६ आश्विन २०७७ मंगलबार
स्वास्थ्य

दयालु भाइरस

अनुसन्धान

र्‍याचल नुअर/बिबिसी फ्युचर
सारा संसार कोभिड-१९ को महामारीले जकडिएको छ । यसका लागि जम्मा एउटा भाइरस जिम्मेवार छ, जसलाई नयाँ कोरोना भाइरस या सार्स सिओभी–२ नामकरण गरिएको छ ।

मानवजातिप्रति यस्तो कहर पठाउने यो पहिलो भाइरस (विषाणु) त पक्कै पनि होइन । यस्ता विषाणुले मानव जातिमाथि कयौँ पटक आक्रमण गरेका छन् । सन् १९१८ मा संसारभर आतंक फैलाउने इन्फ्लुएन्जा भाइरसका कारण पाँचदेखि १० करोड मानिस मारिएको आशंका छ । त्यस्तै बीसौँ शताब्दीमा ठेउलाले मात्र संसारभर करिब २० करोड मानिसको ज्यान लिएको मानिन्छ ।

ती सारा उदाहरण हेर्दा त हामीलाई भाइरस निल्न नै आएको हो कि भन्ने लाग्न सक्छ । यस्ता खतरनाक भाइरस त यो संसारबाट लुप्त भएकै जाति भन्ने पनि लाग्छ । यस्तो चमत्कारी छडी भएको भए त मानिसले यो धर्तीबाट सारा विषाणुलाई नै ध्वस्त बनाउँथे होला ।

तर भाइरसलाई धर्तीबाट विलुप्त गर्ने सोच्नुअघि पख्नुस्, सावधान हुनुस् । त्यस्तो भयो भने त हामी पनि बाँच्न गाह्रो हुन्छ है ! भाइरस बिना त मानिस पनि बाँच्न सक्तैन । मानिस मात्र किन, यो धर्तीमा भएका अन्यान्य प्राणीका लागि पनि बाँच्न गाह्रो हुन्छ ।

अमेरिकाको विस्किन्सन मेडिसन युनिभर्सिटीका महामारी विशेषज्ञ टोनी गोल्डबर्ग भन्छन्, ‘अचानक यो संसारबाट भाइरस लुप्त भए भने यो धर्तीका सबै जीवका लागि जम्मा डेढ दिन मात्र लाग्छ । यी भाइरस जति खतरनाक छन्, उति नै जीवन चलाउने धुरीको काम गरिरहेका छन् । त्यसैले उनीहरुको खराब वृत्तिलाई हामीले नदेखेझैँ गर्नु नै उपयुक्त हुन्छ ।’

यो संसारमा कति प्रकारका भाइरस छन्, यसका बारे अझै अनुसन्धान पूर्ण भइसकेको छैन । हामीलाई त यति मात्र थाहा छ, अधिकांश भाइरसले मानिसलाई रोग फैलाउँदैनन् । हजारौँ भाइरस त यस्ता छन्, जुन यो धर्तीमा इकोसिस्टम चलाउन निकै महत्वपूर्ण भूमिका निभाउँछन् । चाहे ती कीरा–फटेङ्ग्रा हुन्, गाईभैंसी या मानिस नै किन नहोऊन् । मेक्सिकोको नेसनल अटोनोमस युनिभर्सिटीका भाइरस विशेषज्ञ सुसाना लोपेज सेरेटन भन्छिन्, ‘यो धर्तीमा भाइरस र बाँकी अन्य जीव पूर्ण रुपमा सन्तुलित वातावरणमा बस्ने गर्छन् । भाइरस बिना हामी पनि बाँच्न सक्तैनौँ ।’

अधिकांश मानिसहरुलाई यो धर्तीमा जीवन चलाउनका लागि भाइरस कति महत्वपूर्ण छन् भन्ने थाहा छैन । यसको एउटा कारण के हो भने हामी तिनै भाइरसका बारेमा शोध अनुसन्धान र खोजी गर्छौं, जसका कारण हामी बिरामी पर्छौं या हामीलाई जसले अप्ठेरोमा पारिरहेका हुन्छन् । यद्यपि केही साहसी वैज्ञानिकहरुले भाइरसको त्यो अञ्जान संसारतर्फ कदम बढाएका छन् ।

