केही दिनअगाडि २८ वर्षीया एक महिला ज्वरोको लक्षण लिएर आएकी थिइन्। उनी विभिन्न एन्टिबायोटिक लिँदा पनि कामज्वरो आउने, टाउको दुख्ने, जाडो हुने क्रम नरोकिएपछि परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएपछि औषधिका लागि अस्पताल आइपुगेकी थिइन्। मलेरियाविरुद्धको औषधि सेवनपछि ज्वरो आउने क्रम रोकिइसकेको छ। खान मन लाग्ने र पहिलेको भन्दा शारीरिक रूपमा बिस्तारै सक्रिय हुँदै गइरहेको ती महिलाले जानकारी दिएकी छन्।
त्यस्तै अत्यधिक ज्वरोका कारण ३१ वर्षीय एक पुरुषमा रगत परीक्षण गर्दा ब्रुसेलाको संक्रमण देखिएको थियो। हाल ती पुरुषको उपचार हुँदैछ। अर्का एक ४० वर्षीय पुरुष जन्डिस (भाइरल हेपाटाइटिस) भएर आएका थिए। ती पुरुषको आँखा (आँखाको सेतो भाग) पहेंलो देखिनुका साथै थप अरू लक्षण पनि देखिएका थिए। एक ६ वर्षीय बालकमा ठेउला (चिकनपोक्स) देखिएको थियो। यी सबै संक्रमित काठमाडौंका र केही दिनअगाडि मात्र देखिन सुरु भएको थियो।
गत वर्ष यो पंक्तिकारले बर्सेनि देखिँदै आइरहेका संक्रामक रोगहरू अचानक हराएको कुरा गरेको थियो। यसको मुख्य कारण कोरोना संक्रमणको जोखिमका कारण बारम्बार हातलाई सेनिटाइजर वा साबुनपानीले सफा गर्नुपर्छ भन्ने लाग्नु हो, जुन जनस्वास्थका मापदण्डअन्तर्गत पर्छ। त्यो बेला मानिसहरूमा कोरोना भाइरसको त्रास अत्यधिक थियो। त्यो त्रास कोरोना भाइरस लहर मत्थर हुँदै जाँदा बिस्तारै हराउँदै गएको देखिन्छ र तसर्थ स्वाभाविक रूपमा हाल मानिसहरू पहिलेजस्तो हात बारम्बार सेनिटाइजर वा साबुनपानीले सफा गर्ने बानी कम हुँदै गएको देखिन्छ। परिणाम स्वरूप हाल बिस्तारै हरेक वर्ष विगतमा देखिँदै आइरहेका संक्रामक रोगहरूले नेपालमा पुनरागमन गरेको देखिन्छ।
हाल कोरोनाकालभरि अवलम्बन गर्दै आइरहेका जनस्वास्थ्य मापदण्ड चटक्कै बिर्संदै जाँदा संक्रामक रोगहरूले पुनरागमन गरिरहेको संकेतहरू देखिन सुरु भइसकेको छ । तसर्थ बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू विकसित देशहरूले जस्तै इतिहासमा सीमित पार्न खानपान र सरसफाइलाई बेवास्ता नगरौं ।
लामखुट्टेबाट सर्ने मुख्यतया मलेरिया, डेंगी, चिकुनगुनिया आदि सरुवा रोगहरू नेपालमा विगतदेखि नै हरेक वर्षजस्तो देखिँदै आइरहेका छन्। नेपालको इतिहासमा नै पहिलोपटक सन् २०१९ मा सबैभन्दा धेरैलाई र लामो समयसम्म डेंगीको प्रभाव परेको थियो। पहिलोपटक धेरै काठमाडौंवासी डेंगी संक्रमणबाट बिरामी भएका थिए। यद्यपि यो पंक्तिकारले सन् २०१० मा नै काठमाडौंमा डेंगी देखिसकेको थियो। सामान्यतय डेंगी भाइरस पोस्ट मनसुनमा देखिने भए पनि सन् २०१९ को महामारीको सुरुवात भने प्री–मनसुनबाटै भएको थियो। काठमाडौंमा फेरि डेंगी भाइरस देखिए र त्यो पनि कोही दोस्रो (फरक सेरोटाइप) पटक संक्रमित भए सो व्यक्तिमा स्वास्थ जटिलता देखिन सक्नेछ। तसर्थ काठमाडौं जनघनत्वको हिसाबले नेपालको ठूलो सहर भएको र धेरैमा जटिल अवस्था सिर्जना भए भर्खरै कोरोना संक्रमितहरूले अस्पतालमा ठाउँ नपाएजस्तै अवस्था नआउला भन्न सकिँदैन।
डेंगी भाइरसबारे अहिले नै जनचेतना फैलाउने कार्यक्रमहरूको योजना बनाउनु जरुरी छ। चाखलाग्दो तर अचम्मको कुरा के छ भने सन् २०१९ मा डेंगीको महामारी फैलँदा काठमाडौंवासीमा डेंगीबारे एकदमै कम जानकारी रहेको देखियो। किनभने नेपालमा सन् २००४ देखि नै डेंगी भाइरसबारे चर्चा हुँदै आइरहेको हो।
