१३ मंसिर २०७७ शनिबार
स्वास्थ्य

दसैंमा स्वास्थ्यवर्द्धक खानपान कसरी गर्ने?

दसैं हाम्रो राष्ट्रिय चाड। सहिष्णुता र ठूलाबडाको आशीर्वाद थाप्ने, नयाँ कपडा लगाउने र मीठोमसिनो खाने चाडका रूपमा दसैं स्थापित छ। दसैंमा सबैसँग भेटघाट गर्ने, साथीभाइ, इष्टमित्र, पारिवारिक जमघटले सम्बन्ध बढाउने, मनको मैलो हटाउने र राम्रो सम्बन्ध स्थापना हुने गर्छ। यसबाट सबै रमाउँछन्। खुसी हुन्छन्। स्वस्थ रहन रमाउन र खुसी हुन अति आवश्यक छ। त्यसैले हामीले दसैंलाई आत्मीयता बाँड्ने पर्वका रूपमा मनाउनुपर्छ।  

खाना त्यस्तो हुनुपर्छ, जसको सेवनपछि शरीरमा आलस्य र भारीपन होइन, ऊर्जा र स्फूर्ति प्राप्त होस्

दसैंमा मीठो–पोषिलो खाने गरिन्छ। खानेकुरामा माछामासुका धेरै परिकार बनाइन्छ। त्यसमाथि चिल्लो, मरमसला धेरै हालेर पकाउने गरिन्छ। पर्वहरूमा शाकाहारीले पनि दूध, चिल्लो तथा मिठाई बढी प्रयोग गर्छन्। यसरी चाडबाडमा रमाइलोका लागि खानपान गर्दा स्वास्थ्यमा भने ध्यान गएको हुँदैन। चाडबाड वा अन्य बेलामा पनि स्वास्थ्यलाई चाहिने खाद्य पदार्थ सागसब्जी, फलसलाद भने धेरै कम प्रयोग गर्ने चलन छ। जसको परिणाम कब्जियत हुन्छ र तौल बढ्नेदेखि प्रेसर, सुगर, मुटु, मिर्गाैलामा खराबी जस्ता स्वास्थ्य समस्या हुने सम्भावना हुन्छ। त्यसैले दसैंमा मात्र होइन, अरू बेला पनि खाना खाँदा स्वास्थ्यको ख्याल गर्नुपर्छ।  

कस्तो हुनुपर्छ आहार?

खाना कुनै धर्म, संस्कृतिका लागि होइन, शरीररूपी मेसिनका लागि इन्धन हो। यसर्थ हामीले लिने यस्तो हुनुपर्छ :  

१. चाँडै पच्ने र शरीरलाई ऊर्जा दिने। प्रशोधन नगरिएका वा कमभन्दा कम प्रशोधन गरिएका प्राकृतिक सुपाच्य आहार।  

कस्तो आहार पच्न सजिलो हुन्छ?

–चोकरसहितका पूर्ण अन्न  

–हरिया सागसब्जी  

–काँचो सलाद र फलफूल  

–बोक्रासहित खान मिल्ने कन्दमूल  

–टुसा उमारिएका गेडागुडी तथा अन्न  

२. पचाउन धेरै शक्ति खर्च गर्नपर्ने आहारले कम ऊर्जा दिन्छ र शरीरमा जडता ल्याउँछ।  

कस्तो आहार पच्न गाह्रो हुन्छ?

–सेतो मैदाबाट बनेका परिकार  

–मांसाहार, मिठाई, दुग्ध पदार्थ

–तारेभुटेका र धेरै मसला राखेर बनाइएका परिकार  

–जंक, प्याकेटजस्ता पत्रु खाना

–गर्मी गराउने परिकार, जस्तै : चिया, कफी, कोकाकोला आदि।  

–नशा दिने पदार्थ, जस्तै : रक्सी, चुरोट, सूर्ती आदि  

त्यसैले खाना त्यस्तो हुनुपर्छ, जसको सेवनपछि शरीरमा आलस्य र भारीपन होइन, ऊर्जा र स्फूर्ति प्राप्त होस्, शरीरलाई राम्रोसँग सञ्चालन गर्न सकोस् र खाइसकेपछि : 

