नेपालीको भारतको दिल्लीस्थित सीमापुरीमा गत फागुनमा मात्र मृत्यु भएको हो। निकटका व्यक्तिबाट मारिएको भनिए पनि न्यायका लागि बोलिदिने कोही नभएपछि उनको मृत्यु पनि रहस्यमै लुकेको छ।

भुजा नेपाली दुई छोरीसहित गत भदौमा मात्र नेपाल फर्किएकी थिइन्। त्यो बेला पनि उपचार गराएर नेपाल आएकी थिइन्। जमिँदा पौने ३ केजी थियो, पछि बिस्तारै खानपानमा समस्या हुँदा दुब्लाउँदै गएको सुमित्राकी आमा भुजाको भनाइ छ। ३५ वर्षकी भुजाका दुई छोरी छन्। उनले छोरा जन्मिएको केही महिनामै गुमाएकी थिइन्।  

‘भारतबाट घर आउँदासम्म सन्चै थियो। पछि बीचमा दुब्लाउँदै गएपछि उपचारका लागि स्वास्थ्य संस्था लगेँ,’ उनले भनिन्, ‘धेरै औषधि खुवाए पनि निको भएको छैन। टाढा जान सकिएन, नजिकैको बडिमालिका सहरी स्वास्थ्य केन्द्रमा देखाउँदा केही निको भएन।’

हाल सुमित्रा साढे ४ केजीकी मात्र छिन्। उमेर अनुसार १० केजी कम्तीमा हुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। ‘हामीले उपचार गर्न नसक्ने भएपछि स्वास्थ्य चौकी लैजान भनेका हौं, तौल निकै कम छ, कुपोषण भएको हो,’ बडिमालिका सहरी स्वास्थ्य केन्द्रकी अनमी सीता खत्रीले भनिन्, ‘धेरै पटक उपचारका लागि आउनुभएको हो, खानाकै समस्या र उपचारमा भएको ढिलाइ नै हो। आर्थिक रूपमा परिवार कमजोर छ।’  

‘गाउँमा पनि नजिकका छिमेकीबाहेक सासुससुरा कोही छैनन्। सहारा दिने र सहयोग गर्ने कोही नभएकाले काखमै मर्छे होला,’ आमा भुजाले रुँदै भनिन्। कुपोषित बच्चालाई खुवाउने आरयुडिएफ खुवाउँदा पनि निको नभएको उनको गुनासो छ।

‘नगरपालिकासँग पनि दुःख सुनाएँ, जनप्रतिनिधि र गाउँका अगुवालाई पनि भनेँ, कसैले सुनिदिएन,’ उनले थपिन्, ‘अब छोरीको मृत्यु कुरी बस्नुबाहेक विकल्प छैन जस्तो लाग्छ।’ गाउँमा पोषण कमीकै कारण दर्जनौं बालबालिका कुपोषणको सिकार बन्न बाध्य छन्।

प्रकाशित: १५ चैत्र २०७७ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App