१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

काेराेना संक्रमण र मृत्युदर दुबै बढ्ने आँकलन

कोरोना संक्रमण र मृत्युदर थप बढ्न सक्ने विज्ञहरूले औल्याएका छन्। पछिल्लो केही दिन निरन्तर बढिरहेको संक्रमणदर अझै र मृत्युदर पनि थप बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

दैनिक परीक्षण गरिएका नमूना मध्येमा ३६ प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको राष्ट्रिय शुक्रराज तथा सरुवा रोग अस्पतालको तथ्याकं छ। ‘हरेक तीन जनामा एक जनामा कोरोना पुष्टि भएको देखिन्छ’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने।

कोरोना फैलिरहेको भारत र  अन्तराष्ट्रिय उडानबाट  नेपाल भित्रिने क्रम जारी रहेको स्थितिमा कोरोना नियन्त्रण हुने स्थिति नरहेको  राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए।  

हरेक व्यक्तिले जनस्वास्थ्यको मापदण्ड पालना नगरेका कारण कोरोना संक्रमण फैलिने थप बढ्ने स्थिति रहेको मन्त्रलयका प्रवक्ता डा. गौतमले बताए। संक्रमण दरकै अनुपातमा मृत्यु पनि बढ्ने स्थिति रहेको उनको भनाइ छ। ‘सरकारले ६ महिनादेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिरहयो, जुलुस, बैठक गर्ने काम रोकिएन, सावधानी अपनाइएन’ उनले भने।  

उपत्यकामा जनसंख्या अन्य सहरको तुलनामा धेरै भएकोले पनि संक्रमण र मृत्युदर दुबै धेरै भएको गौतमको भनाइ छ। उनकाअनुसार उपत्यकामा उच्चरक्तचाप, मधुमेह र दमका रोगी बढी भएको, बृद्ध उमेर समूहको जनसंख्या पनि बढी भएकोले पनि यो समूहको मृत्यु बढी हुन गएको हो।  

संक्रमण र मृत्युदर बढेसंगै सरकारले अब लक्षण भएकाहरुको मात्र परीक्षण गर्ने र उपचार गर्ने नीति लिएको पाण्डेले जानकारी दिए। ‘हामीले अब लक्षण नभएका भन्दा लक्षण भएका बिरामी मात्र व्यवस्थापन गर्न सक्ने स्थितिमा पुगेका छौं’ आइसियुमा भएका बिरामीलाई कसरी उपचार गर्ने अबको ध्यान त्यता केन्द्रित हुँदैछ’  उनले भने।  

उपत्यकामा संक्रमण तिब्र रुपमा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यान गम्भिर बिरामीको व्यवस्थापनतिर बढेको डा.पाण्डेले बताए । ‘सरकारको ध्यान अब लक्षण नभएकाहरुको व्यवस्थापनमा भन्दा लक्षण भएकाहरुलाई कसरी आइसियु तथा अन्य सेवा दिने भन्नेमा छ’ उनले भने।  

कोरोनाको जोखिम बीचमै सरकारले लकडाउन खोलेकोले अहिलेको भन्दा कडा सुरक्षाका मापदण्ड अपनाएर मात्र दैनिक काममा जानको लागि मन्त्रालयले सुझाएको छ। मन्त्रालयका अनुसार निम्न सुरक्षाका मापदण्ड अपनाउनु पर्नेछ।  

कसरी सुरक्षित हुने ?

– घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने,  

– कार्यालयमा रहेका टेबुल कुर्सीको पटक–पटक निसंक्रमण गर्ने,

– काम गर्ने कोठाको झ्याल ढोका खुल्ला राख्ने र हावा ओहोर–दोहोर गर्ने  

– कार्यालयमा भेट्न आउने आगन्तुकलाई दुई मीटर टाढाबाट भेट्ने  

– बेला– बेलामा सावुन पानीले हात धुने

– कार्यालयबाट घर जाँदा हात धोएर मात्र जाने  

– सार्वजनिक यातायातमा चढ्दा भौतिक दुरी र सफाइको मापदण्ड कायम गर्ने  

– घर पुगेपछि लुगा फेरेर र हात धोएर मात्र भित्र पस्ने 

प्रकाशित: १ आश्विन २०७७ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App