२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानका रेडियोग्राफरको कोरोनाबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै कर्मचारीद्वारा काम ठप्प

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि आज(मंगलबार) रेडियोलोजी विभाग र सेन्ट्रल ल्याबमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन्।

सुरक्षाको माग गर्दै आन्दोलित कर्मचारीहरुले आज रेडियोलोजी विभाग र सेन्ट्रल ल्याबको सेवाहरु पूर्णरुपमा ठप्प पारेका छन्। दिउँसो प्रतिष्ठानका अस्पताल निर्देशक र रजिष्ट्रारसँग वार्ता भएपनि कर्मचारीहरुले सुरक्षाको पूर्णरुपमा ग्यारेण्टी नभएसम्म काममा नफर्कने अडान लिएका थिए। हिजो सोमबार साँझ ३० वर्षीय एक रेडियोग्राफरको कोरोना संक्रमणबाट निधन भएको थियो। उनको निधनपछि विभागका अन्य कर्मचारीहरुले सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने, आइसियू उपलब्ध हुनुपर्नेलगायतको माग राखेर आन्दोलन शुरु गरेका थिए।

आन्दोलनरत कर्मचारीहरुसँग अस्पताल निर्देशक डा.गौरीशंकर साह र रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले छलफल गर्दै पिपिई, मास्क, ग्लोब्सलगायत सुरक्षा सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। कर्मचारीहरुले भने सामग्री उपलब्ध भएपछि मात्र काममा फर्कने भन्दै अडान लिएपछि मंगलबार रेडियोलोजी विभाग र ल्याबको काम ठप्प भएको थियो। जसले गर्दा सर्वसाधारण विरामीहरु मारमा परेका थिए।

रेडियोलोजी विभागका टेक्निकल इञ्चार्ज मुकेश झाका अनुसार पदाधिकारीहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाए पनि कर्मचारीहरुले स्टोरबाट प्राप्त नभएसम्म काममा नफर्कने अडान लिएपछि सेवाहरु ठप्प भएको थियो। ‘दिउँसो ३ बजेपछि श्रद्धाञ्जली कार्यक्रम भएकोले स्टोर पनि बन्द भयो, र आज सेवाहरु सुचारु भएन,’झाले भने,‘भोली बुधबार पनि माग भए अनुसार सामानहरु आयो भने मात्र काम गर्ने भनेर स्टाफहरुले भनिरहेका छन्।’

प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले भने कर्मचारीहरुसँग छलफल गरेर सम्झाई बुझाई काममा फर्काएको दाबी गरे। उनले स्वास्थ्य सुरक्षा सामग्री पाउनुपर्ने माग जायज भएको र उपलब्ध गराउने पनि बताए। तर, कर्मचारीहरुको लागि आइसियू बेड छुट्याएर राख्नुपर्ने माग भने पुरा गर्न गाह्रो हुने उनले बताए। ‘हाम्रो कर्मचारीको दुःखद् निधन भएको छ। कर्मचारीहरु काम छोडेर आउनु भएको थियो, हामीले सम्झाई बुझाई गरेर पठायौं,’अस्पताल निर्देशक डा.साहले भने,‘सुरक्षा सामग्रीहरु दिइहाल्छौं। आइसियु चै सबैको लागि बराबर हो, कसैलाई दिने, कसैलाई नदिने गर्न सकिदैन।’

प्रकाशित: १८ कार्तिक २०७७ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App