१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

शरीर फिट राख्ने घरेलु टेक्निक

सुस्वास्थ्य

डा. डीबी सुनुवार 
प्राकृतिक चिकित्सक

व्यक्ति शारीरिक तथा मानसिक रुपमा हरदम स्वस्थ र तन्दुरुस्त रहन आवश्यक हुन्छ । तर,  महामारीको यस अवस्थामा व्यक्ति सहज र खुलारुपमा हिँड्न बाधाव्यवधान खडा हुन्छ । दैनिक काममा पनि बाधा खडा हुन्छ ।  

आज हामी कोरोना भाइरस (कोभिड–१९) को महामारीको अप्ठेरो अवस्थामा छौं । दैनिक क्रियाकलापमा असहजता हुँदा हामीले नियमित गर्ने व्यायाममा पनि असहजता उत्पन्न हुनु स्वाभाविकै हो ।  

तर, व्यक्तिलाई व्यायामको आवश्यकता हुन्छ । व्यायामका लागि घरभन्दा टाढा जानै पर्छ भन्ने छैन । घरको आँगन तथा घरवरिपरि व्यायाम गरी शारीरिक तथा मानसिकरुपमा फिट हुन सकिन्छ । घरमै पनि पूरै शरीरको व्यायाम गर्न सकिन्छ ।  

व्यायाम सुरु गर्दा करिब पाँच मिनेट शरीर मर्काउँदै तथा तन्काउँदै वाम अप गर्नुपर्छ । जसले व्यायामको क्रममा शरीर 

व्यायाममा खानपानको महत्वपूर्ण भूमिका हुन्छ । व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फिट रहनका लागि झोलिलो–मोलिलो पोषणयुक्त पदार्थ खानु आवश्यक हुन्छ । यस्तै किसिमको खाद्यपदार्थ खानुपर्छ भन्ने छैन । उपलब्धता अनुसारका आफूलाई मन पर्ने खाद्यपदार्थ खान सकिन्छ ।  लचिलो हुन्छ ।  

लचिलो टाउको  

वाम अप गरिसकेपछि ठिंग उभिएर टाउको लुलो तथा लचिलो बनाइन्छ । त्यसपछि पालैपालो अगाडि लैजाँदै पछाडि लगिन्छ । अगाडि झुकाउँदा चिउँडोले छातिमा छुने प्रयास गरिन्छ, भने पछाडि लैजाँदा ढाडतर्फ टाउको लच्काइन्छ ।  

टाउको अगाडि–पछाडि गरिसकेपछि टाउको दायाँबायाँ लैजाँदै कुमलाई छुनुपर्छ । त्यसैगरी दायाँबाट बायाँ र बायाँबाट दायाँतर्फ टाउको घुमाइन्छ । दायाँबायाँको व्यायाम सकेपछि टाउकोलाई चक्रिय आकारमा दायाँदेखि बायाँसम्म र बायाँदेखि दायासम्म घुमाइन्छ । यस किसिमको प्रत्येक व्यायाम १०/१० पटक गर्नु पर्नेहुन्छ ।

यस किसिमको व्यायामले टाउको दुख्ने, रिंगटा लाग्ने, गर्धन भारी हुने, मर्कर्ने, सड्कने, अररिने जस्ता समस्याबाट बच्न सकिन्छ ।  

मजबुत कुम

टाउको लचिलो तथा मजबुत बनाउने किसिमको व्यायाम गरिसकेपछि कुम तथा छाती मजबुत बनाउने किसिमको व्यायाम गर्नु उचित हुन्छ ।  

कुम तथा छाती मजबुत बनाउनका लागि ठिंग उभिएकै अवस्थामा दुवैतर्फका हात तल झारी सतर्क अवस्थामा रहनुपर्छ । त्यसपछि दुवैतर्फको कुम माथि उचाल्दै छोडिन्छ । यस किसिमको व्यायामपछि कुमलाई चक्राकारमा घुमाइन्छ । कुमलाई चक्रिय आकारमा घुमाइसकेपछि दुवै हात उचाली हातको औंलाले कुममा छुँदै चक्रिय आकारमा कुम घुमाइन्छ ।  

कुम घुमाइसकेपछि पूरै हातलाई तलदेखि माथिसम्मै चक्राकारमा अगाडिबाट पछाडि र पछाडिबाट अगाडि घुमाउनुपर्छ । छाती तथा कुमको प्रत्येक व्यायाम पनि १०/१० पटक गर्नु नै उचित हुन्छ ।  

यसरी कुम तथा छातीको व्यायाम गर्दा कुम, छाती र हातका मांशपेशी लचिलो हुनुका साथै मजबुत हुन्छन् । जसले मर्किने, सड्किने, दुख्नेजस्ता जोखिमबाट बच्न सकिन्छ । त्यति मात्रै हैन यस्ता व्यायामले फोक्सोको समेत व्यायाम पुग्ने  भएकाले श्वासप्रश्वाससम्बन्धी समस्याबाट समेत बच्न सहयोग मिल्छ ।  

स्लिम कम्मर 

 

कम्मर बलियो बनाउन र पेटमा जमेको अनावश्यक भद्दा बोसो घटाउने विभिन्न किसिमका टेक्निक छन् ।  

