२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मृत्यु हुने अधिकांश दीर्घरोगी

कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश देखिएको छ । गत जेठ २४ गते कोरोना संक्रमणका कारण धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । ती महिला मिर्गाैलाकी बिरामी थिइन् । असार ३ मा लम्कीचुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । ती महिलालाई न्युरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । असार १३ गते कैलालीकै गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । ती पुरुष फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए । साउन २९ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका अछामका १८ वर्षीय पुरुष पनि मुटुरोगबाट ग्रसित थिए ।

गत जेठ १८ गते सुदूरपश्चिममा पहिलोपटक बाजुराकी दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । आमाबुवासँग भारतको नयाँ दिल्लीबाट आएकी ती बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । बालिकाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । आमामा समेत संक्रमण देखिए पनि बालिकालाई भने कडा खालको संक्रमणले च्यापेपछि मृत्यु भएको हो । उनीजस्तै कैलालीको गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषमा समेत अहिलेसम्म भेटिएका संक्रमितमध्ये कडा खालको लक्षण देखिएको थियो । निमोनिया भएपछि भेन्टिलेटरमा उपचार गराइरहेका पुरुषको मृत्यु भएको थियो ।

कोरोना विशेष अस्पताल तोकिएको सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितमध्ये अहिलेसम्म कडा संक्रमण भएका बिरामी गोदावरीका मृतक नै रहेको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड रोग उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले गोदावरीका मृतक पुरुषमा जस्तो अन्य बिरामीमा गम्भीर समस्या नदेखिएको बताए । उनले भने, ‘गोदावरीका पुरुषमा देखिएको कडा खालको संक्रमण देखिएको थियो, अन्यमा कडा खालको संक्रमण देखिएको थिएन ।’ बाजुरा र कैलालीमा कोरोना संक्रमणबाट मृत्यु भएका दुईजनाबाहेक अन्यमा गम्भीर खालका लक्षण देखा नपरेको बताइएको छ । उनीहरू केही न केही दीर्घ खालको रोगका बिरामी भएको देखिएको चिकित्सकहरू बताउँछन् ।

यसरी सुदूरपश्चिममा मृत्यु भएका अधिकांश संक्रमित दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । उनले भने, ‘रोगसँग लड्ने क्षमता कम भएका कारण दीर्घ।ोगीहरूको मृत्यु भएको देखिन्छ ।’ सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणपछि गम्भीर बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ । ‘प्रदेशमा कोरोनाको लक्षण देखिएर दुईजनाको मात्र मृत्यु भएको थियो भने अन्य मृतक दीर्घरोगी र कुनै न कुनै रोगबाट ग्रसित रहेको देखिन्छ,’ उनले भने ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App