८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पाठेघरको समस्या लुकाउँछन् महिला

लेखगाउँ स्वास्थ्य चौकीले आयोजना गरेको शिविरमा पाठेघर चेकजाँचका लागि आएका महिलाहरु । तस्बिर : नगेन्द्र/नागरिक

बराहताल गाउँपालिका–९ सिरूपाटाकी मनिसरा पुलामी १२ वर्षदेखि पाठेघर झर्ने समस्याबाट पीडित थिइन्। उनले आफ्नो पीडा वर्षौंसम्म लुकाएर राखिन्। पाठेघर झर्ने समस्याका कारण पुलामीलाई हिंड्डुल गर्न, उठबस गर्न समस्या हुन्थ्यो। अघिल्लो वर्ष मनिसराको पीडा पतीले थाहा पाए। महिला स्वास्थ्य स्वयंसेवीका बुहारी हरिकला पुलामीलाई पत्नीको समस्या सुनाए। उनले तत्कालै कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइन्। चिकित्सकले मनिसराको पाठेघरमा रिङ राखिदिए।

‘लाज’ का कारण उनले आफ्नो पीडा वर्षौंसम्म पतीलाई समेत सुनाउन सकिनन्। अरू समस्या भए भन्न सकिन्थ्यो, यस्तो कुरा भन्न लाज लाग्यो,’ उनले भनिन्, ‘समस्या लुकाउँदा १२ वर्षसम्म साह्रै दुःखका दिन कटाएँ।’ पाठेघरमा रिङ राखेदेखि अहिले केही सहज भएको उनले बताइन्। लेखगाउँ स्वास्थ्य चौकीको आयोजनामा पाठेघर खस्ने समस्याको स्क्रिनिङ उपचारका लागि पुगेका कर्णाली प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. केशर ढकालका अनुसार मनिसराको पाठेघर खस्ने समस्या तेस्रो चरणमा पुगेको छ। ‘पाठेघरको अप्रेसनका लागि प्रदेश अस्पतालमा रेफर गरेका छौं,’ उनले भने।

सोतखोलाकी तुलसरा खासु ३४ वर्षको हुँदादेखिनै पाठेघर खस्ने समस्याबाट पीडित थिइन्। उनी अहिले ६६ वर्षकी भइन्। खासुले पनि आफ्नो समस्या कसैलाई सुनाइनन्। पीडा बल्झँदै गएपछि पतीले थाहा पाए। ‘हिँड्नै नमिल्ने अवस्थामा पुगेपछि पतीले सोधीखोजी गर्नुभयो, लाज मानीमानी आफ्नो पीडा सुनाएँ,’ उनले भनिन्, ‘सुरुमा गाली गर्नुभयो, पछि उपचार गराउन लिनुभयो।’ उनको पनि पाठेघर खस्ने समस्या दोस्रो चरणमा छ।  

स्वास्थ्य शिविरमा ६० जना महिलाको पाठेघर र क्यान्सरको चेकजाँच गरिएको थियो। स्वास्थ्य चौकी प्रमुख उदयबहादुर थापा क्षेत्रीका अनुसार ती मध्ये एक जनामा पाठेघर क्यान्सर देखिएको छ, भने एकको तेस्रो स्टेज पाठेघर खसेको छ। ‘दोस्रो स्टेजमा रहेका पाँच जना महिलालाई व्यायाम गर्ने विधि र आौषधि दिएका छौं,’ उनले भने, ‘उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पतालमा रेफर गरिएको छ।’  

यस्तै पहिलो चरणको पाठेघरको समस्या देखिएका १० जना महिलालाई औषधि उपलब्ध गराइएको स्वास्थ्य चौकी प्रमुख क्षेत्रीले बताए। प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. ढकालले लाज मानेर समस्या लुकाउँदा ग्रामिण क्षेत्रका महिलाहरू थप पीडामा रहेको पाइएको बताए। ‘लाज, अपहलेना, बहुविवाह, अधिक घरयासी कामकाज, चेतनाको कमीलगायतका कारणले महिलाले आफ्नो रोग लुकाउने गरेको पाइयो,’ उनले भनिन्, ‘प्रदेश राजधानीसँगै जोडिएको गाउँमा यो समस्या छ भने दूरदराजका महिलाहरूमा कति समस्या होला ?’

प्रकाशित: ९ फाल्गुन २०७७ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App