१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

जुम्लाको तातोपानीमा कोभिड अस्पताल

जुम्लाको तातोपानी गाउँपालिकामा कोभिड अस्पताल निर्माण भएको छ। अस्पताल निर्माण भएर सञ्चालनमा आइसकेको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताउँछन्। उनका अनुसार तातोपानी ५ ऐरेनी स्थित स्वास्थ्यचौकीमा कोभिड अस्पताल शुरु भएको हो।  

अहिले साधारणतय आइसोलेसन हेन बेड मात्र राखिएको छ। अध्यक्ष न्यौपानेले भने,‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ। कोभिड अस्पतालमा आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ।’ तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिका मध्ये पहिलो बनेको अस्पताल हो। अब कोभिड अस्पतालमा आइसियु र भेण्टिलेटरसहितको उपकरण थप्ने गाउँपालिकाले जनाएको छ।  

केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि १० लाख रुपैयाँ पठाएको थियो। स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाई कोरोना संक्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताउँछन्। अहिले दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन्। हालसम्म ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।  

गत चैतदेखि यता १२ जनालाई कोरोना संक्रमण देखिएको छ। जसमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन्। गाउँपालिका भरी ८ सय भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। गाउँपालिकामा ५० बेडको आइसोलेसन समेत स्थापना भएको छ।  

कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा समेत मेडिकल अधिकृत भेटिएको छैन। जसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन। यहाँका हरेक गाउँपालिकामा पाँच बेडको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आएपनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन्।  

गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन्। उनीहरु अब संक्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसावले निकै राम्रो भएको अनुभुति भइरहेको सुनाउँछन्।

प्रकाशित: १६ कार्तिक २०७७ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App