–शरीरभित्र गएर राम्रोसँग पाचन हाेस्

–पाचन भएपछि शरीरले चाहिने रस सोस्न सक्नुपर्छ।

–रस लिएर रगतमा पठाएपछि पाचन भएर बाँकी मल हरेक दिन बाहिर निष्कासन हुनुपर्छ। त्यो काम २४ घण्टामा हुनुपर्छ। २४ घण्टामा त्यो काम हन्छ भने खाएको खाना सही भयो, भएन भने ठीक छैन भनेर बुझ्नुपर्छ।  

खाने उचित तरिका  

स्वस्थ रहन हामीले खाने खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, खनिज, फाइबर र पानी हुन जरुरी छ। तर हामीले पोषण दिने आहारलाई बढी प्राथमिकता दिने गरेका छौं। बुझ्नुपर्ने कुरा– खाना पोषणयुक्त हुनाका साथै सजिलै निष्कासन हुने पनि हुनुपर्छ। राम्रोसँग पाचन भई निष्कासन हुन दैनिक खाने खानामा प्रशस्त रेशा छोक्राबोक्रा हुनुपर्छ। यस्ता कुरा चोकरसहितका अन्न, सागब्जी र काँचो सलाद, फलमा प्रशस्त हुन्छ। अचेल हाम्रो खान्कीमा यस्ता खानेकुरा कम भएका छन्। तसर्थ हामीले दैनिक खानामा पकाएका र काँचो खान मिल्ने खाद्य मिलाउन सके मात्र पनि हामी स्वस्थ रहन सक्छौं।  

स्वस्थ रहन यी खाना कति र कसरी खाने भन्ने कुरामा प्रकृतिप्रेमी निरोगधामले सजिलो आहार सूत्र प्रस्तुत गरको छ, जसलाई ‘तीन बराबर आहार’ सूत्र भनिन्छ।

तीन बराबर आहार

एक भाग चोकरसहितका पूर्ण अन्नबाट पकाइएका खाना (३३ प्रतिशत) : ब्राउन राइस, चोकरसहितको रोटी, ढिँडो आदि।

एक भाग हरियो तरकारी (३३ प्रतिशत) : हरियो भन्नेबित्तिकै पात भएका मात्र होइन, हरियो देखिने सबै तरकारी, जस्तै : परवल, हरियो सिमी, बोडी, ब्रोकाउली, हरियो प्याज, घिरौला, पाटे घिरौंला आदि।  

एक भाग काँचो सलाद फलहरू (३३ प्रतिशत) : गाजर, काँक्रा, बन्दा र सबै फल। फलफूलमा केरा र आँपलाई भने सलादका रूपमा लिन मिल्दैन। यी फलमा कार्बोहाइड्रेटकाे मात्रा बढी हुने भएकाले खानाकै काम गर्छन्।  

यी तीन थरी खानाको बरोबर मिश्रण नै तीन बराबर आहार हो। यसरी तीन थरी बराबर खाँदा पाचन, सोसन र निष्कासन सजिलो हुन्छ। बिहान पेट सफा हुन्छ, पेट सफा भएपछि टाउको पनि सफा हुन्छ र निद्रा राम्रो पर्छ, जसले गर्दा मानसिक अवस्था ठीक हुन्छ, कार्यक्षमता बढ्छ।  

दसैंमा वा अन्य समयमा पनि यी आहार खाँदा धेरै चिल्लो र मरमसला हालेर, तारेर, भुटेर, धेरै बासी राखेर नखाऔं। ठीक तरीकाले पकाएर स्वास्थ्यको अवस्था हेरी ठीक मात्रामा खाने गरौं। यी आहार खाँदा ३ बराबर आहारभित्र अन्नको १० प्रतिशत लिन सकिन्छ। यसरी मिलाएर ठीक मात्रामा लिँदा यसबाट हुने हानि कम हुन्छ। 

