नेपालमा पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने (पूर्ण स्तनपान) अभ्यास अझै सन्तोषजनक हुन नसकेको देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ अनुसार ० देखि ५ महिनासम्मका ५६ प्रतिशत शिशुले मात्र पूर्ण स्तनपान प्राप्त गर्ने गरेका छन् भने बाँकी ४४ प्रतिशत शिशु यसबाट वञ्चित छन्।
यही अवस्थालाई सुधार गर्ने उद्देश्यले विश्व स्तनपान सप्ताह– २०८३ को अवसरमा भेरी अस्पतालले ‘दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नारासहित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, नर्सिङ प्रमुख, विभागीय प्रमुख, चिकित्सक, नर्सिङकर्मी तथा हालै शिशु जन्माएका आमाहरूको सहभागिता थियो।
सहभागीलाई जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने, पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्य कुनै खानेकुरा वा पेय पदार्थ नदिनुपर्ने तथा ६ महिनापछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा जानकारी दिइएको थियो।
अस्पतालका अनुसार एनडीएचएस २०२२ ले ० देखि २३ महिनासम्मका ५५ प्रतिशत शिशुले मात्र जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान पाउने गरेको देखाएको छ। यद्यपि करिब ९९ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाउने गरेका छन्। यी तथ्यांकले समयमै स्तनपान सुरु गर्ने र पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउने अभ्यासलाई अझ प्रभावकारी बनाउन समुदायस्तरसम्म जनचेतना विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको अस्पतालले जनाएको छ।
कार्यक्रममा स्तनपान गराउने सही तरिका, आमाको दूधका पोषण तथा रोग प्रतिरोधात्मक फाइदा, शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासमा स्तनपानले खेल्ने भूमिका तथा आमाको स्वास्थ्य संरक्षणमा यसले पुर्याउने योगदानबारे जानकारी गराइएको थियो। सहभागी आमाहरूका जिज्ञासाको चिकित्सक तथा स्वास्थ्यकर्मीले समाधान गर्दै सही स्तनपान अभ्यास अपनाउन आग्रह गरेका थिए। भेरी अस्पतालले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य तथा स्तनपान प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
प्रकाशित: २१ श्रावण २०८३ १२:१५ बिहीबार





