अहिले विश्वमा जुन कोरोना भाइरसले विनास मच्चाइरहेको छ, त्यो सुरुमा चीनमा देखिएको भाइरस होइन। वैज्ञानिकका अनुसार आधिकारिक नाम सार्स–कोभ–२ रहेको यो भाइरस ‘म्युटेट’ भइरहेको छ ।
म्युटेटको अर्थ भाइरसले आफ्नो आनुवांशिकता बदल्नु हो । वैज्ञानिकले यस भाइरसमा हजारौं ‘म्युटेसन’ देखिएको बताएका छन् । तर एउटा मात्र त्यस्तो ‘म्युटेसन’ छ, जसबाट भाइरसले आफ्नो व्यवहारमा परिवर्तनको संकेत गर्छ ।
यस्तो म्युटेसनले भाइरसलाई ज्यादै खतरनाक वा घातक बनाउँछ ? जुन खोप बन्ने आशामा हामी छौं, त्यो सफल भएका खण्डमा पनि यो खतरा रहिरहन्छ ?
कुनै फ्लु भाइरसको तुलनामा कोरोना भाइरस निकै ढिलो गतिमा बदलिइरहेको छ । तर मानिसमा यस भाइरसबाट बच्ने प्रतिरोधी क्षमता कम छ । न अहिलेसम्म यसविरुद्ध कुनै खोप तयार भएको छ न त कुनै प्रभावकारी औषधोपचार नै पत्ता लागेको छ । अहिले भाइरसले आफूलाई राम्रोसँग फैलाइरहेको छ ।
वैज्ञानिकले देखेको डिजी–१४–जी नामको ‘म्युटेसन’ भाइरसको ‘स्पाइक’ मा पाइएको छ, जसको मद्दतले भाइरस हाम्रो शरीरको कोषिकामा प्रवेश गर्छ । के अनुमान गरिएको छ भने चीनको सहर वुहानमा फैलिएपछि यो भाइरसको यस्तो म्युटेसन इटलीमा देखिएको थियो । यस्तै म्युटेसन अहिले विश्वका ९७ प्रतिशत नमुनामा पाइएको वैज्ञानिकले बताएका छन् ।
अब प्रश्न उठ्छ– यही म्युटेसनका कारण भाइरस यति व्यापक रूपमा फैलिएको हो वा संयोग मात्रै हो ? युनिभर्सिटी कलेज लन्डनका डा. लुसी भ्यान ड्रपका अनुसार भाइरस फैलिने एउटा तरिका मात्र हुँदैन, यो लगातार बदलिरहन्छ । यस्ता परिवर्तनमध्ये कुनैले भाइरउसलाई फैलिन मद्दत गर्छ भने कुनैले रोक्ने काम पनि गर्छ । बाँकी परिवर्तनले कुनै असर पार्दैन ।
कुनै एक म्युटेसनले यति धेरै फैलिनाको कारण के हुन सक्छ भने यो महामारी सुरुवाती चरणमै फैलियो, जसलाई फाउन्डर इफेक्ट भनिन्छ । डाक्टर लुसीको टोलीको के विश्वास छ भने यति धेरै म्युटेसन फैलिनु पछाडिको कारण यही हो, तर यस विषयमा विवाद पनि बढिरहेको छ ।
धेरै विज्ञहरू सेल्फिड विश्वविद्यालयका डा. थुसान डि सिल्वासँग सहमत देखिन्छन् । डा. सिल्वाका अनुसार यो भन्न पर्याप्त प्रमाण छ कि कोरोना भाइरसको यो संस्करणमा एक ‘सेलेक्टिभ एडभान्डेज’ छ र पछिल्लो संस्करणमा भन्दा तीव्र गतिमा फैलिने क्षमता छ ।
तर अहिले यो भाइरस पहिलेभन्दा धेरै फैलिनेछ भनेर भन्न सकिन्न तर के निश्चित छ भने यो तटस्थ छैन ।
फ्लोरिडास्थित स्क्रिप्स विश्वविद्यालयका प्राध्यापक हायरयुन कोई र माइकल फर्जानका अनुसार प्रयोगशालमा यो भाइरसको अनुसन्धान गर्दा म्युटेड भाइरस मानिसको कोषिकामा प्रवेश गर्न पहिलेको भाइरसभन्दा बढी सक्षम पाइएको छ । स्पाइक प्रोटिनमा परिवर्तनले कोषिकामा अझ राम्रोसँग टाँसिन र काम गर्न मद्दत पुर्याउँछ ।
न्युयोर्क विश्वविद्यालयका नोभिल सन्जनाले भाइरसको स्पाइक प्रोटिन परिवर्तन गर्ने प्रयास गरे र त्यसलाई वुहानमा देखिएको भाइरसँग तुलना गरे । उनका अनुसार म्युटेट भएको भाइरसमा सुरुवातमा देखिएको भाइरसमा भन्दा फैलिने क्षमता बढी पाइयो ।
डा. भ्यान यसले वास्तविक बिरामीलाई कति असर गर्छ भन्ने अझै स्पष्ट नभएको बताउँछन् । तर प्राध्यापक फर्जान भन्छन् कि यसमा जैविक भिन्नता छन्, जसले के संकेत गर्छ भने म्युटेसनका कारण भाइरस द्रुत गतिमा फैलिन सक्छ ।
तर अहिलेसम्म यस कुराको प्रमाण पाइएको छैन कि यस्तो भाइरसले मानिसलाई धेरै बिरामी बनाउँछ र धेरै दिन अस्पतालमा बस्नुपर्ने हुन्छ ।
सामान्यतया, भाइरस धेरै छिटो फैलिन्छ, यसको अर्थ के हुँदैन भने यो धेरै घातक छ, कहिलेकाहीं यसको विपरीत पनि हुन्छ । कोरोना भाइरस उत्परिवर्तन भएपछि बिरामीका लागि बढी खतरनाक भएको कुनै प्रमाण पाइएको छैन । बिबिसी
प्रकाशित: ४ श्रावण २०७७ ११:१४ आइतबार