१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

१८ महिने कुपोषित बालिकाले पाइनन् उपचार

कुपोषणको सिकार बनेकी सुमित्रा नेपालीको आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएको छ। १८ महिनाकी नेपाली तीन महिनादेखि कुपोषणकै कारण थला परेकी छिन्। तर उपचारका लागि परिवारसँग आर्थिक श्रोत अभावकै कारण उपचारमा समस्या भएको हो।

त्रिवेणी नगरपालिका-९ पैमाकी सुमीत्रा आमा भूजा नेपालीको साहरामा छिन्। बुबा धर्म नेपालीको भारतको दिल्ली स्थीत सीमापुरीमा गएको फागुनमा मात्र मृत्यु भएको हो। निकटका व्यक्तिबाट मारिएको भनिएपनि न्यायका लागि बोलिदिने कोही नभएपछि उनको मृत्यु पनि रहस्यमै लुकेको छ।

भूजा नेपाली दुई छोरीसहित गएको भदौमा मात्र नेपाल फर्किएकी थिइन्। त्यो बेला पनि उपचार गराएर नेपाल आएका थिए। जन्मिदा पौने ३ केजी थियो। पछि बिस्तारै खानपानमा समस्या हुँदा दुब्लाउँदै गएको सुमित्राकी आमा भूजाको भनाइ छ। ३५ वर्षकी भूजासँग दुई छोरी छन्। छोरा जन्मिए केही महिनामै गुमाएकी थिइन्।  

भारतबाट घर आउँदासम्म सन्चै थियो। पछि बीचमा दुब्लाउँदै गएपछि उपचारका लागि स्वास्थ्य संस्था लिए। धेरै औषधि खुवाएपनि निको नभएको आमाले दुखेसो रहेको छ। टाढा जान सकिएन, नजिकैको बडिमालिका शहरी स्वास्थ्य केन्द्रमा लिँदा केही निको भएन भूजाको गुनासो छ।

हाल सुमित्रा साढे ४ केजीकी मात्र छन्। उमेर अनुसार १० केजी कम्तीमा हुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। 'हामीले उपचार गर्न नसक्ने भएपछि स्वास्थ्य चौकी लैजान भनेका हौं, तौल निकै कम छ, कुपोषण नभएको जस्तो छ,' बडिमालिका शहरी स्वास्थ्य केन्द्रकी अनमी सीता खत्रीको भनाइ छ।

'धेरै पटक उपचारका लागि आउनु भएको हो, खानाकै समस्या र उपचारमा भएको ढिलाइ नै हो,' अनमी खत्रीले भनिन्। 'आर्थिक रुपमा परिवार कमजोर छ। उपचारका लागि घरको दैला बाहिर जान सक्ने अवस्था नै छैन,' राम्रो पालन पोषणकै अभावमा त्यो अवस्थामा आएको भन्छिन् स्थानीय समेत रहेका महिला अभियान्ता जानकी खत्री।  

'गाउँमा पनि नजिकका छिमेकी बाहेक सासु ससुरा पनि कोही छैनन्। साहरा दिने र सहयोग गर्ने कोही नभएपनि काखमै मर्छ होला' आमा भूजाले रुदै भनिन्। कुपोषित बच्चालाई खुवाउने आरयूडिएफ पनि खुवाउँदा पनि निको नभएको आमा भूजा नेपालीको गुनासो छ।

'नगरपालिकासँग पनि दुःख सुनाए, जनप्रतिनिधि र गाउँका अगुवालाई पनि भने कसैले सुनिदिएन, अब छोरीको मृत्यु कुरी बस्नु बाहेक विकल्प छैन जस्तो लाग्छ' भूजाले सुनाइन्। गाउँमा पोषण कमीकै कारण दर्जनौ बालबालिका कुपोषणको सिकार बन्न बाध्य छन्।

प्रकाशित: १४ चैत्र २०७७ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App