१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

पाँच हजारमा मिर्गौलाको ढुंगो फुट्यो

चाँदनी हमाल, चितवन, असोज २१ - गोर्खाका पोहरा बोट (६४) को मिर्गौलामा पत्थरी बढ्न थालेको दुई वर्ष भयो। खर्च नभएकाले अपरेसन नगरी उनी सामान्य औषधीको भरमा बसे। सस्तोमा अपरेसन हुन्छ कि भनेर काठमाडौं गए पनि त्यहाँ ७० हजार लाग्ने भएपछि उनी उनी रोग पाल्न बाध्य भए।  

बल्ल चितवनस्थित भरतपुर मेडिकल कलेज अफ साइन्सेसमा उनले सुलभ उपचार पाए। उनले २५ हजार लाग्ने मिर्गौलाको पत्थरीको अपरेसन पाँच हजारमै गराए। 'परक्युटानियस नेफ्रोलिथोटोमी' नामक नयाँ प्रविधिमार्फत शनिबार डाक्टरहरूले सहजै अपरेसन गरे। डा. सन्तोष झाको टोलीले 'लिथ्रोटिप्सर' ले प्वाल पारेर मिर्गौलामा डल्लो बनेर बसेको ढुंगा फुटाएर झिक्यो।

'ल अनुजा, फुटेको पत्थरी निकाल,' डा. झा सहयोगी नर्सलाई भन्दै थिए। अनुजाले भित्र पानी पठाएर पखाल्दै पोहराको पत्थर निकालिन्। झन्डै आधा केजीको उनको पत्थरी मेसिनले फुटाएर निकाल्न करिब दुई घन्टा लाग्यो। शरीरको तल्लो भाग लठ्याएर अल्ट्रासाउन्ड जडान गरी अरूले समेत हेर्न मिल्ने गरी शल्यक्रिया गरियो।

पोहराजस्तै अरु सातजना बिरामी सेवा लिन पर्खिरहेका छन्। एक वर्षअघि सुरु भएको यो प्रविधिलाई आममानिसको पहुँचमा पुर्‍याउन भरतपुर मेडिकल कलेजमा शिविर राखेर सेवा दिइएको कलेजका युरोलोजिस्ट डा. निर्मल लामिछानेले बताए। नोबेल मेडिकल कलेज विराटनगरका डा. झा नेतृत्वको सातजनाको टोलीले मिर्गाैलाको पत्थरी निकालिरहेको छ। 'हाम्रो अस्पतालमा सेवा भए पनि दुई अस्पतालबीच अनुभव साटासाट गर्न तथा गुणस्तरीय सेवा दिन शिविर राखिएको हो,' लामिछानेले भने। शिविर आइतबारसम्म चल्नेछ। नयाँ प्रविधिअनुसार ठूलो घाउ नपारीकनै सानो प्वालबाट पत्थरी झिकिने भएकाले घाउ छिट्टै निको हुन्छ।

कतिपय बिरामीको पत्थरी निकाल्न बढी समय लागेको डा. अमन अग्रवालले बताए। उनले भने, 'सर्वसाधारणले पैसा नभएकै कारण उपचार गराउन सकेका छैनन्।' विभिन्न अस्पतालका चिकित्सकले समय-समयमा यस्तो सस्तोमा सेवा दिनसके बिरामीहरूलाई राहत हुने उनले सुनाए।

सरकारी अस्पतालमा पनि औषधी र उपचार महँगो भएकाले मिर्गाैलाको पत्थरीको अपरेसन सर्वसुलभ छैन। 'अपरेसनबाट सामान्य पत्थरी निकाल्दा १५ हजार खर्च हुन्छ, तर भरतपुर अस्पतालमा जटिल अपरेसनका लागि नयाँ प्रविधि छैन,' डा. भोजराज अधिकारी भन्छन्। चितवन मेडिकल कलेज, भरतपुर सामुदायिक अस्पताल लगायतमा यो सेवा छ।

प्रकाशित: २० आश्विन २०६९ २१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App