तसर्थ हामीले दैनिक खानामा सकेसम्म यी तीन थरी बराबर समावेश गर्नुपर्छ। तीन बराबर आहारलाई शरीरको अवस्था र समस्या हेरी ४ वा ५ बराबरसम्म मिलाएर खान सकिन्छ। तौल बढी भएका मानिसले ४ बराबर आहार, जसमा अन्नको भाग २० देखि २५ प्रतिशत घटाएर हरिया तरकारी दुई थरी (पात भएको वर्गबाट १ कचौरा र पात नभएका हरिया तरकारी वर्ग मिसाएर १ कचौरा) गरी लगभग ३०० ग्राम र अन्तमा १५० देखि २०० ग्रामसम्म सलाद लिने। यसरी मिलाएर खाँदा बढी भएको तौल हप्तामा १ किलो सजिलै घट्न सहयोग पुग्छ।

दसैंमा कसरी खानपान गर्ने?

दसैंमा होस् वा अन्य बेला, खानपान सधैं स्वस्थ हुनुपर्छ। रमाइलो र स्वादका लागि खाइएको खाना, जीवनभर समस्या निम्त्याउने नहोस्। त्यसैले दसैंमा पनि सम्भव भएसम्म तीन बराबर खाना मिलाएर खाँदा तीव्र रोगदेखि जीर्ण/दीर्घ रोगसम्मबाट बच्न सकिन्छ। दसैंमा पोषिलो र भारी खानेकुरा मांसाहार र मिठाइ बढी प्रयोग हुन्छन्। यी आहार किन्दा हरिया सगसब्जी र फलफूल, सलाद पनि प्रशस्त किन्ने गरौं र भान्छामा सागसब्जी र सलादलाई प्राथमिकता दिने गरौं, जसले पाचन राम्रो हुन सहयोग गर्छन्।

माछामासु, अन्डा, दुग्ध पदार्थ 

प्रोटिन प्राप्तिका लागि माछा, मासु, अन्डा दुग्ध पदार्थ खाने गरिन्छ। पाचन प्रकृति हेर्दा मानिस शाकाहारी हुनुपर्ने हाे। तर पोषणका लागि धेरै पहिलेदेखि नै लिने गरिएकाे मांसाहार खाँदा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। अहिले हाम्रो समाजमा यी खानाको बढी प्रयोग हुने हुँदा सब्जी, सलाद कम हुने गरेका छन्। दसैंमा त झन् यी आहारकै परिकार बढी हुन्छन्। यी आहारमा पाचनका लागि चाहिने छोक्राबोक्रा हुँदैन र कब्जियत हुन्छ।  

अब मनमा लाग्न सक्छ- यी आहार कति लिन सकिन्छ? त्यसका लागि आफ्नो शरीरलाई मापदण्ड बनाएर, आफ्नो पाचन क्षमता हेरेर प्रयोग गरौं।  

–दसैंमा वा अन्य समयमा पनि यी आहार खाँदा धेरै चिल्लो र मरमसला हालेर, तारेर, भुटेर, धेरै बासी राखेर नखाऔं। ठीक तरीकाले पकाएर स्वास्थ्यको अवस्था हेरी ठीक मात्रामा खाने गरौं। यी आहार खाँदा ३ बराबर आहारभित्र अन्नको १० प्रतिशत लिन सकिन्छ। यसरी मिलाएर ठीक मात्रामा लिँदा यसबाट हुने हानि कम हुन्छ। तर जीवन निर्वाहका लागि यी आहार खानैपर्छ भन्ने छैन। खानैपरे अनिवार्य प्रशस्त सागसब्जी र सलाद सेवन गर्नुपर्छ, जसले पाचनमा सहयोग पुग्छ। तर स्वास्थ्य समस्या, जस्तै ः बाथ, मुटुरोग, हाडजोर्नी दुख्ने समस्या, सुगर, प्रेसर, दमलगायत अन्य समस्या भएका व्यक्तिले भने यी आहार नलिनै बेस हुन्छ। स्वास्थ्य अवस्था ठीक भएकाले पनि यी आहार दैनिक भने प्रयोग गर्न हुँदैन।  

टुसा उमारिएका गेडागुडी र अन्न  

पोषणका लागि मांसाहार नै हुनुपर्छ भन्ने छैन। यसका लागि टुसा उमारेका दाल, गेडागुडी, अन्न र सुक्खा फल प्रयोग गर्न सकिन्छ।  