यसरी पेट तथा कम्मरको व्यायाम गर्न सुरु गर्दा ठिंग उभिएर हात छाडेर शरीर अगाडि झुकाउँदै पछाडि लगिन्छ । यसरी अगाडि निहुरिँदै पछाडि तानिँदा बलपूर्वक भने गर्नु हुन्न । शरीरलाई सहज हुने किसिमले हल्का रुपमा अगाडिपछाडि गर्नुपर्छ ।  

त्यसपछि ठिंग उभिएकै अवस्थामा दायाँबायाँ गर्दै एकातर्फको कुम उचाल्दै अर्कोतर्फको कुम तल झुकाइन्छ । दुवैतर्फका कुम पालैपालो झुकाउँदै उठाइन्छ ।  

त्यसैगरी पालैपालो दायाँबायाँ फर्किँदै शरीर हल्का गरी मर्काइन्छ । त्यसैगरी कम्मरमा हात राखेर कम्मरलाई दायाँबायाँ चक्रिय आकारमा मर्काइन्छ ।  

कम्मर तथा पेटको यस्तो किसिमको प्रत्येक व्यायाम पनि १०/१० पटक गर्नु नै उचित हुन्छ ।  

कम्मर तथा पेटको यसरी गरिने व्यायामले ढाड तथा कम्मर दुख्ने समस्याबाट त छुट्कारा पाउन सहज हुन्छ नै । यस्तो व्यायामले कम्मर तथा पेटमा दबाब परी पेटमा अनावश्यक रुपमा जमेर रहेको बोसो पग्लन गई ज्यान स्लिम तथा फुर्तिलो र स्वस्थ रहन सहयोग मिल्छ ।  

खुट्टाको व्यायाम

कम्मर तथा पेटको व्यायाम गरिसकेपछि कम्मरभन्दा तलको भागको व्यायाम गरिन्छ । कम्मरभन्दा तलको भागको व्यायाम गर्दा थाइको व्यायामबाट सुरु गरिन्छ । थाइलाई मजबुत राख्नका लागि हिँडेको जस्तै गरी खुट्टा माथि उचाल्दै छोडिन्छ (लेफराइट शैलीमा) । त्यसपछि पछाडीबाट कुर्कुच्चा उचाल्दै थाइमा छुइन्छ ।  

यति व्यायम गरिसकेपछि दुवैखुट्टा एकै ठाउँमा जोडेर आधा बस्दै उठ्दै गरिन्छ । यस्तो व्यायामले घुँडा खुम्चने र फुक्ने प्रक्रिया हुन्छ । जसले घुँडा मजबुत हुन सहयोग मिल्छ ।  

त्यसैगरी घुँडा जोडेरै चक्रिय आकारमा खुट्टा दायाँबायाँ घुमाइन्छ । त्यसैगरी खुट्टाको पञ्जाले टेकेर कुर्कुच्चा उचाल्दै छोड्दै गरिन्छ । पञ्जाले टेकेर कुर्कुच्चा उचाल्ने किसिमको व्यायाम सकेपछि कुर्कुच्चाले टेकेर पञ्जा उचालिन्छ । कम्मर भन्दा तल्लोभागको प्रत्येक किसिमको व्यायम पनि १०/१० पटक गर्नु नै उचित हुन्छ ।  

खुट्टाको यस्ता किसिमका व्यायामले कम्मरभन्दा तलको भाग सड्कने, मर्कने, च्यातिने, मांशपेशी फाट्ने, नसा च्यापिनेजस्ता समस्याबाट बच्न सकिन्छ ।  

घरको कोठा, भान्सा, कौशी, छत, आँगनजस्ता सानो ठाउँमा पनि गर्न सकिने यस्ता व्यायामले व्यक्ति शारीरिक तथा मानसिक रुपमा मजबुत र स्वस्थ तथा फूर्तिलो रहन सकिन्छ ।  

यस्ता व्यायामका लागि कुनै प्रशिक्षकको आवश्यकता पनि पर्दैन ।  

खानपानमा ध्यान

व्यायाममा खानपानको महत्वपूर्ण भूमिका हुन्छ । व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फिट रहनका लागि झोलिलो–मोलिलो पोषणयुक्त पदार्थ खानु आवश्यक हुन्छ । यस्तै किसिमको खाद्यपदार्थ खानुपर्छ भन्ने छैन । उपलब्धता अनुसारका आफूलाई मन पर्ने खाद्यपदार्थ खान सकिन्छ ।  

हाम्रो भान्सामा उपलब्ध हुने, दालचिनी, बेसार, अदुवा, लसुन, कागती, मरिच, सुकुमेलजस्ता जडिबुटीजन्य पदार्थ विभिन्न परिकारमा खान सकिन्छ । त्यसैगरी यस्ता जडिबुटी तातोपानीमा राखी चियाको रुपमा सेवन गर्न पनि सकिन्छ ।  

उपलब्धताअनुसार शरीरको रोगप्रतिरोधात्मक प्रणाली मजबुत राख्नका लागि यस्ता जडिबुटी तथा पोषणयुक्त पदार्थ सेवन गर्न आवश्यक हुन्छ ।  

प्रस्तुतिः उपेन्द्र खड्का

प्रकाशित: २० श्रावण २०७७ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App