त्यसो त अहिलेसम्म केही हजारको संख्यामा रहेका भाइरसका बारेमा मानिसले पत्ता लगाएका छन् । जबकि हाम्रो शरीर र वरपर करोडौँको संख्यामा भाइरस रहेको अनुमान गरिन्छ । ती करोडौँ भाइरसका बारेमा हामीलाई केही पनि थाहा छैन । पेन्सिलभेनिया स्टेट युनिभर्सिटीको मेरिलिन रुसिन्क भन्छिन्, ‘विज्ञानले केवल रोग जन्माउने विषाणु (रोगाणु) का बारेमा मात्र अध्ययन गर्ने गरेको छ । यो बडो चिन्ताको कुरा हो तर सत्य त त्यही हो । हाम्रो अध्ययनको दायरामा अन्य कामलाग्दा विषाणुका बारेमा पनि अध्ययन हुन जरुरी छ ।’  

अधिकांश भाइरसका बारेमा हामीलाई थाहा नभएकाले गर्दा कुन भाइरस हाम्रालागि खतरनाक र कुन लाभदायक भन्ने छुट्याउन सकेका छैनौँ । ब्रिटिस कोलम्बिया युनिभर्सिटीका विषाणु वैज्ञानिक कर्टिस सटल भन्छन्, ‘यदि भाइरस प्रजातिको कुल संख्याको हिसाबले हेर्‍यौँ भने मानिसका लागि खतरनाक विषाणुको संख्या शून्यकै वरिपरि होला ।’

इकोसिस्टमको धुरी हुन् भाइरस

हाम्रा लागि ती भाइरस महत्वपूर्ण हुन्, जसले ब्याक्टेरियालाई संक्रमित गर्छन् । तिनलाई फंगस भनिन्छ । जसको अर्थ हो, निल्ने ।

टोनी गोल्डबर्ग भन्छन्, ‘समुद्रमा ब्याक्टेरियाको संख्या नियन्त्रित गर्नका लागि फंगस विषाणुको निकै महत्वपूर्ण भूमिका हुन्छ । भाइरस पूरै नियन्त्रणमा आयो वा हरायो भने अचानक समुद्रमा भइरहेको सन्तुलन गडबडाउनेछ ।’

समुद्रमा ९० प्रतिशत जीव, माइक्रोब अर्थात् साना एक कोषीय जीव हुन्छन् । तिनले पृथ्वीमा उत्पादन हुने आधाभन्दा बढी अक्सिन बनाउँछन् । अनि यो काम भाइरसबिना हुन सक्तैन । समुद्रमा पाइने भाइरसले त्यहाँका आधा ब्याक्टेरिया र २० प्रतिशत माइक्रोब्सलाई हरेक दिन मार्ने गर्छ र आवश्यक अक्सिजन उत्पादन गर्ने गर्छ ।

यसबाट समुद्रमा रहेका काई लगायतका कयौँ वनस्पतिले खुराक पाउँछन् । त्यो खुराकले उनीहरु फोटोसिन्थेसिस गरी सूर्यको प्रकाशको सहयोगबाट अक्सिजन बनाउँछन् । र, यही अक्सिजनले पृथ्वीमा जीवन चलाउने गर्छ । भाइरस नै समाप्त भ एभने समुद्रमा त्यति धेरै अक्सिजन बन्न पाउँदैन र पृथ्वीमा रहेको जीवनचक्र अवरुद्ध हुन पुग्छ ।

कर्टिस सटल भन्छन्, ‘कसैको जीवनका लागि कसैको मृत्यु त आवश्यक पर्छ नै किनभने पृथ्वीमा अस्तित्वमा रहेका तत्वहरुलाई रिसाइक्लिङबाटै जीवन उत्पादन गर्न सहज हुन्छ ।’

