४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट बच्ने जिम्मा अब नागरिककै काँधमा : विज्ञ

सरकारले प्रतिबन्ध (निषेधाज्ञा) खुकुलो बनाएको भए पनि कोरोना संक्रमण फैलिने क्रम नघटेकाले अब नागरिक आफैं सतर्क हुनुपर्ने बेला आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन्।  

कोरोनाबाट संक्रमण तथा मृत्यु हुने क्रम कम नभए पनि जनजीवन सहज पार्न सरकारले गत बिहीबारदेखि काठमाडौं उपत्यकामा प्रतिबन्ध केही खुकुलो बनाएको हो।  

अब हरेक नागरिक आफैं सचेत हुनुपर्ने बेला आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्।  

घनावस्ती भएको काठमाडौंमा संक्रमण अझ बढ्ने सम्भावना रहेकाले सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्थामा संक्रमणबाट बच्न अपनाउनुपर्ने नियम पालना गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको सुझाव छ।  

तर संक्रमण भइहाले पनि एक प्रतिशतभन्दा कम बिरामीलाई मात्र अवस्था जानुपर्ने अवस्था आउने भएकाले धेरै नआत्तिन, होसियारी भने अपनाउन उनको आग्रह छ।  

मन्त्रालयको गुणस्तर तथा नियमन शाखाका प्रमुख डा. विकास देवकोटाले पनि सरकारले आफ्ना तर्फबाट गर्नुपर्ने तयारी पूरा गरेको जानकारी दिँदै अब संक्रमणबाट बच्न नागरिक आफैं बढी होसियार बन्नुपर्ने बेला आएको बताए। साथै सेवाप्रदायक निकायले पनि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड कडाइपूर्वक पालना गर्नुपर्ने उनको सुझाव छ।  

‘सरकारले आफ्नो तयारी पूरा गरिसकेको छ, अब जनस्वास्थ्य मापदण्ड कडाइपूर्वक पालना गरेर दैनिकी चलाउनुपर्छ,’ डा. देवकोटाले नागरिकसँग भने।  

मन्त्रालयका अनुसार तीन साता लकडाउनमा सरकारले प्रयोगशाला विस्तार, परीक्षणमा नयाँ प्रविधि, केही नयाँ औषधि÷उपचार, कोभिड अस्पताल व्यवस्थापनलगायत काम सरकारले पूरा गरेको छ।  

डा. देवकोटाका अनुसार रेस्टुराँ, अस्पताल, सपिङ मल, कार्यालयजस्ता सेवा प्रदायकलाई जनस्वास्थ्यका मापदण्ड पूरा गरेर सेवा प्रदान गर्न भनिसकेको छ। सधैं लकडाउन गरेर जनताको जीविका सम्भव नभएकाले सतर्कता अपनाउँदै बाँच्न सिक्नु अबको आवश्यकता रहेको उनको भनाइ छ।  

‘भीडभाड गर्नु भएन, आवश्यक काम परे मात्र घरबाट बाहिर निस्कनुप¥यो,’ उनले भने। साथै आफ्नो टोलमा भएका संक्रमितको निगरानी र कन्ट्याक्ट ट्रेसिङमा स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने डा. देवकोटाको सुझाव छ।  

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता,सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पनि सधैं लकडाउन गरेर सम्भव नहुने बताएकाले अब होसियारीसाथ कोभिडसँग जुध्ने बेला आएको बताए। ‘सधैं लकडाउन गर्दाको असर निम्न वर्ग र अन्य क्षेत्रको आर्थिक उत्पादनमा परेको छ, संक्रमणबाट बच्न सिकाइएका कुरा पालना गर्नुको विकल्प छैन,’ उनले भने।  

डा. बास्तोलाको अनुसार घरमा भएका दीर्घरोगी, वृद्धवृद्धालाई जोगाउने, उनीहरूलाई सकेसम्म घरबाट बाहिर निस्कन नदिनेजस्ता कुरामा बढी ध्यान दिनुपर्छ। साथै यो बेला पाहुना हुन जाने र बोलाउने दुवै काम पनि बन्द गर्नुपर्छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीका अनुसार भारतमा संक्रमण रहेसम्म नेपालमा पनि बढिरहने भएकाले त्यहाँबाट आउनेहरूलाई कि पिसिआर रिपोर्ट कि १४ दिन क्वारेनिटन अनिवार्य गराउनुपर्छ।  

त्यसैगरी रुघाखोकीकाका लक्षण देखिएका हरेकको परीक्षण गर्ने र कन्ट्याक्ट टे«सिङ प्रभावकारी बनाउन सके संक्रमण नियन्त्रण सम्भव हुने उनी बताउँछन्।  

सरकारले आफ्नो व्यवस्थापन पूरा गरिसकेको अवस्थामा अबको सर्वोपरि भूमिका नागरिककै हातमा रहेको डा.मरासिनीको भनाइ छ। ‘अब नागरिकले आफ्नो भूमिका निर्वाह गर्ने हो, सुरक्षाका तीनवटै मापदण्ड पालना गर्नुप¥यो,’ उनले भने।  

प्रकाशित: २९ भाद्र २०७७ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App