७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अब ३ महिनाभित्र कोरोना खोप तयार हुन सक्छ : डब्लुएचओ

फाइल तस्बिर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अबको ३ महिनाभित्र अर्थात् सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार हुन सक्ने बताएको छ।  

रोयटर्सका अनुसार मंगलबार डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहनम गेब्रियससले यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा व्यक्त गरेका हुन्। 

बुधबार अक्टोबर ७ तारिख भइसकेको छ। यस हिसाबले सन् २०२० अन्त्य हुन ३ महिनाभन्दा कम समय छ। 

यस्तै डा. टेड्रोसले खोप उपलब्ध भएमा समान वितरण गर्न विश्वभरका नेताले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको जानकारी पनि दिएका छन्।  

कोरोनाविरुद्धको खोप बनाउन डब्लुएचओले कोभ्याक्स कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप वितरण गर्ने लक्ष्य राखिएको छ।  

कोरोनाविरुद्ध अहिले धेरै देशमा धमाधम खोप विकास भइरहेका छन्। तीमध्ये धेरै खोप अन्तिम चरणको परीक्षणमा छन्।  

रुसले तेस्रो चरणको परीक्षण नगरीकनै विश्वको पहिलो सफल खोप आफूले बनाएको घोषणा गरिसकेको छ भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको केही साताभित्र अमेरिकी कम्पनीले विकास गरेको खोप तयार हुने दाबी गरेका छन्। 

चीनले त तेस्रो चरणको परीक्षण चलिरहेकै बेला आपतकालीन प्रयोगका रूपमा खाेप आफ्नो देशका नागरिकलाई लगाउन थालिसकेको छ।  

प्रकाशित: २१ आश्विन २०७७ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App