१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितलाई मोटोपन खतरा

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ । मधुमेह, मुटु रोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड–१९ संक्रमितका लागि पनि खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन् । कोभिड–१९ उपचारमा संलग्न नेपाली चिकित्सकले मोटोपन बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने सुझाएका छन् । विशेषगरी लकडाउनका बेला व्यायामको कमी र घरमै बसेर खाना खाइरहँदा मोटोपन झन् बढेको तर्क उनीहरूको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमित र यसबाट मृत्यु भइसकेकामा मोटोपनको असरबारे प्रामाणिक अध्ययन भने भएको छैन । अत्यधिक संक्रमित युवा र आप्रवासी कामदार भएकाले मोटोपनको समस्या नदेखिए पनि महामारी समुदायमा फैलँदा यो समस्या ठूलो हँुदै जाने देखिएको छ । सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको ‘नसर्ने रोगको जनसंख्यागत व्याप्ति’ नामक एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा २३.५ प्रतिशत जनसंख्यामा अधिक तौल अर्थात् ‘ओभरवेट’ छ भने अधिक मोटोपन अर्थात् ‘ओबेसेटी’ रहेको जनसंख्या ७.२ प्रतिशत छ । यी दुवैको आँकलन बडी मास इन्डेक्स (बिएमआई) का आधारमा गरिन्छ । मानिसको तौल र उचाइलाई हिसाब गरेर बिएमआई निकालिन्छ ।  

कुनै मानिसको बिएमआई २५ वा सोभन्दा बढी रहे अधिक तौल भएको मानिन्छ भने ३० वा सोभन्दा बढी बिएमआई भए अधिक मोटोपन मानिन्छ । मानिसको शरीरमा अत्यधिक र असामान्य हिसाबले बोसो सञ्चय भए धेरै मोटाउने र वजन थपिने गर्छ । परिषद्को सो प्रतिवेदनले ४० देखि ५९ वर्ष उमेर समूहमा २६.८ प्रतिशत, महिलामा २४.१ प्रतिशत, केही समृद्ध जनजातिमा २९.९ प्रतिशत, किराँतमा २७.३ प्रतिशत अधिक तौल रहेको देखाएको छ । यसैगरी सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने एक तिहाइभन्दा बढी कर्मचारी, गण्डकी र वाग्मती प्रदेश मा झन्डै एक तिहाइ जनसंख्या अधिक वजनका छन् । सहरी जनसंख्याको झन्डै ३० प्रतिशत मानिस यो समस्याबाट ग्रसित छन् ।

यसैगरी नेपालमा ‘ओबेसेटी’ समस्या पनि ४० देखि ४९ वर्षबीचको उमेर समूह र महिलामा ९ प्रतिशत छ भने क्रिस्चियन धर्मावलम्बीमा १४.३ प्रतिशत, केही समृद्ध जनजाति समूहमा ११.५ प्रतिशत, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीमा ९ प्रतिशत, प्रदेश ३ मा १२.३ प्रतिशत र सहरी जनसंख्यामा १०.७ प्रतिशत रहेको सो अध्ययनले देखाएको छ । नेपालमा ५१ प्रतिशत महिला र २४ प्रतिशत पुरुषमा पेटको मोटोपन छ । कम्मरको परिधि ८० सेन्टिमिटरको हाराहारीमा रहेका महिला र ९० सेन्टिमिटरको हाराहारीमा रहेका पुरुषलाई मोटो मानिएको छ ।  

कोरोना संक्रमितको उपचारमा संलग्न नेपालका चिकित्सकहरू मोटोपनले संक्रमितलाई जोखिम बढाउने र उपचारका क्रममा ‘खराब नतिजा’ का लागि यो कारक बन्ने बताउँछन् ।  

