coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

४६ प्रतिशत सक्रिय संक्रमित उपत्यकामा

उपत्यकामा ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण

शनिबार सार्वजनिका गरिएको रिपोर्टअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरका ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। देशभरिमा १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौं उपत्यकामा मात्रै करिब ६० प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार उपत्यकामा कुल संक्रमितको संख्या १५ हजार ८ सय ४९ पुगेको छ। तीमध्ये काठमाडौंका १३ हजार १४, ललितपुरका १ हजार ४ सय ८४ र भक्तपुरका १ हजार ३ सय ५१ जना छन्। उपत्यकामा मात्र ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित उपचाररत छन्। तीमध्ये काठमाडौंमा ६ हजार ६ सय ६ जना, भक्तपुरमा ६ सय ६५ जना र ललितपुरमा ५ सय ८४ जना छन्। उपत्यकामा ७ हजार ९ सय ९४ जना निको भएर घर फर्केका छन्।

पछिल्लो एक साताको तथ्यांक हेर्दा उपत्यकामा कोरोनाको अवस्था भयावय हँुदै गएको छ। उपत्यकामा असोज १ गतेदेखि पूर्ण रूपमा बजार खुलेको छ भने यातायातको चाप पनि बढेको छ। यसले झनै कोरोना संक्रमण फैलाउने खतरा बढेको छ। पछिल्लो समय तीव्र गतिमा कोराना संक्रमण फैलिएको तथ्यांकले देखाउँछ। पछिल्लो एक सातामा नेपालमा ९ हजार ६ सय ७७ जना संक्रमित थपिए, जसमध्ये उपत्यकामा मात्रै ३ हजार ९ सय ९९ जना छन्। सोही अवधिमा ७ हजार ७ सय ४३ जना डिस्चार्ज भएका छन् भने ६५ जनाको मृत्यु भएको छ।

शनिबार सार्वजनिक भएको तथ्यांक जोड्दा उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार ८ सय ४९ पुगेको छ। जसमध्ये काठमाडौंमा १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ छन्। महाशाखाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ भने ४५ हजार २ सय ६७ जना निको भइसकेका छन्। कुल संक्रमितको २५ प्रतिशत संक्रमित उपत्यकाका छन्। अहिले देशभरिमा १७ हजार १ सय २९ जना सक्रिय संक्रमित छन्। तीमध्ये उपत्यकामा मात्र ७ हजार ८ सय ५५ जना छन्। यो कुल सक्रिय संक्रमितको झन्डै ४६ प्रतिशत हो।

शुक्रबार उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिए। तीमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ र भक्तपुरका ८२ जनालाई कोरोना पुष्टि भएको छ। बिहीबार काठमाडौंमा ५ सय ७ , भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी उपत्यकाभरिमा ६ सय १८ जना कोरोना संक्रमित थपिए। बुधबार उपत्यकामा ७ सय ३७ जना कोरोना संक्रमित थपिँदा काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना थिए। मंगलबार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी उपत्यकामा ६७६ कोरोना भाइरस संक्रमित थपिए। सोमबार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी ५१२ संक्रमित थपिए। आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थिए।

उपत्यकामा मात्रै ६ सय बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा बढी देखिन थालेको छ। संक्रमणको उपचारमा अग्रपंक्तिमा रहेर खटिनुपर्नेभएकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६ सय भन्दा बढीमा संक्रमण देखिएको छ। सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका १ सय ५० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। त्यस्तै वीर अस्पतालमा १ सय १५ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठजनामा संक्रमण देखिएको छ।

थप ११ जनाको मृत्यु

कोरोनाका कारण नेपालमा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार शनिबार मृत्यु हुनेमा सात महिला र चार पुरुष छन्। मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरका ७६ र ६८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीया महिला र मकवानपुरकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ललितपुरका ६० वर्षका पुरुष, काठमाडौंका ७५ वर्षीय पुरुष, रुपन्देहीका ६९ र बाँकेका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। शनिबार मृत्यु भएकामा उपत्यकमा मात्र पाँचजना रहेको स्वास्थ्य मन्त्रालयलयले जनाएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ।

प्रकाशित: ४ आश्विन २०७७ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App