रामेछाप घर भई भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, बोडेमा जग्गा भाडामा लिएर बसेको श्रेष्ठ परिवारका एक पुरुषलाई कोरोना संक्रमण भयो। दुईवटा टहरामा बसेको त्यो परिवारका १४ जनाले एउटै भान्छा र शौचालय प्रयोग गर्थे। भदौको पहिलो साता परिवारका एक पुरुष सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि पिसिआर परीक्षण गर्दा २ सुत्केरी, ७, ८ र ११ वर्षका ३ बालबालिका र ७५ वर्षीया महिलामा पनि कोरोना देखियो।
पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि कतिपय पूरै परिवार संक्रमित भएका छन्। एक जनालाई संक्रमण हुँदा समयमै पहिचान गरी आइसोलेसन (अलग) मा नबस्दा एकपछि अर्काे गर्दै परिवारका सबै सदस्यमा भाइरस सरेको हो।
यसैगरी धादिङका एक पत्रकारसहित उनका छोरी–ज्वाइँसमेत परिवारका ६ सदस्य भाइरसबाट संक्रमित भए। ती पत्रकारको अहिले काठमाडौंको किस्ट अस्पतालमा उपचार भइरहेको छ। उनकी पत्नीको भने मृत्यु भइसकेको छ। धादिङ अस्पतालले रेफर गरेपछि थप उपचारका लागि एम्बुलेन्समा काठमाडौंतर्फ ल्याउँदै गर्दा अक्सिजन सकिएर उनकी श्रीमतीको बाटैमा प्राण गएको हो।
काठमाडौंस्थित एक विदेशी नियोगमा कार्यरत एक महिलाले आफ्नो परिवारका सबै ७ जना कोरोना संक्रमित भएपछि फेसबुकमा लेखिन्, ‘परिवारका सबै सदस्य संक्रमित हुँदा कस्तो दुःख। असहाय महसुस!’
भक्तपुर, काठमाडौं र धादिङका यी प्रतिनिधि घटना हिजोआज सामान्य बनेका छन्। पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि कतिपय पूरै परिवार संक्रमित भएका छन्। एक जनालाई संक्रमण हुँदा समयमै पहिचान गरी आइसोलेसन (अलग) मा नबस्दा एकपछि अर्काे गर्दै परिवारका सबै सदस्यमा भाइरस सरेको हो। यो क्रमले कोरोना संक्रमणलाई तीव्र बनाएको त छ नै, परिवारका सबै सदस्य संक्रमित भएर आइसोलेसनमा बस्दा उनीहरूको दैनिक जीवनयापन निकै कष्टकर हुने गरेको छ।
अमेरिकाको समाचार संस्था सिएनएनका अनुसार त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले हालै गरेको एक अध्ययनले पनि परिवारका एक जनालाई कोरोना भाइरसले भेटेपछि अन्य सदस्यालाई ‘तीव्र’ रूपमा सर्ने गरेको र यस्ता घटना ‘सामान्य’ बनिरहेको देखाएको छ।
गत शुक्रबार प्रकाशित खबरअनुसार अध्ययनले के सुझाव दिएको छ भने कुनै व्यक्तिलाई संक्रमणको शंका हुनासाथ उसलाई तत्काल आइसोलेसनमा राख्नुपर्छ, परीक्षण वा त्यसको रिपोर्टका लागि पर्खेर बस्नु हुँदैन।
सिडिसीको साप्ताहिक प्रकाशन ‘मोर्बिडिटी एन्ड मोर्टालिटी रिपोर्ट’मा प्रकाशित त्यस अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘संक्रमितलाई जति छिटो आइसोलेट गर्न सक्यो त्यति नै घरभित्र फैलिने संक्रमण रोक्न सकिन्छ।’ यस्तै उक्त अध्ययनले घरभित्र पनि सबै जना सँगै बस्ने स्थानमा जतिबेला पनि मास्क लगाउन सुझाव दिएको छ।
अप्रिलदेखि सेप्टेम्बरसम्म अमेरिकाका नेसभिल, टेनेसी, मासफिल्ड, विस्किन्सनका १०१ जना संक्रमितलाई यो अध्ययनमा सहभागी गराइएको थियो। ती संक्रमितका एकाघरका अन्य १९१ जनालाई १४ दिनसम्म आफ्नो नाकको स्वाब संकलन गर्न भनिएको थियो। हरेकले आफूमा देखिएका लक्षणबारे दैनिकी (डायरी) पनि लेख्ने गरेका थिए।
अध्ययनअनुसार कोरोना संक्रमितसँग बसेका ५३ प्रतिशत व्यक्तिलाई एक हप्ताभित्रै भाइरस सरेको पाइयो। पहिलो संक्रमितलाई लक्षण देखिएको ५ दिनभित्रै अन्य ७५ प्रतिशत सदस्यलाई दोस्रो तहको संक्रमण भएको देखियो।
‘सुरुका बिरामी बालबालिका अथवा प्रौढ जो भए पनि संक्रमण व्यापकस्तरमा भएको देखियो,’ अनुसन्धानकर्ताले भनेका छन्।