दसैंमा यसै पनि अन्नको टुसा उमारेर जमरा कान र शिरमा लगाउने चलन छँदै छ। तसर्थ दसैंमा जमरासँगै दाल, गेडागुडी, जस्तै : चना, मुङ, मेठी आदि र अनाजलाई टुसा उमारेर, परिकार बनाई खान सकिन्छ। टुसा उमारिएका गेडागुडी र अनाजमा प्रोटिनका साथै प्रशस्त रेशा छोक्राबोक्रा हुन्छ, जसले पाचन पनि राम्रो हुन्छ र स्वस्थ पनि भइन्छ। टुसा उमारिएका अनाजका धेरै परिकार बनाएर खान सकिन्छ। यसलाई बफाएर, झोल बनाएर र काँचै पनि खान सकिन्छ। तसर्थ दसैंमा टुसा उमारिएका गेडागुडी र अनाजका परिकार बनाऔं।    

पानी

गर्मीमा– दिनको ३ देखि ४ लिटरसम्म पानी पिउने  

जाडोमा– दिनको साढे २ देखि ३ लिटरसम्म पिउने

पिउने सही विधि  

–बिहान उठ्नेबित्तिकै ३–४ गिलास अर्थात् करिब एक लिटर मनतातो पानी पिउने। यसले मल निष्कासन हुन सहयोग गर्छ।  

–कुनैपनि ठोस आहार (खाना–खाजा) सँग पानी वा धेरै तरल पदार्थ नलिने। अगाडि पछाडि एक–एक घण्टाको फरक गर्ने।

–दिनमा प्रतिघण्टा १–१ गिलास पिउने, बेलुकी ५ वा ६ बजेसम्म पिउने।  

–बेलुकी सुत्ने बेला १ गिलास मनतातो पानी पिउने।  

बेलुका पानी पिउँदा धेरै पिसाब हुन्छ भने शरीरको अवस्था हेरी पिउने आधा वा १ गिलास। तर उचित खानापान मिलाएर पानी पिउँदा बेलुकी पिसाब पनि गर्नुपर्ने हुँदैन।

पोषणका लागि मांसाहार नै हुनुपर्छ भन्ने छैन। यसका लागि टुसा उमारेका दाल, गेडागुडी, अन्न र सुक्खा फल प्रयोग गर्न सकिन्छ।  

व्यायाम

स्वस्थ रहन खाना उचित हुुुनाका साथै व्यायाम पनि अनिवार्य गर्नुपर्छ। दसैंमा त झन् आराम बढी हुन्छ। त्यसैले शरीरका सम्पूर्ण जोर्नीको सञ्चालन र लचकता गराउने व्यायाम हुनुपर्छ। टाउकोदेखि खुट्टासम्मका व्यायाम, कम्मरका व्यायाम समेटेर गनुपर्छ। त्यसका लागि योगासन गर्नु राम्रो हुन्छ। त्यसैगरी बिहान हिँड्न सकिन्छ भने अन्य व्यायाम पनि गर्न सकिन्छ। शरीरका लागि २४ घण्टामा एक घण्टा पसिना निस्कने गरी व्यायाम आवश्यक पर्छ।  

कस्तो विचार गर्ने?  

–आफ्ना कारण कसैलाई हानि नहोस् र सबैको कल्याण होस् भन्ने विचार राख्नुपर्छ।

–रिस, लोभ, डाहा, ईर्ष्या नगर्ने।  

–परिवार, साथीभाइ, छरछिमेकबीच सरसल्लाह हुनुपर्छ। कहिल्यै विवाद नगर्ने।

–कुनै पनि हालतमा नआत्तिने, नडराउने, नरिसाउने, चिन्ता नलिने।  

–सबैभन्दा बुझ्नुपर्ने कुरा एकले अर्कालाई सहयोग नगरी समाज चल्दैन, त्यसैले सबैप्रति कृतज्ञ, प्रेम र सम्मानको भाव राख्नुपर्छ।  

