७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

एकैदिन पाँचको ज्यान गयो

उपत्यकामा थपिए एक सय दुई संक्रमित

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई, सर्लाहीकी एक र मोरङका दुईजना छन् । योसहित बुधबारसम्म देशभरिमा कोरोनाबाट ६३ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लोपटक पर्सामा पोखरिया–९ कि १८ वर्षीया महिला र वीरगन्ज नगरपालिकाका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । योसहित पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १७ पुगेको छ । त्यस्तै सर्लाहीकी ६५ वर्षीया महिलाको राजधानीस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सर्लाहीमै बिरामी परेपछि ती महिलालाई उपचारका लागि साउन १६ गते काठमाडौंस्थित मनमोहन अस्पताल स्वयम्भूमा ल्याइएको थियो । निमोनिया र ज्वरोको समस्या देखिएकी ती महिलामा कोरोना परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि ती महिलालाई १९ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको थियो ।  

मोरङमा बुधबार मृत्यु भएका दुवै पुरुष हुन् । जसमध्ये एक संक्रमितको कोसी अस्पतालमा उपचारका क्रममा र अर्काको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ । कोसी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर–९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलबार राति उपचारका लागि अस्पताल पु-याइएका ती पुरुषमा ज्वरो र जन्डिसको समस्या पनि थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरी ती पुरुषलाई आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन  

डा. चुमनलाल दासले बताए । मृत्युपछि दिउँसो साढे तीन बजेतिर ती पुरुष कोरोना संक्रमित भएको रिपोर्ट आएको जानकारी उनले दिए । ती पुरुषकी ३५ वर्षीया पत्नीमा पनि कोरोना पोजेटिभ देखिएको छ । अर्का मृतक रंगेली नगरपालिका–८ का बासिन्दा थिए । ४५ वर्षीय ती पुरुषको उपचारका लागि कोसी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डा. दासले बताए । ती पुरुषको पिसिआर परीक्षण रिपोर्ट पनि कोरोना पोजेटिभ आएको उनले बताए । दुवै शव व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई बुझाइने डा. दासले बताए ।

योसहित प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।  यसैबीच काठमाडौं उपत्यकामा बुधबार एक सय दुईजना नयाँ सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मध्याह्नसम्म उपत्यकामा ६२ जना नयाँ संक्रमित भेटिएकोमा साँझसम्म यो संख्या बढेर एक सय दुई पुगेको हो । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा केस म्यानेजमेन्ट शाखाले साँझ थप ४० जनाको पोजिटिभ रिपोर्ट प्राप्त भएको जनाएको छ । यसैगरी उपत्यकाबाहिर पर्सामा एक सय ५१ जना, बाँकेमा १३, सिरहामा १९, महोत्तरीमा १४ जना नयाँ संक्रमित देखिएका छन् । विभिन्न जिल्लामा गरी बुधबार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन् । योसहित नेपालमा बुधबारसम्म कुल संक्रमित संख्या २१ हजार चार सय ३० पुगेको छ । जसमध्ये १५ हजार १ सय ५६ जना निको भएका छन् । ६ हजार दुई सय १४ जना सक्रिय संक्रमित छन् । ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा छन् । अहिले मुलुकका ७० जिल्लामा संक्रमित छन् ।  

काठमाडौं उपत्यकामा देखिएका नयाँ संक्रमित भारत तथा तराईबाट आएका, प्रहरीको कन्ट्याक्ट टे«सिङ र विदेशबाट आएका रहेको मन्त्रालयले जनाएको छ ।  ‘खतरा बढ्यो, नियम पालना गरौं’  

काठमाडौं उपत्यका तथा प्रदेश २ मा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले चाडपर्व परिवारभित्र मात्र मनाउने, कसैलाई भेट्दा दुई मिटर टाढैबाट भेटने, कार्यालय तथा पसलमा दुई मिटरको दूरी कायम गर्ने, चिनेकै साथीसँग कुरा गर्दा पनि दुई मिटर टाढाबाट मास्क लगाएर कुरा गर्न अनुरोध गरेको छ । ‘नियम पालना नगरेकैले यो स्थिति भयो, जसले नियम पालना गर्दैनन्, उनीहरू नै जोखिममा हुन्छन्,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा भने, ‘प्रहरीमा सामूहिक रूपमा संक्रमण देखिनुको मुख्य कारण पनि बस्दा, सुत्दा, खाँदा र कुरा गर्दा भौतिक दूरी पालना नगरेकैले हो ।’ जनस्वास्थ्यको नियम पालना नगरेमा काठमाडौं उपत्यकामा संक्रमण थप भयावह हुन सक्ने डा. गौतमले चेतावनी दिए । खोक्दा या हाच्छ्युँ गर्दा मुख या नाकबाट निस्कने छिटाबाट अर्को व्यक्तिमा कोरोना संक्रमण हुने भएकाले सकेसम्म जथाभावी नथुक्ने र खोक्दा या हाच्छ्यिुँ गर्दा मुख र नाक छोप्नुपर्ने उनले बताए ।  

‘घरमा पाहुना नबोलाउनू’  
नेपालका केही जिल्ला तथा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकाले घरमा पाहुना नबोलाउन मन्त्रालयले अनुरोध गरेको छ । घरमा आउने पाहुनामा लक्षणबिना पनि कोरोना संक्रमण भएको हुनसक्ने भएकाले कमजोर या वृद्ववृद्वामा सर्न सक्ने भएकाले सावधानी अपनाउने उनले आग्रह गरे । ‘लक्षण नदेखिएका पाहुनाबाट अरूमा कोरोना सर्न सक्छ’, प्रवक्ता गौतमले भने ।  

प्रकाशित: २२ श्रावण २०७७ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App