६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

रिपोर्ट नआउँदा एक महिनासम्म क्वारेन्टिनमा

बागलुङ गल्कोट नगरपालिका–३ का ४१ वर्षीय पुरुष गत जेठ १० गते बुटवलबाट गाउँ पुगेका थिए । गाउँ पुगे लगत्तै उनी होम क्वारेन्टिनमा बसे । होम क्वारेन्टिनमा बसेको १४  दिनपछि जेठ २६ गते पिसिआर परिक्षणको लागि स्थानीय स्वाथ्यकर्मीले नमूना संकलन गरि जेठ २७ गते परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । स्वाब पठाएको १२ दिनपछि गत शनिबार मात्रै रिपोर्ट आयो । उनीसहित क्वारेन्टिनमा रहेका ५५ जनाको स्वाब संकलन गरी पठाइएको थियो । तीमध्येमा १३ जनाको रिपोर्ट पोजिटिभ आयो ।  

यसरी स्वाब संकलन गरेर रिपोर्ट आउँदासम्म बुटवलबाट गाउँ पुगेका युवा ३० क्वारेन्टिनमै वित्यो । उनीसँगैै स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको ५४ जनाले २५ देखि ३० दिन क्वारेन्टाइनमा बिताएको गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । दोस्रो चरणको नमूना मात्र नभई तेस्रो चरणमा असार २ गते पठाएको स्वाबको रिपोर्ट पनि अहिलेसम्म नआएको उनको भनाइ छ ।  

लामो समयसम्म क्वारेन्टाइनमा बस्दा आफ्नो उपचार प्रक्रियामा ढिला भएको ती युवाले बताए । समयमै रिपोर्ट नआउँदा क्वारेन्टिनमै बिरोध प्रदर्शन गर्नुपरेको उनको भनाइ छ । ‘अस्पतालका कारण हामीलाई अपराधी जस्तै गरेर राखिएयो ।’ उनले भने । स्वाब संकलन गरेर पठाउँदा पनि लामो समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा व्यवस्थापनमा समेत समस्या भएको नगरप्रमुख गैरेले गुनासो गरे । प्रयाप्त भौतिक संरचनाको अभाव रहेका क्वारेन्टाइनमा एउटै व्यक्तिलाई लामो समयसम्म राख्दा आफूहरूलाई व्यवस्थापनमा निकै समस्या भएको उनले बताए ।  

सहरी क्षेत्रमा रहेका व्यक्तिको स्वाब परिक्षण गरेर रिपोर्ट आएपछि मात्रै गाउँ पठाएको भए सहज र छिटो हुने नगरप्रमुख गैरेको सुझाव छ । आफूहरूसँग कुनै समन्वय नगरेर विदेश तथा जिल्ला बाहिरबाट मान्छे गाउँमा पठाउँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्म संकलन भएका ९ हजार दुई सय स्वाब परिक्षण हुन बाँकी छन् । सरकारी प्रयोगशालाको क्षमता तथा जनशक्ती न्यून भएपछि परिक्षणका लागि लिइएका स्वाब भण्डारण भएको मन्त्रालयले जनाएको छ ।  

निजी प्रयोगशालालाई परिक्षण गर्न दिइने  
देशभर पिसीआर परिक्षणका लागि संकलन गरिएको स्वाब स्टोरमा थुप्रिएपछि मन्त्रालयले भण्डारण भएका स्वाब परिक्षणका लागि अब निजी प्रयोगशालालाई पनि परिचालन गर्ने निर्देशिका समेत बनाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

कोरोना परिक्षण मापदण्ड अनुसार संकलन भएका स्वाब सरकारले निजी प्रयोगशालालाई दिनेछ । यस्ता स्वाब परिक्षण गरेवापत तीप्रयोगशालालाई प्रति स्वाब पाँच हजार पाँच सय रुपैयाका दरले सरकारले निजी प्रयोगशालालाई भुक्तानी दिने तयारी भएको सहप्रवक्ता अधिकारीले बताए । ‘निजी प्रयोगशालालाई परिक्षण गर्न दिनको लागि मन्त्रालयले निजी प्रयोगशाला र अस्पतालको लागि पिसिआर परिक्षण अनुमति निर्देशिका २०७७ जारी भएका छ ।’ उनले भने । 

प्रकाशित: ९ असार २०७७ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App