माथि उल्लेख गरिएको मलेरियाको बिरामी पनि प्री–मनसुनमा देखिएको छ। तसर्थ सतर्कताको आवश्यकता अहिले नै देखिन्छ। एनोफेलेस जातको पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्ने गर्छ। संक्रमण भएको सातदेखि ३० दिनमा लक्षणहरू देखिने गर्छ। उच्च ज्वरो, चिसो/जाडो हुने र खलल पसिना मलेरियाका लक्षणहरूमध्ये मुख्य मानिन्छ। तर यसको यकिन भने रगत परीक्षणपछि मात्र हुने गर्छ, जुन टेस्ट सर्वसुलभ पनि छ। मलेरियाका पाँच प्रजातिमध्ये प्लाज्मोडियम भाइभेक्स र फल्सिपारम नेपालमा बढी देखिने र परीक्षण गर्नेमा पर्छ। भारतबाट फर्कनेहरूमा पनि मलेरिया देखिने गरेको पाइन्छ। सुरुमा नै पहिचान गर्न सके सफल उपचार गर्न सकिन्छ। मलेरियाविरुद्धको औषधि नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आइरहेको छ।
यो पंक्तिकारले सन् २०१३ मा नेपालमा पहिलोपटक चिकुनगुनिया भाइरस पत्ता लगाएको थियो। तत्पश्चात् नेपालमा बर्सेनिजस्तो यो भाइरस देखिँदै आइरहेको पाइन्छ। ज्वरो आउनु तथा जोर्नी दुख्नु यो भाइरसले संक्रमण गर्दा देखिने मुख्य लक्षण हुन्। टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, जोर्नी सुन्निनु, मांसपेसीका दुख्नु थप यसका अरू लक्षण हुन्। संक्रमितमध्ये झन्डै ५० प्रतिशतभन्दा बढीमा जोर्नी दुख्ने क्रम वर्षौंसम्म रहन सक्ने अनुसन्धानहरूले देखाएका छन्। विशेषत लक्षण मिल्ने हुँदा बाथको रोगसँग यो रोग झुक्किने गर्छ। कतिपयलाई बाथको रोग भने पनि पोस्ट चिकुनगुनियाको जोर्नी दुखेको पनि हुन सक्छ।
तर चिकुनगुनिया भाइरसको परीक्षण सहज नहुने हुँदा यकिन संक्रमितको संख्या नेपालमा थाहा हुने गरेको पाइँदैन। यो भाइरसलाई डेंगीभन्दा कम घातक मानिने गरे पनि केही वर्षअगाडि तीनजनाको मृत्यु चिकुनगुनिया भाइरसको कारणले भएको सरकारी तथ्यांक छ। सन् २००६ मा भारतको अहमदाबाद सहरमा गरेको एक अनुसन्धानले १२ प्रतिशत चिकुनगुनिया भाइरस संक्रमितको मृत्यु भएको देखाएको थियो। तसर्थ नेपालमा पनि यो भाइरस देखिँदै गर्दा विशेष सतर्कता अपनाउनुपर्ने र परीक्षण सबैको सहज पहुँचमा हुनुपर्ने देखिन्छ।
सर्वसाधारणले जन्डिस भनेर चिनिने भाइरल हेपाटाइटिस पनि गर्मी र मनसुन सिजनमा बढी देखिने गर्छ। भाइरल हेपाटाइटिसमा विशेषतः ‘ए’ र ‘ई’ मुख्य मानिन्छ। हेपाटाइटिस ‘ए’ मुख्यतया संक्रमणयुक्त पानी तथा खानेकुराबाट सर्ने गर्छ। माथि उल्लिखित जन्डिस (भाइरस हेपाटाइटिस) देखिएको बिरामीले आफू दैनिक ज्यालादारीमा (घर निर्माण) काम गर्ने र खानेपानी सिधै (नउमालेर वा फिल्टर नगरी) पिउने गरेको बताएका थिए। संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट पनि यो भाइरस सर्ने गर्छ।
ज्वरो आउने, खाना मन नलाग्ने, वाकवाक लाग्ने, पेटमा अप्ठ्यारो महसुस हुने, पिसाब गाढा रङको देखिने, दिसाको रङ खैरो देखिनु, थकित हुने, आँखाको सेतो भाग तथा शरीर पहेलो देखिने, जिउ चिलाउनेजस्ता समस्या देखिने गर्छ। यसको उपचारका लागि विशेष औषधि दिनुपर्दैन भने सामान्यतया हेरचाहपछि दुई महिनासम्म स्वस्थलाभ भएर जानेछ। तर कसैकसैमा कलेजो फेलर हुने जोखिम भने रहने गर्छ। हेपाटाइटिस ‘ई’ संक्रमण विशेषत गर्भवती महिलाका लागि उच्च जोखिम मानिन्छ। लक्षण र सर्ने तरिका भने