संसारमा जीवको संख्या नियन्त्रण गर्नका लागि पनि भाइरस जरुरी हुन्छ । जसै कुनै जीवको संख्या तीव्र रुपमा बढ्न थाल्छ, विषाणुले त्यसमाथि आक्रमण गर्छ र संख्या नियन्त्रित गर्छ । महामारीबाट जनसंख्या नियन्त्रित हुनु एउटा उदाहरण हो । भाइरस भएन भने धर्तीमा जीवको संख्या नियन्त्रणभन्दा बाहिर जान्छ र एउटै प्रजातिको घनत्व बढ्न थाल्छ । यसले जीव विविधताको अवस्था समाप्त हुन पुग्छ ।

केही जीवको अस्तित्व नै भाइरसमा निर्भर हुन्छ । जस्तो कि गाईभैंसी र अन्य उग्राउने जनावरहरु यसका उदाहरण हुन् । भाइरसका कारण ती प्राणीले घाँसलार्य सेल्युलोजलाई सुगरमा परिणत गर्छन् । त्यही सुगर उनीहरुको शरीरमा पुग्छ र त्यसबाट दुग्ध उत्पादनको स्रोत बन्न पुग्छ ।

मानिस र अन्य जीवमा भित्र हुर्किरहेका ब्याक्टेरिया नियन्त्रण गर्न पनि भाइरसको ठूलो योगदान हुन्छ ।

अमेरिकाका चर्चित यलोस्टोन नेसनल पार्कका घाँसले चर्को गर्मी सहन सक्छन् । यसमा पनि वैज्ञानिकहरु भाइरसकै योगदान हो भन्छन् । यो कुरा रुन्सिक र उनको टोलीले गरेको शोधले प्रस्ट्याएको छ ।

हलापेनोको वृक्षले फलाउने बिउमा पाइने भाइरसले ती विरुवालाई बचाउने काम गर्छ । तिनले विरुवाको रस सोस्ने काम गर्छ । रुन्सिकको टोलीले शोधमा के पाए भने केही विरुवा र फंगसले भाइरसलाई एउटा पिँढीबाट अर्को पिँढीलाई सुम्पने गर्छन् ताकि आफ्नो सुरक्षाचक्र बनिरहोस् । यदि भाइरस फाइदाकारी नभएका भए विरुवाले त्यस्तो किन गर्थे होलान् ?

भाइरसले मानिसको सुरक्षाचक्र बनाउँछ

कयौँ भाइरसले संक्रमण गर्दा खास किसिमका रोगाणुबाट बचाउँछ । डेंगुका लागि जिम्मेवार भाइरसका कारण डेंगु लागेका मानिसमा एड्सको रोग फैलाउनबाट रोक्छ । यदि यो भाइरस कुनै मानिसको शरीरमा छ भने उसलाई इबोला भाइरसबाट मर्ने सम्भावना कम हुन्छ ।

हर्पिज भाइरसले हामीलाई प्लेग र लिस्टेरिया नामक रोगबाट बचाउन सक्छ । हर्पिजका शिकार मुसामाथि ती रोगका ब्याक्टेरिया छिर्न सक्तैनन् ।

भाइरसको उपयोगिता कति छ भने यसले कयौँ रोगबाट लड्नका लागि औषधिको समेत काम गरिरहेको छ । सन् १९२० को दशकमा सोभियत संघमा कयौँ शोध भएको थियो । यतिबेला तिनै कुराको नक्कल गर्दै भाइरस थेरापीमाथि शोध भइरहेको छ । जसरी ब्याक्टेरियामा एन्टी बायोटिक इम्युन हुन्छ, त्यसैगरी चाँडै नै एन्टी बायोटिकको विकल्प खोजी गर्नुपर्ने हुन्छ । भाइरसले त्यसको काम गर्न सक्ने सिद्धान्तमाथि अहिले विज्ञजनहरुले काम गरिरहेका छन् । तिनले रोग फैलाउने ब्याक्टेरिया या क्यान्सर कोसिकालाई नियन्त्रण गर्न काम लाग्न सक्नेतर्फ अनुसन्धान भइरहेको छ ।

