७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वास्थ्य संस्थाहरु नै संक्रमणको केन्द्र बन्ने खतरा

लुम्बिनी  प्रादेशिक अस्तपाल बुटवलको एनआइसीयु सेवा गत मंगलबारदेखि शुक्रबारसम्म बन्द रह्यो। एनआइसीयुमा कार्यरत ५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोराना संक्रमण देखिएपछि निर्मलीकरणका लागि ४ दिन सेवा बन्द गरीएको हो। अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले शुक्रबारदेखि सो सेवा सुचारु भएको बताए।  

एनआइसीयु खुले पनि सेवा प्रवाहमा भने समस्या भइरहेको अस्पतालकै एक जना नर्सले बताइन्। ‘पर्याप्त जनशक्ति नभएका बेला एउटा डिपार्टका स्वास्थ्यकर्मीहरु संक्रमित हुँदा त्यसले अन्य डिपार्टलाइ पनि प्रभाव पार्छ’ ती नर्सले भनीन्। अहिले सम्म यो अस्पतालमा कार्यरत ३२ जनालाइ संक्रमण देखिएको छ।  

केही समयअघि बाँकेको भेरी अस्पतालका हाडजोर्नी विशेषज्ञलाई संक्रमण भएपछि झण्डै तीन साता सो सेवा ठप्प जस्तै भयो। अस्पतालका हाडजोर्नी विशेषज्ञ, फिजिसियन,प्रमुख कन्सल्टेन्ट,कोरोना फोकल पर्सन डाक्टरसहित ३० जना स्वास्थ्यकर्मीलाई सक्रमण देखिएको थियो। बाँकेमा नेपालगञ्ज मेडिकल कलेजका ४२ जना, नर्सीङहोमका ३२ जना, नेपालगञ्ज नगरपालिका भित्र १२ जना स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिइसकेको छ। चिकित्सक नर्सहरु नै संक्रमित हुँदा सेवा प्रवाहमा निकै समस्या भइरहेको सम्बन्धित अस्पताल प्रशासनले जनाएका छन्।

चिकित्सक नर्समा धमाधाम कोरोना संक्रमण देखिएपछि बुटवलकै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि केही समय अघि सेवा प्रभावित भयो। मुटु मिर्गौला जस्ता गम्भीर रोगका बिरामी त्यसको मारमा परे। यो अस्पतालका ३६ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। भैरहवाको युसीएमएस मेडिकल कलेजका ५२ जनालाई संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा कोभिड अस्पतालसँगै अधिकांश निजी अस्पतालहरुमा समेत चिकित्सक नर्स तथा कर्मचारीमा संक्रमण देखिएको छ।  

तीन साताअघि नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि करिब एक साता सेवा प्रभावित भयो। त्यस्तै अवस्था कपिलवस्तु, पाल्पा र अर्घाखाँची जिल्ला अस्पतालहरुले पनि भोगे। निसंक्रमिकरण र कन्ट्रयाक्ट ट्रेसिङका लागि केही दिन सेवा बन्द गरीयो। दरबन्दी नै पुरा नभएका अस्पतालका चिकित्सक नर्स नै आइसोलेसनमा बस्नु पर्दा सेवा प्रभावित भइरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।  

प्रदेश ५ मा स्वास्थ्यकर्मीहरुमा संक्रमण बढ्दै जाँदा स्वास्थ्य संस्थाहरु नै संक्रमणको केन्द्र बन्ने जोखिम बढेको छ। अस्पतालहरुलाई जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको छ। भने स्वास्थ्यकर्मीहरुकै मनोवलमा समेत यसले असर गरीरहेको जनस्वास्थ्य विदहरुको विश्लेषण छ।  

प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा २ सय २३ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। तीमध्ये आधा जसो संक्रमण मुक्त भइ काममा फर्केको र केही आइसोलेसनमै रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार जिल्लामा १५० भन्दा धेरै स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन्।  

