१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट आउनेलाई पाँच दिनपछि अनिवार्य परीक्षण

थप १५६ जनामा कोरोना संक्रमण

अब विदेशबाट हवाइ मार्गमा नेपाल भित्रिनेहरुको लागि सरकारले पाँच दिनपछि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो । बैठक स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको थियो ।

यसअघि १४ दिन क्वारेन्टिनमा बसेपछि मात्र परीक्षण गर्ने निर्णय गरेको थियो । विदेशबाट आउनेहरुलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेपछि मात्र परीक्षण गरिनेछ । १४ दिनपछि गरिने र ५ दिनअघि गरिने दुवै परीक्षण प्रक्रिया प्रभावकारी नभएकोले पाँच दिनपछि परीक्षण गर्ने निधो गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । आउने क्रममै भएको संक्रमण पाँच दिनपछि मात्र देखिन सुरु हुने भएकोले यो प्रक्रिया प्रभावकारी भएको सह-प्रवक्ता अधिकारीले बताए ।  

योसंगै स्थलगत मार्गबाट आउनेहरु, जोखिम पेशामा संलग्न व्यक्तिहरु, स्वास्थ्यकर्मी लगायतको परीक्षण गर्ने निर्णय भएको छ । नेपालमा तथ्यांकमा कोरोना संक्रमण घटेपनि छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढिरहेको र त्यहाँबाट आवत–जावत कायम रहेकोले अहिले पनि नेपाल संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘संक्रमण घटेपनि हामी उच्च जोखिममै छौं’ उनले आइतबार नियमित प्रेस ब्रिफिङको क्रममा भने । यो जोखिमलाई घटाउन परीक्षण भन्दा पनि हामीले अपनाउने सावधानी बढी भरपर्दो हुने उनले बताए । ‘ हामी सधै जोखिममा छौं, मुख्य कुरा हाम्रो बानी–व्यवहारामा सुधार हुनुपर्छ, अहिले कोरोनाको जोखिम घटेजस्तो गरी नियम उल्लंघन भइरहेको देखिन्छ, यसले थप जोखिम बढाएको छ ’ उनले भने ।

आइतबार देशभरमा परीक्षण भएका ४ हजार ७ सय ४१ वटा नमूना परीक्षण मध्येमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । ती मध्येमा ४० जनाको मृत्यु भएको छ ।

आइतबार नै थप ५८ जना निको भई डिस्चार्ज भएका छन् । उनीहरुसहित नेपालमा कुल ११ हजार ६ सय ९५ जना अर्थात ६६.२४ प्रतिशत निको भएका छन् । हाल क्वारेन्टिनमा २२ हजार ६ सय ६२ संक्रमित, आइसोलेसनमा ५ हजार ९ सय २३ जना छन् ।

आइतबार सबै भन्दा बढी सप्तरीमा ३२, सर्लाहीमा २५ र कैलालीमा २४ जना देखिएका छन् । त्यसैगरी नवलपरासीमा र बर्दियामा १०/१० जना संक्रमित भएका छन् । आइतबार नेपालका तीन जिल्लाहरु रौतहट, बाजुरा र कैलालीमा मात्र ५ सय भन्दा बढी सकृय संक्रमित रहेका छन् भने ८ वटा जिल्लाहरु भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला कोरोना संक्रमण मुक्त रहेका छन् । पछिल्लो अवधिमा सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा बढी ७ हजार २ सय २० जना छन् । त्यसपछि प्रदेश ५ मा ३ हजार ६ सय ८८ जना छन् ।

प्रकाशित: ४ श्रावण २०७७ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App