कर्टिस सटल भन्छन्,, ‘यी रोगबाट लड्नका लागि हामीले भाइरसलाई ठीक त्यस्तै रुपमा काम गर्न सक्छौँ जसरी कुनै गाइडेड मिसाइल छाड्ने गर्छौं । जसले सिधा लक्ष्यमा साँध्छन् अर्थात् तिनले नोक्सान गर्ने रोगाणुमाथि हमला गर्छन् । ब्याक्टेरिया अथवा क्यान्सर कोसिकालाई तिनले नियन्त्रण गर्न भूमिका खेल्छन् । भाइरसमार्फत हामी कयौँ रोगको उपचार गर्ने किसिमका नयाँ पिँढीका औषधि बनाउन पनि सक्छौँ ।’

हुन त भाइरसले लगातार आफ्नो स्वरुप परिवर्तन गरिरहेका हुन्छन्, गरिरहन्छन् । त्यसैले यिनीहरुसँग जेनेटिक जानकारीको खजाना नै हुन्छ । तिनले अरुका कोसिकामा छिरेर आफ्नो जिनलाई कपी गर्ने र सिस्टमलाई नै नियन्त्रणमा लिन्छन् । त्यसैले ती भाइरसको जेनेटिक कोड सधैँका लागि त्यो जीवको कोसिकामा गएर बस्छ वा दर्ता हुन्छ ।

हामी मानिसमा रहेका आठ प्रतिशत जिन पनि भाइरसबाट पाएका हौँ । सन् २०१८ मा मात्र आएर वैज्ञानिकहरुको दुई टोलीले यसलाई पत्ता लगाएका थिए । करोडौँ वर्ष पहिले भाइरसमार्फत् हामीले पाएको कोडका कारण हामीलाई स्मरण सँगाल्न सजिलो भएको हो ।

यदि भाइरस नभएको भए हामीले शिशु जन्माउनुको साटो अण्डा जन्माउँथ्यौँ । अण्डाको साटो सिधा शिशु नै जन्माउनुका पछाडि भाइरसको संक्रमणले नै भूमिका खेलेको हो । करिब १३ करोड वर्ष पहिले मानिसका पूर्वजमा रेट्रोभाइरसको संक्रमण तीव्र गतिमा फैलिएको थियो । सो संक्रमणले मानिसका कोसिकामा आएको एउटा जीनका कारण मानिसको गर्भधारण र सन्तान जन्मनुमा ठूलो परिवर्तन आएको थियो । खासगरी अण्डाको साटो सिधै सन्तान जन्माउने खुबी विकसित भएको थियो ।

पृथ्वीमा भाइरसले यी कयौँ भूमिका खेलिरहेका छन् र तिनका बारेमा अहिले वैज्ञानिकहरुले त अध्ययन शुरु मात्र गरेका छन् । भविष्यमा यसका बारेमा हामीलाई जति जति बढी जानकारी हासिल हुँदै जानेछ, त्यति त्यति भाइरसलाई उम्दा तरिकाले प्रयोग गर्न सक्नेछौँ । कतै हामीले कयौँ रोगबाट लड्ने  माध्यम पो पाउँछौँ कि अथवा अन्य यस्तो सहयोग पनि पाउन सक्छौँ, जसले मानव जातिको मात्र होइन पूरै धर्तीकै भलो पो हुन सक्छ कि ! त्यसैले भाइरसलाई घृणा गर्नुको साटो तिनलाई अझ नजिकबाट चिन्ने प्रयत्न जारी राख्नु नै उचित हुन्छ ।

बिबिसी फिचरबाट अच्युत कोइरालाको अनुवाद

प्रकाशित: २१ श्रावण २०७७ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App