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फिजिसियन तथा कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दास मोटोपन तथा अत्यधिक तौल संक्रमित हुनलाई कारक नभएको तर संक्रमण भइसकेको अवस्थामा खराब नतिजाका लागि जिम्मेवार रहेको मान्छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फिजिसियन तथा कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दास मोटोपन तथा अत्यधिक तौल संक्रमित हुनलाई कारक नभएको तर संक्रमण भइसकेको अवस्थामा खराब नतिजाका लागि जिम्मेवार रहेको मान्छन् । उनले शिक्षण अस्पतालका प्लाज्मा थेरापी गरिएका ६० वर्षीय बिरामीबाहेक हाल उपचारतमा ४२ जनामा मोटोपनको समस्या नरहेकोे जानकारी दिए । अस्पतालका २५ स्वास्थ्ययकर्मी कोरोना संक्रमित छन् ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला सो अस्पतालमा उपचाररत ४७ मध्ये दुईचारजनामा मात्र अत्यधिक तौल र मोटोपन रहेको बताए । ‘यहाँ उपचाररत धेरैजसो युवा भएकाले उनीहरूमा मोटोपनको समस्या देखिएको छैन तर संक्रमण समुदायमा विस्तार हुँदै जाँदा यस्ता वर्ग बढी जोखिममा हुन्छन्,’ उनले भने । लकडाउनका बेला घरमा बसेर धेरै खाँदा र व्यायाम नगर्दा तौल झन् बढ्न सक्ने भएकाले निरन्तर व्यायाम र उपयुक्त खानपानमा ध्यान दिनु जरुरी रहेको पाटन अस्पतालका कोभिड–१९ का क्लिनिकल कोअर्डिनेटर डा. विमल पाण्डेले भने, ‘हाम्रो सचेतना र आनीबानी सुधारले मोटोपन घट्न सक्छ ।’  

अमेरिकाको दक्षिणी क्यालिफोर्नियमा गरिएको एक अध्ययनले मोटोपन भएका युवा तथा मध्यम आयु भएका पुरुषको मृत्युका लागि मोटोपन एक स्वतन्त्र कारक रहेको देखाएको न्युयोर्क टाइम्सले बुधबार जनाएको छ । गत महिना कोलम्बिया विश्वविद्यालयले गरेको अध्ययनले अत्यधिक मोटोपन भएका बिरामी भेन्टिलेटरमा राख्नुपर्ने ६० प्रतिशत सम्भावना रहन्छ भने मृत्युको सम्भावना पनि उत्तिकै हुन्छ । अध्ययनको यो नतिजा ६५ वर्षमुनिका बिरामीमा पनि देखिएको थियो । चीनमा ६ प्रतिशत जनसंख्या, इटालीमा २० प्रतिशत र स्पेनमा २४ प्रतिशत तथा अमेरिकाको ४२ प्रतिशत जनसंख्यामा मोटोपनको समस्या छ ।  

जातजातिको हिसाले पनि अमेरिकामा ४९ दशमलव ६ प्रतिशत अश्वेत, ४६ प्रतिशत हिस्पानिक, ४२ प्रतिशत श्वेत र १७ प्रतिशत एसियन अमेरिकनमा मोटोपनको समस्या रहेको न्युयोर्क टाइम्समा उल्लेख छ । कुनै बेला यो उच्च आय भएका मुलुकको समस्या मानिएकोमा पछिल्ला दशकहरूमा निम्न तथा मध्यम आय भएका मुलुकमा पनि यो नाटकीय हिसाबले बढेको विश्व स्वास्थ्य संगठन (डल्लुएचओ) ले जनाएको छ । यो विशेषगरी सहरी क्षेत्रमा बढी देखिएको छ । डल्लुएचओका अनुसार सन् १९७५ देखि अधिक मोटोपन अर्थात् ‘ओबेसेटी’ तीन गुणाले बढेको छ । सन् २०१६ मा विश्वमा १८ वर्षभन्दा माथिका १ अर्ब ९० करोड मानिस अर्थात् ३९ प्रतिशत जनसंख्या अत्यधिक अधिक वजनका थिए भने ६५ करोड (१३ प्रतिशत) अधिक मोटोपनले ग्रसित रहेको डब्लुएचओको तथ्यांक छ । संसारको अत्यधिक जनसंख्या बस्ने देशमा कम वजन तथा कुपोषणभन्दा अधिक वजन र मोटोपनका कारण धेरै मानिसको मृत्यु हुने गरेकोछ ।

प्रकाशित: २ भाद्र २०७७ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App