१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘भीडभाडमा जानुभयो कि ?’

लकडाउन खुलेपछि तपाईं भीडभाडमा जानुभयो कि ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको प्रश्न हो यो। सर्वसाधारणको दैनिकी सहज होस् भनेर लकडाउन खुलाइएपछि कोरोनाको जोखिम झनै बढेको उल्लेख गर्दै उनले थप सतर्क रहन आग्रह गरे।  

प्रवक्ता गौतमले कोरोनाबाट बच्न सरकारको भूमिकाले मात्र नपुग्ने र नागरिकको आफ्नै व्यक्तिगत जिम्मेवारी रहने भएकाले लापरबाही नगर्न अनुरोध गरे। ‘मास्क नलाई घरबाहिर निस्कनुभयो ? साथीभाईलाई भेट्दा दुई मिटर टाढैबाट भेट्नुभयो कि नजिकै पुग्नुभयो ? सेनिटाइजर बोक्नुभयो कि बिर्सनुभयो ? साबुनपानीले हात धुनुभयो कि भएन ?’ उनले बुधबार यी र यस्तै प्रश्नहरू गरे।

स्वास्थ्य सुरक्षाका नियम पालना नगरेकाहरूले आफूमात्र नभएर परिवारका सदस्यलाई समेत कोरोनाको जोखिममा पु¥याउने बताउँदै उनले कोरोनाको स्थायी औषधि नबनुन्जेल सबैले नियम पालना गर्नुपर्नेमा जोड दिए। सरकारले समुदायमा कोरोना परीक्षणको दायरा बढाइरहेको उल्लेख गर्दै उनले परीक्षण प्रयोगशाला र आइसोलेसन वार्ड निर्माण तथा उपचारका लागि जनशक्ति तयार पार्नेजस्ता जिम्मेवारी पूरा गरिसकेकाले अब कसरी बच्ने भन्ने जिम्मेवारी नागरिक स्वयंको हातमा रेको बताए।

अन्य विज्ञ चिकित्सकले समेत अबका दिनमा आफ्नो काम गर्दै बच्ने तरिका जान्नुपर्नेमा जोड दिए। मंगलबार नागरिकसित कुरा गर्दै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले पनि हरेक नागरिक आफैं सचेत हुनुपर्ने आवश्यकता औंल्याए। ‘तपाईं भीडभाडमा गइदिनुभयो, रेस्टुरेन्टमा गएर दूरी कायम नगरी खाइदिनुभयो भने सरकार जिम्मेवार हुन्छ र’, उनले भने।  

बुटवल प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले कोभिड–१९ को औषधि नबनिसकेको अवस्थामा प्रत्येक नागरिक सचेत भएमात्र बच्न सकिने सुझाव दिए। ‘सामाजिक दूरी कायम गरौं,’ उनले भने, ‘नाक, मुख र हात जोगाएर काम गरौं।’ चिकित्सकले कसैलाई भेट्दा दुवै पक्षले भौतिक दूरी कायम राखेर मास्क अनिवार्य लगाए, सार्वजनिक शौचालयका चुकुल, ढोका, टेबुललगायतमा छोएपछि अनुहारमा हात नलगे, छुनुअघि र पछि साबुनपानीले हात धोए कोरोनाबाट बच्न सकिने बताउँदै आएका छन्।  

थप २१० जना संक्रमित  
बुधबार देशभरिमा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँसहित नेपालमा कुल संक्रमित संख्या १९ हजार २ सय ७३ पुगेको छ। तीमध्ये १४ हजार २१ जना निको भएका छन्। बुधबार १ सय ४६ जना निको भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

काठमाडौं उपत्यकामा बुधबार थप १५ जना संक्रमित भएका छन्। योसहित उपत्यकामा संक्रमितको संख्या ४ सय ९२ पुगेको छ। भारत र तराईका विभिन्न भूभागबाट राजधानी प्रवेश गरेकाहरूमा बढी संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। त्यसैगरी बुधबार नै उपत्यकाबाहिर डोटीमा ५२, पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरीमा १३, धनुषामा १२ जना संक्रमित थपिएका छन्।  

हाल देशभरिमा ५ हजार ३ सय ६० जना सक्रिय संक्रमित छन्। क्वारेन्टिनमा रहेकाको संख्या १४ हजार ४ सय ७१ रहेको छ।

प्रकाशित: १५ श्रावण २०७७ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App