यसरी विचार गरेमा मन हल्का हुन्छ, दुःख हुँदैन, आनन्द नै आनन्द हुन्छ र रोग नै हुँदैन।  

अहिले भोजनबारे समाजमा धेरैले धेरै तरिकाले कुरा गर्छन्, तर भोजनको मुख्य रूप भनेको यो शरीर सञ्चालनका लागि इन्धन नै हो।  

तसर्थ हामी सही तरिकाले शरीरमा इन्धन राख्छौं भने यसले सही रूपले काम गर्छ, शरीर हल्का र स्वस्थ हुन्छ।

स्वस्थ रहन खाना उचित हुुुनाका साथै व्यायाम पनि अनिवार्य गर्नुपर्छ। दसैंमा त झन् आराम बढी हुन्छ। त्यसैले शरीरका सम्पूर्ण जोर्नीको सञ्चालन र लचकता गराउने व्यायाम हुनुपर्छ। टाउकोदेखि खुट्टासम्मका व्यायाम, कम्मरका व्यायाम समेटेर गनुपर्छ। त्यसका लागि योगासन गर्नु राम्रो हुन्छ।

तर हामी गलत तरिकाले शरीरमा इन्धन राख्छौं भने शरीरले पनि त्यही रूपले काम चलाउँछ, जसले गर्दा शरीरमा जडता हुन्छ, कुनै ऊर्जा हुँदैन र समस्या हुन्छ।  

सामान्यतः स्वस्थ रहन तीन बराबर आहार उपयुक्त छ। तर खाना कसरी खाने, के– के मिलाएर खाने, कति खाने भन्ने कुरालाई भने आफ्नो शरीरलाई मापदण्ड बनाएर शरीरमा प्रयोग गरेर हेर्दा सही खानपानले शरीरमा के असर गर्छ र गलत खानपानले के त्यो शरीर आफैंले बोल्छ।

तसर्थ हामीले खाएको खानाले :  

१. शरीरमा भारीपन आउनु भएन।  

२. शरीर मोटाउनु भएन अर्थात् उचाइअनुसार तौल ठीक हुनुपर्छ।  

३. शरीरमा कुनै पनि रोग हुनु भएन र,

४. खाएको खाना २४ घण्टामा पची शरीरले आफ्ना लागि चाहिने रस सोसन गरेर बाँकी रहेको मल ठीक समयमा निष्कासन गर्न सक्नुपर्छ र शरीरलाई ऊर्जा दिनुपर्छ।  

ध्यान दिनुपर्ने कुरा

–खाना चपाईचपाई शान्त भएर खाने।

–एक खाना र अर्को खानाको अन्तर कम्तीमा ४ देखि ५ घण्टासम्म राख्ने। सामान्यतः भारी खाना खाएको ५ घण्टा, हल्का आहार फल÷सलाद खाएको ३ घण्टा र पानी पिएको १ घण्टा अन्तरमा खाने।  

–बीचबीचमा कुचुकुचु नखाने।  

–खानासँग पानी नपिउने। दसैंमा मदिरासँग मासु खाने चलन छ। यसरी खाँदा पाचनमा गडबडी भई समस्या आउँछ।  

–भारी खानेकुरा खाँदा खानामा प्रशस्त हरिया सागसब्जी र फलफूल अनिवार्य गर्ने। अनिवार्य व्यायाम गर्ने।

–बेलुकी भारी खानेकुरा नखाने। सुत्नु ३ घण्टाअगाडि खाना खाने।

अहिलेको अवस्थामा के गर्ने?  

चिसो बढेसँगै रुघा, खोकी, ज्वरो र श्वासपश्स्वासका समस्या बढ्दो छ। केरोना महामारीको हल्लाले झन् सबै आत्तिएका छन्। त्यसैले अहिलेको अवस्थामा हामीले गर्ने आहार, विहार र विचारमा सजग हुनुपर्छ।  

के नखाने?