यसअघिका अध्ययनले घरभित्रको संक्रमण दर २० देखि ४० प्रतिशतसम्म देखाएकामा अहिलेको अध्ययनले यो दर ५३ प्रतिशत देखाएको छ। यसैगरी अध्ययनले देखाएको अर्काे महत्वपूर्ण तथ्य हो– दोस्रो तहका संक्रमण भएका आधाभन्दा कम व्यक्तिमा मात्र लक्षण देखिएका थिए।
‘सात दिनसम्म फलोअप गर्दा अधिकतरमा कुनै लक्षण देखिएनन्, यसले लक्षण नभएका संक्रमितले पनि भाइरस सार्ने र क्वारेन्टिन आवश्यक देखायो,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।
त्यसो त एकै घरका सदस्य छुट्टिएर बस्न त्यति सजिलो छैन। विशेषगरी एउटै छानोमुनि तथा सानो घरभित्र धेरै जना बस्नुपर्ने अवस्था तथा परिवारमा ससाना बालबालिका हुँदा आइसोलेसनमा बस्न त्यति सजिलो छैन। नेपालमा अझै पनि संयुक्त परिवारको प्रचलन छ। सहरमा एकात्मक परिवारको संख्या बढ्दो क्रममा रहे पनि ग्रामीण क्षेत्रमा दुई/तीन पुस्तासमेत सँगै बस्ने चलन अझै छ।
विज्ञका अनुसार लकडाउनका बेला परिवारका एक सदस्य संक्रमित हुँदा त्यो परिवारका लगभग सबै सदस्य संक्रमित हुने खतरा बढाएकाे हाे। नेपालमा सुरुमा गत चैत ११ बाट गरिएको लकडाउन १ सय २० दिनपछि खुल्नासाथ तराईबाट राजधानी आउने क्रम ह्वात्तै बढेको र दोस्रोपटक गरिएको निषेधाज्ञापछि मानिस परिवारसँगै बस्न थालेपछि घरपरिवार नै संक्रमणको ‘क्लस्टर’ बनेको बताउँछन्, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।
विशेषगरी बढी उमेरका तथा रोगसँग लड्ने क्षमता कमजोर भएका सदस्यलाई घरमा अलग्गै बालबालिका र अन्य सदस्यसँगको निरन्तर सम्पर्कबाट टाढा राख्नुपर्ने उनको सुझाव छ। ‘संक्रमण रोक्न सावधानी एक मात्र उत्तम उपाय हो,’ डा. पुन भन्छन्, ‘आफ्ना प्रियजन, साथीभाइ र आफन्तबाट भाइरस सर्दैन भन्ने धेरैले ठान्छन्। यसले संक्रमणको स्रोत बढाइरहेको हुन्छ।’
भावनात्मक कारण हजुरबा, हजुरआमा आफ्ना नातिनातिनासँग नजिक हुने र त्यही नजिकपनाले भाइरस सर्ने जोखिम बढाउने डा. पुनको अनुमान छ।
संक्रमित व्यक्ति वा परिवारका लागि छिमेकी र समुदायको सहयोग उत्तिकै महत्वपूर्ण हुन्छ। आइसोलेसनमा बसेका उनीहरू बाहिर गएर दैनिक प्रयोगका घरायसी सामान र औषधि लिन जान कठिन हुन्छ। यसैकारण उनीहरूलाई त्यस्तो वस्तु÷सामान जोहो गर्न आफन्त र समाजको सहयोग आवश्यक हुन्छ। परस्पर सहयोग र सद्भावको सुदृढ सामाजिक पुँजीले मात्र यो कठिन समस्या सम्बोधन गर्न सक्छ।
‘संकटमा एकआपसको सहयोग चाहिन्छ। आखिर यो महामारी एकलभन्दा पनि सामूहिक समस्या हो,’ त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र विषयका प्राध्यापक डा. विनोद पोखरेल भन्छन्।
प्राध्यापक पोखरेल थप्छन्, ‘संक्रमणको जोखिमबाट बच्न सतर्क र सावधान हुन जरुरी छ, तर समुदायका सदस्य एकआपसमा सहयोगी हुनुपर्छ, अहिले त्यो भावना त्यति देखिएको छैन।’
जाडो याम भाइरसका लागि अनुकूल हुने कारण घरपरिवारभित्र कोरोना संक्रमण फैलिने जोखिम झन् बढ्ने देखिन्छ। जाडो छल्न घरमा समूहगत रूपमा आगो ताप्ने तथा हिटरवरपर बस्ने हाम्रो आनीबानीमा सुधार गर्न आवश्यक रहेको विज्ञ बताउँछन्।
उनी घरायसी संक्रमण बढ्नुमा पारिवारिक संरचनाभन्दा पनि प्राविधिक कारण बढी दोषी रहेको तर्क गर्छन्। एउटै शौचालय, टिभी रिमोट, अनलाइन क्लासका लागि प्रयोग गर्ने साझा मोबाइल सेटले संक्रमण विस्तार गर्न सक्ने सम्भावना रहन्छ,’ प्राध्यापक पोखेरलले भने।
यसैगरी जाडो याम भाइरसका लागि अनुकूल हुने कारण घरपरिवारभित्र कोरोना संक्रमण फैलिने जोखिम झन् बढ्ने देखिन्छ। जाडो छल्न घरमा समूहगत रूपमा आगो ताप्ने तथा हिटरवरपर बस्ने हाम्रो आनीबानीमा सुधार गर्न आवश्यक रहेको विज्ञ बताउँछन्।
त्रिभुवन विश्वविद्यालयका सूक्ष्म जीवविज्ञान विषयका प्राध्यापक डा. प्रकाश घिमिरे भन्छन्,‘यसपटक घरभित्र भीड गरेर आगो ताप्ने होइन, बाहिर घाम ताप्नुहोस्।’
प्रकाशित: २० कार्तिक २०७७ ०८:२६ बिहीबार