हेपाटाइटिस ‘ए’ जस्तै हुने गर्छ। गर्भवती भएको तेस्रो त्रैमासिकमा संक्रमण भए २५ प्रतिशतसम्म मृत्युदर हुन सक्छ। सन् २०१४ मा विराटनगरमा हेपाटाइटिस ‘ई’ को प्रकोप देखिँदा झन्डै अनुमानित ७ हजार संक्रमित भएका र १४ जनाको मृत्यु भएको अनुसन्धानले देखाएको थियो। त्योबेला संक्रमित खानेपानी उपभोग गर्दा नै फैलिएको अनुमान गरिएको थियो। तसर्थ, सफा/सुरक्षित पानी तथा खानेकुरामा विशेष ध्यान दिए हेपाटाइटिस ‘ए’ र ‘ई’ बाट बच्न सकिन्छ।
ब्रुसेलोसिस नेपालमा बर्सेनि देखिने रोग हो। विशेषतः संक्रमित जनावरको सम्पर्कबाट यो सर्ने गर्छ। भेडा, बाख्रा, गाई, सुँगुर, कुकुर आदि यो संक्रमणको मुख्य स्रोत मानिन्छ। राम्रोसँग नपकाएको मासु तथा नउमालिएका दुग्धजन्य खानेकुराबाट सर्ने गर्छ। त्यस्तै यो ब्याक्टेरिया हावाबाट र संक्रमित जनावरको रगत वा त्यसका तरल पदार्थहरू छालाको घाउमार्फत पनि शरीरमा प्रवेश गर्ने गर्छ। ज्वरो, पसिना, टाउको दुख्ने, जिउ दुख्ने, थकित हुने, खाना मन नलाग्ने, मांसपेशीका, जोर्नी दुख्ने आधी यसका प्रारम्भिक लक्षणहरू हुन। यसको परीक्षण नेपालमा सहज र सर्वसुलभ छ भने रोगको सही र शीघ्र निदान गर्न सके सफल उपचार गर्न सकिन्छ। भेरिसेला जोस्टर भाइरसको कारणले ठेउला देखिने गर्छ। यो संक्रमितको खोकीबाट (हावामार्फत) अरूलाई तीव्र गतिमा सर्ने सरुवा रोग हो।
यो पक्तिकारले बर्सेनिजस्तो यही महिनातिर ठेउलाका बढी बिरामी देख्ने गरेको छ। दुई वर्षअगाडि काठमाडौंको केही कलेजहरूमा वयस्क विद्यार्थीमा यो संक्रमण फैलिएको देखेको थियो। केही दिनअगाडि एक ६ वर्षीय बालकमा पनि ठेउला देखापरेपछि उपचारका लागि अस्पताल आइपुगेका थिए। यद्यपि ठेउला कहाँबाट सरेको थियो भन्नेमा भने उनीहरू यकिन भएन। शरीरको छालामा चिलाउने, पानी फोका देखिने र पछि त्यो फुटेर सुकी पाप्रा बनेर झर्ने गर्छ। यी ठेउलाका क्लासिकल लक्षणहरू पनि हुन्। पानी फोकाहरू देखिनुभन्दा एकदुई दिनअगाडि ज्वरो आउने, खान मन नलाग्ने, थकित हुने, टाउको दुख्नेजस्ता लक्षण देखिने गर्छ। यसको निदान लक्षणहरूका आधारमा गर्ने गरिन्छ। यसको निदान भए उपचार सहज रूपमा गर्न सकिन्छ।
अन्त्यमा कोरोना भाइरससँगको लामो संघर्षमा मुख्यतः हातको सरसफाइ, मास्कको प्रयोग तथा खानेकुरा/पानी (घरबाहिर) जथाभाबी उपभोग नगर्दा बर्सेनि गर्मी तथा मनसुन सिजनमा देखिँदै आइरहेका विशेषतः भाइरल हेपाटाइटिस, झाडापखाला, टाइफाइड, ठेउला, फ्लु, फुड पोइजनिङ आदिजस्ता संक्रामक रोगहरूको चुनौती देखिएन। यो पंक्तिकारले झन्डै दुई दशक सरुवा रोगविरुद्धको लडाइँमा रहिरहँदा सन् २०२० (गत वर्ष) मा नेपाल पहिलोपटक मौसमी संक्रामक रोगविहीन देश बनेको देखेको थियो। हामीले चाहेमा नेपाललाई विकसित देशहरूजस्तै मौसमी संक्रामक रोगविहीन देश बनाउन पनि सक्दा रहेछौं भन्ने यो बलियो प्रमाण पनि हो।
तर हाल कोरोनाकालभरि अवलम्बन गर्दै आइरहेका जनस्वस्थ्य मापदण्ड चटक्कै बिर्संदै जाँदा संक्रामक रोगहरूले पुनरागमन गरिरहेको संकेतहरू देखिन सुरु भइसकेको छ। तसर्थ बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू विकसित देशहरूले जस्तै इतिहासमा सीमित पार्न खानपान र सरसफाइलाई बेवास्ता नगरौं।
(लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)
प्रकाशित: १ चैत्र २०७७ ०१:११ आइतबार