८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै

चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । चन्दननाथ नगरपालिका रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको हो । तर डा.केसीले अस्पताल जान मानेका छैनन् । चिकित्सकका अनुसार डा.केसीको शरीरमा अक्सिजन र पिसाबको मात्रा घट्दै गएको छ ।

डा.केसीको नियमित स्वास्थ्य जाँच गरिरहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविण गिरीका अनुसार केसीको रक्तचापसमेत घटिरहेको छ । ‘संक्रमणको जोखिम भएकाले सत्याग्रह बसेको ठाउँमा भ्यान ओपन गरेर स्लाइन लगाउन सकिएको छैन् । ‘तर उहाँ अस्पताल जान मान्नु हुन्न ।’ डा. केसीले पाँचौ दिन शुक्रवारको जाँचमा सुगरको परीक्षण गर्न मान्नु भएन, उनले थपे ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी सोमबारदेखि मन्दिरमा अनशन बसेका छन् ।  सत्याग्रहको  समर्थनमा शुक्रबारदेखि नागरिक समाजले पनि हस्ताक्षर अभियान थालेको छ । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम तत्काल सुरु गर्नुपर्ने डा. केसीको माग जायज छ,’ नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, ‘माग पूरा नहुञ्जेल हस्ताक्षरसहित दबाबका कामहरु रोक्दैनौँ । डा. केसीको माग संवोधन गरेर सत्याग्रह रोक्ने बातावरण बनाउनुपर्छ ।’ बाविरामष्ट मन्दिर र चन्दननाथ ५ खलंगा बजारको कृष्ण मन्दिरमा ब्यानर राखेर हस्ताक्षर अभियान थालिएको हो । संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइने तयारी भइरहेको छ ।  

सरकारले तत्काल मागको सम्बोधन नगरे जुम्ली जनता सडकमा उत्रिने युवा जागरण अभियानका कर्णाली प्रदेश संयोजक लालबहादुर जिसी बताउँछन् । ‘हामी आफै सत्याग्रह बस्नुपर्ने हो,’ डा. साप आएर कर्णालीको मागका लागि सत्याग्रह बसेर जीवन समपर्ण गरिरहनु भएको छ ।’ डा. केसीको जीवनरक्षाका लागि जस्तोसुकै कदम लिन तयार भएको प्रतिक्रिया दिए ।  

नयाँ शक्ति पार्टी कर्णाली प्रदेश समितिले पनि डा.केसीको सत्याग्रहका विषयमा सुर्खेतका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर वुढाले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन । केसीले उठाएका माग कर्णालीको हितमा रहेको भन्दै माग पूरा गरी जीवनरक्षा गर्न सरकारसँग माग गरिएको बुढाले बताए ।

प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन् । २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ ।

डा.केसीले भने, ‘मेडिकल माफियाको अन्त्य र गरिब जनताको छोराछोरीले डाक्टरी पढ्न पाउने एजेण्डासहित पवित्र बाविरामष्टो मन्दिरमा सत्याग्रहमा बसेको हुँ ।’ डा. केसीले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन् ।

डा. केसीको अनशनप्रति जुम्लाका मुगाली समुदायले समर्थन जनाएका छन् । ‘डा.केसीका मागहरु जायज छन्, हाम्रो अधिकारका लागि उहाँ लडिरहनुभएको छ,’ समुदायका अगुवा महेन्द्र कार्कीले भने, ‘आवश्यक परे हामी पनि सडकमा आउन तयार छौं ।’ डा.केसीको मागको सम्बोधन गर्न माग गर्दै युथ कांग्रेस, जुम्ला र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कर्णालीजस्तो दुर्गम ठाउँमा डाक्टरी पढाइ गरिनुपर्ने कर्णालीबासीको माग डा. केसीले गरिरहेको स्थानीय विद्यार्थी अनिल थापाले बताए । ‘हामी आफैं अनशन बस्नुपर्ने हो,’ उनले भने, ‘उहाँ अनशन बसेपछि केसीको जीवनरक्षाका लागि जस्तोसुकै कदम लिन पनि हामी तयार छौं ।’ केसीका माग समयमै पूरा गर्न सरकार तयार नभए युवाहरु आन्दोलनमा उत्रिने स्थानीय प्रज्वल महतले बताए ।

प्रकाशित: २ आश्विन २०७७ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App