२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘कोरोना जिते पनि शरीर कमजोर’

कोरोना भाइरसबाट संक्रमित भएपछि ५० वर्षीय सोम थापाले झन्डै दुई साता अस्पतालमा बसेर उपचार गराए। भदौको मध्यतिर अस्पताल भर्ना भएका उनी सोही महिनाको अन्तिमतिर डिस्चार्ज भएका थिए। डिस्चार्ज भएको पनि डेढ महिना कटिसक्दा पनि उनको शरीर पूर्ववत् अवस्थामा फर्किन सकेको छैन। ‘रिपोर्ट नेगेटिभ आएपछि म अस्पतालबाट बाहिरिएको हुँ तर शरीर अझै दह्रो बनेको छैन,’ उनले भने। कोरोनाबाट संक्रमित भएसँगै उनलाई निमोनिया भएको थियो। त्यसैले पनि पहिलेको अवस्थामा फर्किन नसकेको उनको भनाइ छ। ‘अझै कमजोर भएजस्तो महसुस भइरहेको छ। शारीरिक रूपमा केही बल प-यो भने असहज हुने रहेछ,’ थापाले भने, ‘अहिले त औषधि पनि सकियो तर पूर्ववत् अवस्थामा फर्किन भने केही समय लाग्ने अनुभव गरेको छु। निको हुनु मात्र नभई कोरोनाले लामो समय कमजोर बनाउने रहेछ।’

अस्पतालबाट निस्किएर घरमा बिताए पनि थापाका दिन अझै सामान्य बन्न सकेका छैनन्। ‘मनले गर्न चाहेको कुरा पनि गर्न सकिन्न कि भन्ने हुँदो रहेछ,’ उनले भने, ‘सायद मलाई निमोनिया भएकाले पनि त्यो अवस्था आएको होला। सबैलाई यही समस्या नहुन सक्छ। तर कोरोना निको भए पनि रिकभर हुन समय लाग्ने रहेछ। मनोबल भने उच्च बनाउनैपर्छ। सधैं सकिन्न र कमजोर भए भनेर मात्र बस्नुहुँदैन। बिस्तारै ठिक भइन्छ।’

पोखरा महानगरपालिका–१० का सदस्य समरबहादुर श्रेष्ठ पनि कोरोनाले संक्रमित भएपछि २९ दिन अस्पतालमा बसेका थिए। भदौ २२ गते अस्पतालमा भर्ना भएका उनी असोज २२ गते डिस्चार्ज भएका थिए। अस्पतालबाट डिस्चार्ज भएको एक महिना पुगिसक्दा पनि उनको शरीरमा पहिलेको झै फुर्ती छैन। ‘अझै पनि कमजोर अनुभव गरेको छु। काम गर्छु भनेर मनले आँटे पनि व्यवहारमा हुन सकेन,’ उनले भने। उनले अझै हातखुट्टा काम्नेजस्ता कमजोरी महसुस गरिरहेको अनुभव बाँडे।

‘एक महिना भइसक्यो अस्पतालबाट डिस्चार्ज भएको तर अझै कमजोर महसुस भएको छ। पिठ्यूँ र तिघ्रा अझै दुख्छन्। भ-याङ चढ्न पनि सकिन्न कि जस्तो लाग्छ,’ उनले भने, ‘उभिँदा पनि रिँगटा लागेजस्तो हुन्छ। कमजोर अनुभव भएको छ। म त घर फर्किए तर आत्मबल अझै फर्केन।’ कोरोना संक्रमित भएपछि उनलाई पनि निमोनियाले गलाएको थियो। त्यही निमोनियाका कारण पनि लामो समय अस्पतालमा बस्नुपरेको उनले सुनाए। ‘मनले गर्छु भनेको काम पनि शारीरिक रूपमा नसक्ने रहेछ। अक्सिजन घटेजस्तो हुने रहेछ,’ उनले भने, ‘अक्सिजन त चाहिएको छैन तर शरीर कमजोर हुँदा आफूलाई नै अक्सिजन नै नपुगेजस्तो हुने रहेछ।’ अस्पतालबाट डिस्चार्ज भए पनि २० दिनसम्म घरमै अक्सिजन राखेर बसेका थिए। श्रेष्ठको परिवार र छिमेकीसहित सातजनालाई संक्रमण भए पनि बढी समस्यामा उनी मात्र परेका थिए। ‘निमोनिया भए लामो समस्या हुने रहेछ। परिवारसहित समूहमा सातजनालाई संक्रमण हुँदा अरूलाई केही समस्या भएन तर म मात्र कमजोर बने,’ उनले भने, ‘जबकि सुगर, मुटुको दीर्घरोगीसमेत रहेकी श्रीमतीलाई कुनै समस्या भएन। निमोनिया हुँदा मलाई केही अप्ठेरो भयो।’

कोरोना जितेका प्रकाश कार्की पनि अझै आफूलाई पहिलेकै स्थितिमा फर्काउन सकेका छैनन्। असोज ४ गते उनलाई संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो। पखाला, ज्वरो पनि उनमा समस्या थियो। असोज १५ गते उनको पिसिआर रिपोर्ट नेगेटिभ आएर घर फर्किए पनि उनलाई अझै पूर्ण रूपमा निको भएको अनुभव भएको छैन। ‘घर फर्केपछि १५ दिन घरभित्रै बसे। खुट्टा चलाउन सकस भयो। स्कुटर, गाडी केही चलाउन सकिनँ,’ कार्की भन्छन्, ‘उभिएर समेत हिँड्न नसक्ने अवस्था आयो। १५ दिन फिजिकल थेरापी गरेपछि बल्ल केही सहज भएको छ। तर अझै पनि फ्रेस हुन सकेको छैन।’ शारीरिक रूपमा केही बलियो भइसके पनि मानसिक रूपमा अझै पहिलेकै अवस्थामा आउन नसकेको उनले अनुभव सुनाए। ‘शरीरमा आलस्यता छ, ज्यानले कमजोर अनुभव गरेको छ,’ कार्कीले भने, ‘शरीरलाई दह्रो बनाउन पोषणयुक्त खाना खाए पनि पहिलेजस्तो अवस्थामा फर्किन सकेको छैन। समय लाग्ने देखेको छु। फिजिकल रूपमा सबै ठीक छु तर ज्यान सशक्त हुन सकेको छैन।’ कार्कीका परिवारका पाँचजनालाई संक्रमण भएको थियो।

चिकित्सकहरू पनि तीन सातामा पहिलेको अवस्था फर्किन सकिने भए पनि निमोनिया भएको खण्डमा थप एक साता समय लाग्ने बताउँछन्। ‘मलाई कोरोना संक्रमण भएको हो भनेर मनोवैज्ञानिक सोचाइ राख्दा केही कमजोरी अनुभव हुन सक्छ। तर निको भएको तीन सातामा त पहिलेकै अवस्थामा फर्किन सकिन्छ,’ वरिष्ठ फिजिसियन डा. वसन्त ताम्राकार भन्छन्, ‘पोषणयुक्त खानाले पनि फरक पार्ने हुनाले त्यसमा पनि ध्यान दिनुपर्छ।’

प्रकाशित: २२ कार्तिक २०७७ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App