उनका अनुसार तीमध्ये आधा जसो अहिले पनि आइसोलेसनमा छन्। कपिलवस्तुमा ३६ जना, दाङमा ३४, नवलपरासीमा १४, प्युठानमा १३, बर्दियामा ८, अर्घाखाँचीमा ४, पाल्पामा १२, गुल्मीमा २ र रोल्पामा १ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।

स्वास्थ्यकर्मीहरुलाई नै धमाधम संक्रमण देखिएपछि सर्वसाधारणले स्वास्थ्य सेवा लिन हिच्किचाएका घटना पनि छन्। रुपन्देही तिलौत्तमाकी एक गर्भवती महिलाले बुटवलको प्रादेशिक अस्पतालका डाक्टर, नर्स संक्रमित भएको सुनेपछि गर्भ जाँच गराउनै नगएको बताइन्। स्वास्थ्यकर्मीहरुबाटै आफू र आफ्नो बच्चालाई खतरा हुन सक्ने आशंका ती महिलाले व्यक्त गरीन्। बुटवलकै मुटु अस्पतलामा उपचार गराइरहेका तिलोत्तमाका एक मिर्गौला रोगीले अस्पतालमै  कोरोना पसेको भन्दै फलोअपमा जान डर लागेको बताए।  

डब्लुएचओका एक जना प्रतिनिधिले सरकारले जारी गरेको संक्रमण रोकथाम तथा नियन्त्रण निर्देशीकालाई पालना नगर्दा प्रदेश ५ का बिभिन्न अस्पतालहरु नै संक्रमणको केन्द्र बन्ने खतरा बढेको बताए। तीन महिनाअघि जारी भएको गाइडलाइनमा विशेषगरी इक्युपमेन्टहरुको निर्मलीकरण, फर्नीचर, स्टेथोसकोप, धर्मोमिटर जस्ता इक्युपमेन्टहरुलाई अनिर्वाय निसंक्रमिकरण गर्ने, मास्क, सेनिटाइजरको उचित प्रयोग, सामाजिक दूरीसंगै अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सरसफाइमा विशेष ध्यान दिन भनिएको छ। जुन कुरामा अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरु गम्भीर नदेखिएको ती अधिकारीले बताए। ‘अस्पतालहरुबाटै सर्वसाधारणलाई संक्रमण सर्ने सम्भावना देखिन्छ’ ती अधिकारीले भने।

तर स्वास्थ्यकर्मीहरु भने जनशक्ति अभाव, बिरामीको बढ्दो चाप, कोभिड र नन कोभिडका बिरामीलाई एउटै अस्पतालले सेवा दिनुपर्ने, बिरामीको पिसीआर टेष्ट नहुनु र पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नपाउँदा स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिमा परेको बताउँछन्। ‘स्वास्थ्यकर्मीहरुलाई पनि ज्यानको माया हुन्छ, जानाजान कसैले रोग निम्त्याउदैन’ बुटवलको कोरोना अस्पतालका डा. सुदर्शन थापाले भने। बुटवलको कोरोना अस्पतालले नथेग्दा लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनीक मै संक्रमतिको उपचार गरीएको र त्यसले स्वास्थ्यकर्मीसंगै अन्य बिरामीलाई समेत जोखिममा पारीरहेको डा. थापाले बताए।

दरबन्दी अनुरुपको जनशक्ति नभएका बेला चिकित्सक नर्सनै आइसोलेसनमा बस्नु परेपछि सेवा प्रवाहमा समस्या भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। कोभिड र नन कोभिडका बिरामीको उपचार अलगै गर्ने व्यवस्था हुनुपर्नेमा पनि उनले जोड दिए। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेश सरकारले छिट्टै नै कोभिड अस्पतालहरुमा जनशक्तिसंगै आइसोलेसन, आइसीयु र भेन्टिलेरका बेड थप गर्ने तयारी गरीरहेको पुरानै आश्वासन दोहोर्‍याए।

प्रकाशित: ३० भाद्र २०७७ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App