चिसो बढाउने खालका खाना जस्तै ः दुग्ध पदार्थ, चिनी, मिठाई,  माछामासु, अन्डा, मैदाजन्य पदार्थ, बरफ, आइसक्रिम, फ्रिजमा राखिएका खानेकुरा, र्याल्लप्याल्ल परेका चिल्लोमा तारेभुटेका चिज, काँचो, चिसो, चिल्लो नखाने। तरकारीमा सेतो काउली, बन्दा, च्याउ, तोरीको साग, रामतोरीयाजस्ता चिसो गुणका नखाने।  

चिसो बढेसँगै रुघा, खोकी, ज्वरो र श्वासपश्स्वासका समस्या बढ्दो छ। केरोना महामारीको हल्लाले झन् सबै आत्तिएका छन्। त्यसैले अहिलेको अवस्थामा हामीले गर्ने आहार, विहार र विचारमा सजग हुनुपर्छ।  

के खाने ?  

तापक्रम बढाउने खाना ः कोदोको सुप वा रोटी बनाएर खाने। त्यस्तै छोकडा, किसमिस, खुर्पानीजस्ता सुक्खा फल पनि प्रयोग गर्न सकिन्छ। झोलिलो पदार्थ ज्वानुको सुप, तुलसी पत्ताको चिया, मह, कागती, अमला आदि प्रयोग गर्ने। तर यसको प्रयोग शरीरको अवस्था हेरेर दिनको एक, दुईपटक टाउको नदुख्ने गरी गर्नुपर्छ। ताजा तरकारीको सुप उपयुक्त हुन्छ।

के गर्ने?

अहिलेको अवस्थामा शरीरलाई चिसो नपार्ने, न्यानो लुगा लगाउने। छाती, घाँटी  निधारलाई न्यानो र तातो बनाउने।

पानी नियमित पिउने : पानी मनतातो हुनुपर्छ। यदि खोकी लागेको छ भने चिया जस्तै : तातो पानी पिउने। सरसफाइमा ध्यान दिने।

रुघा, खोकी लागेको अवस्थामा  

–हल्का आहार गर्ने। सके उपवास, रसाहार वा फलाहार गर्ने, नसके ताजा तरकारीको सुप वा जाउलो लिने। भारी खाना नखाने।

–छातीमा हातले अथवा रबर ब्यागले सेक्ने।

–तातो पानीको बाफ लिने। आराममा बस्ने।

–नआत्तिने, नडराउने। डराएमा आत्मबल कमजोर हुन्छ। रुघाखोकी उहिल्यैदेखि नै भइरहेको समस्या हो र यसलाई सजिलै निको पार्ने पनि गरिएको हो। त्यसैले यो समस्या हुनेबित्तिकै खान नहुने खानेकुरा नखाने र उचित आहार लिने गर्नुपर्छ, जिलै निको हुन्छ। सदा उचित आहार, विहार, विचार गरौं स्वस्थ रहौं।

अन्त्यमा,

हामीले आहारबारे कुनै पनि निजी धारणा, मत/मान्यता आदि बनाइरहनु पर्दैन। प्रकृतिले हामीलाई शरीर दिएको छ। आफ्नो शरीर हरेक मान्छेका लागि प्रत्यक्ष हुने विषय हो। यही शरीरलाई नै मापदण्ड र आधार बनाएर सबै काम गर्नुपर्छ।  किनभने प्रकृतिमा पहिल्यै उचित अनुचितको व्यवस्था छ।

तसर्थ हामी मांसाहारी हौं कि शाकाहारी भन्ने कुरामा कुनै दुविधामा पर्न जरुरी छैन र के खाने? कतिपटक खाने? कति थरी मिसाएर खाने भन्ने विषयमा पनि दुविधामा पर्नु पर्दैन। त्यसका लागि आफ्नो विवेक, ज्ञान प्रयोग गरी हेरौं र आफूसँग प्रत्यक्ष भएको ल्याब आफ्नो शरीरलाई मापदण्ड बनाऔं।

दसैंमा पनि आफ्नो शरीलाई मापदण्ड बनाएर खाने गरौं। सबै स्वस्थ रहौं निरोगी रहौं। सबैमा स्वस्थमय र प्रेममय दसैंको शुभकामना!  

(महर्जन उचित आहार, विहार र विचारका साथै योग प्रशिक्षक हुन्।)  

प्रकाशित: ८ कार्तिक २०७७ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App