उनीहरूले औषधी उत्पादक कम्पनीदेखि सिफारिस गर्ने चिकित्सक, बजारीकरणकर्ता, बिक्रेतासमेत कमिसनको लोभमा फसेको र त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको टिप्पणी गरे। शनिबार राजधानीमा आयोजित नेपाल औषधी बिक्री प्रवन्धक संगठनको १२ औं साधारणसभामा उनीहरूले औषधी क्षेत्रभित्रको विकृति स्विकारेका हुन्।
नेपाल औषधी व्यवसायी संघका (एनसिडिए) अध्यक्ष बाबुराम भट्टराईले केही वर्षअघिसम्म औषधी व्यवसायी भन्दा सबैले सम्मानित नजरले हेर्ने गरेको तर अहिले कमिसनखोरका रूपमा हेर्ने गरेको सुनाए।
नेपाल औषधी व्यवस्था विभागका महानिर्देशक राधारमण प्रसादले उद्योगहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले जथाभावी औषधी प्रयोग बढ्दै गएको बताए।
बिक्रेताहरुको साझा संस्था एनसिडिएका अध्यक्ष उनले बिक्रेता त त्यसको सानो हिस्सामात्रै भएको बताए। 'चिकित्सकले औषधि लेख्नदेखि, चिकित्सकले लेखेको बाहेकका औषधि दिएर (ड्रग सप्सिच्युसन) गरेर उपभोक्तमाथि ठगी भइरहेको छ।' उनले भने।
औषधि उत्पादक संघका अध्यक्ष महेश गोर्खालीले औषधि क्षेत्रमा रहेको बिकृति अन्त्यका लागि इथिलक मार्केटिङमा जोड दिए। 'इथिक्सलाई केन्द्रमा रख्यो भने सबै सुधि्रएर जान्छ।' उनले भने। संघका पूर्व अध्यक्ष उमेश श्रेष्ठले औषधि क्षेत्रमा काम गर्नेहरुले कर्तव्य भुलेर यस्तो अवस्था आएको बताए।
चिकित्सक संघका महासचिव डा.भुपेन्द्र कुमार बस्नेतले चिकित्सकलाई इथिक्समा राख्न औषधि कम्पनीनै अग्रसर हुनुपर्ने बताए। उनले अन्य सुधारसँगै औषधिको मार्केटिङ पनि इथिकल हुँदै जाने बताए।
शनिबारै संगठनको साधारणसभाले भीमबहादुर ठकुल्लाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा दिपेन्द्र रेग्मी, महासचिवमा नेत्रनाथ पौडेल, सहमहासचिवमा सिताराम जोशी, कोषध्यक्षमा सुर्दशन जोशी, सहकोषाध्यक्षमा विकास दाहाललाई निर्वाचित गरेको छ। त्यसैगरी सदस्यहरुमा निश्मा बज्राचार्य, रामचन्द्र अर्याल, केपी चटौत, विनयप्रताप सिंह, राकेश अर्याल, जयन्त सिंह, भीम विष्ठ, अशोक कर्ण, मनोज न्यौपाने र नेत्रलाल गिरी छन्। संगठनको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुन्छ।
प्रकाशित: २० आश्विन २०६९ २२:१४ शनिबार





