१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रतिष्ठान कर्णालीवासीको आशाको केन्द्र

स्वास्थ्य उपचार र औषधि अभावका कारण अकालमा मृत्यु हुनु पर्ने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आशाको दियो बनेको छ । प्रतिष्ठानमा अहिले जटिल प्रकारको उपचार भइरहेको छ । दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीले जटिल प्रकारको अप्रेशन गर्छन् । स्वास्थ्य शिक्षा आर्जन गर्ने थलो समेत कर्णाली प्रतिष्ठान बनेको छ ।  

दसैंको शुभकामना संगै प्रतिष्ठानका शैक्षिक कार्यक्रम सार्वजनिक गर्दै शिक्षाध्यक्ष निरेश थापाले अब कर्णाली डाक्टर पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको अध्ययन अध्यापन गर्ने स्थानसम्म पुगेको बताए ।  

सरकारले ५ सीट स्नातकोत्तर तहको अध्यापनका लागि अनुमति दिएपछि कर्णाली प्रतिष्ठानले विश्व विद्यालयस्तरको मान्यता पाएको हो । आगामी शैक्षिक सत्रमा एमबीबीसको लागि तयारी भईरहेको  शिक्षाध्यक्ष डा. थापा बताउँछन् ।

२०७६ साल पुष १४ गते प्रधानमन्त्री तथा  कर्णाली प्रतिष्ठानका कुलपतिको अध्यक्षतामा बसेको बैठकबाट  एमडी जनरल प्राटिक्स एण्ड ईमरजन्सी मेडिसिन सिट ३, एमडी एनेष्थेसिया एण्ड क्रिटिकल केयर सिट १, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी सिट एकलगायतका कार्यक्रमहरु अनुमति प्राप्त भएको थियो । व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर ईन क्लिनिकल न्यूट्रेसन समेतको अध्यापन सञ्चालन हुने तयारी भइरहेको कर्णाली प्रतिष्ठानले जनाएको छ ।  

विसं.२०७१ देखि २०७६ सम्म २६४ जना विद्यार्थी आरक्षित सिटमा भर्ना भएका छन् । हालसम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, डिप्लोमा फार्मेसी, व्याचलर अब पब्लिक हेल्थ, व्याचलर अफ मिडवाफेरी अध्यापन गरेका हुुन् । जसमा स्टाफ नर्स २४० जना, हेल्थ असिष्टेन्ट १९२ जना रहेका छन् । प्रतिष्ठानले आगामी वर्षदेखि प्रमाणपत्र तहको कक्षा पढाउन कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा दिईसकेको जनाएको छ । अब प्रतिष्ठानले उच्च तहको अध्यापन गराउने तयारी थालेको हो ।  

शिक्षाध्यक्ष थापाले स्वास्थ्य शिक्षाको अभाव झेलिरहेको कर्णालीले स्वास्थ्य जनशक्ति उत्पादन गरेर देश भर परिचालन गर्ने सामाथ्र्य राखेको बताए । उनले भने,‘पहिले कर्णालीमा डाक्टर आउदैनथ्ये । अहिले कर्णाली यहाँ डक्टर उत्पादन गरेर बाहिरका जिल्ला पठाउँदैछ । पहिले सामान्य रुघाखोकी लाग्दा पनि रेफर हुनु पर्ने कर्णालीबासीले अहिले जटिल प्रकारको अप्रेशन गर्न कर्णालीमै आउनु पर्ने बातावरण बनेको छ । यो समग्र कर्णालीबासीका लागि सुखद पक्ष हो । ’

सुदुरका तीन जिल्ला बझाङ, बाजुरा र अछामसहित प्रतिष्ठानको जनशक्तिले कर्णालीभरी काम गर्न थालेको छ । कर्णालीमा चाहिने जनशक्ति कर्णालीमै उत्पादन भइरहेको संकेत दिइसकेको छ । यहाँ उत्पादित जनशक्ति देशका स्वास्थ्य संस्थामा काम गर्नेछन् । अन्तराष्ट्रिय स्तरको स्वास्थ्य संस्थासँग पनि सम्झौता भएको शिक्षाध्यक्ष थापा बताउँछन् ।  

कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले कोभिड १९ मा प्रतिष्ठानले आफ्नो क्षमता उत्कृष्ठ रुपमा पर्दशन गरेको बताउँछन् । पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने देखि विभिन्न जिल्लामा चिकित्सक पठाएर विशेषज्ञ सेवा शुरु गरेको छ । उनले भने,‘सबैले साथ दिए कर्णाली स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्योग बन्न सक्छ । यो उद्योगबाट दक्ष जनशक्ति उत्पादन भएर देशैभर पठाउन सकिनेछ । यो लक्ष हाँसिल गर्न टाढा छैन ।  ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पठनपाठन थाल्नको लागि  सरकारले मूल्याङ्कन समिति गठन गरेको छ । चिकित्सा शिक्षा आयोगले टोली गठन गरेर प्रक्रिया अगाडि बढाएको छ ।  मुल्यांकनका लागि सो टोली  कर्णाली आउन आतुर भएको प्रतिष्ठानले जनाएको छ ।

कर्णाली प्रतिष्ठानमा एमबीबीएस, एमडिएमएस पठनपाठनका लागि ६२ जना विज्ञ तयार भइसकेका छन् । ५२ जना मेडिसिन, वेसिक साईन्स, पब्लिक हेल्थ र फार्मेसी र ७ जना नर्सिङ मिडवाईफेरी, प्रोफेसर एक जना, एशोसिएट प्रोफेसर ८ जना, एशिष्टेन्ट प्रोफेसर १८ जना, लेक्चर १५ जना, एशोसिएट प्रोफेसर, ७ जना नर्सिङ लेक्चर रहेका छन् ।

प्रतिष्ठानले ३ सय सैयाको अस्पताल सञ्चालन गरिरहेको छ । सरकारले पाँच सय शैयाको लागि ७ करोड रकम विनियोजन गरिसकेको शिक्षाध्यक्ष थापा बताउँछन् । कर्णाली प्रतिष्ठानले नौ वर्षको कार्यकालमा निकै ठुलो फड्को मारेको छ । प्रतिष्ठानका विशेषज्ञ चिकित्सक सूर्यमान लिम्बु कर्णाली प्रतिष्ठानले संकटमा पनि ठूलो सेवा दिईरहेको बताउँछन् । कोभिड १९ बाट जोगिन स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थय सेवा प्रदान गरिरहेको छ । साथै स्वास्थ्य सेवा र स्वास्थ्यका क्षेत्रमा अनुसन्धान गरिरहेको छ । कर्णालीको स्वास्थ्य सेवा र शिक्षाको अनुसन्धानको अध्ययन शुरु गरिरहेको शिक्षाध्यक्ष थापा बताउँछन् ।

जनरल अफ कर्णाली एकाडेमी अफ हेल्थ साईन्स चौमासिक रुपमा प्रकाशन भईरहेको छ । प्रतिष्ठानले आठ बर्ष अघि नै ‘एक डाक्टर, एक संस्था’को अवधारणा अघि सारेको थियो । सोही बमोजिम कार्य अघि बढिरहेको शिक्षाध्यक्ष थापा बताउँछन् ।  

कर्णालीमा स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि सबैले सहयोग गरिरहेको उनले बताए । डा. थापाले भने,‘स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनका लागि कर्णाली क्षेत्र हब नै बन्नेवाला छ । यसका लागि सर्वपक्षीय र सर्वदलिय सहयोगको खाँचो छ । हाल सम्मको सहयोगले प्रतिष्ठान यो स्थानसम्म पुगेको छ ।’

प्रकाशित: ६ कार्तिक २०७७ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App