१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

माइकल लेडलम्यान, लाउरा स्मिथ स्पार्क

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।  

मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका् दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ। त्यसो त अध्ययनमा संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ गरेर भाइरस प्रसारणको प्रत्यक्ष मापन गरिएको थिएन तर अनुसन्धानकर्ताले नियमित रूपमा सहभागीको नाकबाट स्वाब संकलन गरेका थिए। यसो गर्दा खोपको दुवै डोज लिएकाको पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको हो।

‘समीक्षामा भाइरस प्रसारणसम्बन्धी अध्ययन समावेश गरिएको थिएन तर खोपको प्रभावकारिता हेर्न बेलायतमा गरिएको अध्ययनमा लक्षण देखिएका अथवा नदेखिएका दुवैथरी सहभागी स्वयंसेवकबाट हरेक साता स्वाब संकलन गरिएको थियो र भाइरस प्र्रसारणको सम्भावना आकलन गरिएको थियो,’ अनुसन्धानकर्ताले लेखेका छन्। ‘खोपले संक्रमणलाई मध्यम खाले प्रभाव पारेको भए पिसिआर पोजेटिभिटीमा खास परिवर्तन देखिने थिएन, अनुसन्धानकर्ताले भनेका छन्, ‘समग्रमा पिसिआर पोजेटिभिटी मापन संक्रमणको भार घटे–नघटेको हेर्न उपयोगी देखिएको छ।’

कोरोना खोपका परीक्षणका क्रममा यसले मूलरूपमा कोभिड–१९ का लक्षणसहितका केस रोकथाम गर्न सफल भए–नभएको हेर्ने गरिएको छ। यसअघि खोपले एक मानिसबाट अर्काेमा संक्रमण सर्नबाट रोक्ने विषयमा सार्वजनिक तथ्यांक उपलब्ध थिएनन्।  

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका प्राध्यापक हेलेन फ्लेचरका अनुसार भाइरसको प्रसारण रोक्न खोप प्रभावकारी हुन सक्ने तर यसका लागि थप अध्ययन आवश्यक छ। ब्रिटिस सोसाइटी अफ इम्युनोलोजीका प्रमुख कार्यकारी डा. डग ब्राउनले भने अक्सफोर्ड खोप भाइरस प्रसारण रोक्न प्रभावकारी भएको बताए। तर अझै पनि खोप लगाएका मानिसले समेत सामाजिक दूरी कायम गर्न आवश्यक नै रहेकोमा उनले जोड दिए।  

यसैगरी दोस्रो डोज लगाएको दुई सातापछि अक्सफोर्ड खोप ६६ दशमलब ७ प्रतिशत प्रभावकारी रहेको देखिएको छ। यसअघि यो खोप सरदरमा ७० दशमलब ४ प्रतिशत प्रभावकारी रहेको बताइएको थियो। तर नयाँ अध्ययनले खोपको पहिलो डोजले पनि पर्याप्त सुरक्षा दिएको देखाएको छ।

अध्ययनले पहिलो डोज लगाएपछि ३ महिनासम्म खोपको प्रभावकारिता ७६ प्रतिशत रहेको अनुमान गरेको छ। यसैगरी अनुसन्धानकर्ताले दुई डोजको बीचको फरक धेरै हुँदा खोपको प्र्रभावकारिता अत्यधिक हुनसक्ने बताएका छन्। १८ वर्षदेखि ५५ वर्षसम्मको उमेर समूहका मानिसमा गरिएको अध्ययनले दुई डोजबीचको फरक ६ देखि १२ हप्ता हुँदा त्यसको प्रभावकारिता बढ्दो क्रममा रहेको देखिएको अनुसन्धानकर्ताले बताएका छन्। यो नतिजाले दुइ डोजबीचको फरक १२ सातासम्म गर्न सकिने बेलायत सरकारको निर्णयलाई बल मिलेको छ। (सिएनएन)

प्रकाशित: २३ माघ २०७७ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App