१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एक सय १६ संक्रमितको उपचारमा दुइ डाक्टर र तीन जना नर्स

कोरोना अस्पताल अस्तव्यस्त

मोरङको सुन्दरहरैंचा स्थित कोभिड अस्पतालको निरिक्षण गर्दै प्रदेश लेखा समितिका पदाधिकारीहरू । तस्बिर : चुमन बस्नेत/नागरिक

मोरङको सुन्दरहरैंचाको गोठगाउँ  स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीको अभाव भएको छ । आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्री अभाव भएको  पाइएको हो ।  

प्रदेश सरकारको वेवास्थाका कारण अस्पतालमा आवश्यकता अनुसार चिकित्सक तथा स्वास्थ्य सामाग्री उपलब्ध नभएको प्रदेश १ का  लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईले बताए । उनका अनुसार लेखा समितिसंग गोठगाउँ स्थित अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई  उपलब्ध गराएको सेवा सुविधा नपाएको गुनासोसमेत गरेका छन् । उनले अस्पतालमा मापदण्ड अनुसार आइसोलेसन नरहेकाले तत्कालै सुधार गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘मापदण्ड अनुसार अस्पताल सञ्चालनमा ल्याउन, प्रदेश सरकार  र विश्वविद्यालयवीच भएका सम्झौता पालना गर्न लेखा समितिले निर्देशन दिने जानकारी दिए ।  

सांसद लोकप्रसाद संग्रौलाले गोठगाउँमा स्थापना भएको अस्पताललाई संक्रमित थुपार्ने डम्पिङसाईड बनाउन नहुने बताए । उनले अस्पताललाई व्यवस्थित पार्न प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालय दुबै गम्भीर बन्नु पर्ने बताए । उनले संक्रमित बढेको अवस्थामा अस्पतालको पूर्वाधारमा सुधार गरी भेन्टिलेटरलगायतको व्यवस्था पनि गर्न सरकारलाई आग्रह गरे । संग्रौलाले भने‘अस्पताललाई व्यवस्थित पार्न तत्कालै सरकारले काम थाल्नुपर्छ ।’ 

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक मेडिकल कलेजमा सञ्चालित कोरोना अस्पताललेभल १ अस्पताल भएकाले आइसियु सञ्चालन गर्न नसकिने कलेजका डिन डा शैलेशमणि पोखरेलले बताए । उनले आइसियुमा राख्नुपर्ने विरामीलाई विराटनगरस्थित कोभिड अस्पताल  नै लैजानुपर्ने स्पष्ट पारे । उनका अनुसार संक्रमित भएका तर, लक्षण नभएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको छ । लेभल १ अस्पताल मात्रै भएर उपचार संभव नहुने भएकाले लेभल २मा स्तरोन्नति गर्नुपर्ने अबस्था रहेको बताए । 

जसका लागि चिकित्सकलगायतका दक्ष जनशक्ती, प्राविधिक उपकरण उपलब्ध गराउन सरकारसंग माग पनि गरे । पोखरेलले भने, ‘दक्ष जनशक्ती र मेडिकल सामाग्री अभावले उपचारमा समस्या भएकाले तत्काल जनशक्ती र मेडिकल सामाग्री उपलब्ध गराउनु पर्छ ।’  हाल अस्पतालमा २ जना डाक्टर र ३ जना स्टाफ नर्स मात्रै रहेको डिन पोखरेलले बताए । उनका अनुसार थप ३ जना डाक्टर र २ जना नर्स उपलब्ध गराउन प्रदेश सरकारसंग माग गरिएको छ । अस्पतालमा १ सय २५ जना संक्रमित भर्ना गर्न सकिने क्षमता रहेको डा पोखरेलले बताए । उनले नेपाल सरकारको गाइडलाईन अनुसार नै अस्पताल सञ्चालन गरिरहेको पनि लेखा समितिलाई जानकारी दिए ।  

हाल अस्पतालमा १ सय १६ जना संक्रमित भर्ना भएका छन् । यता सामाजिक विकास मन्त्रालयलका  कोरोना फोकल पर्सन धरणी निरौलाले पूर्वाञ्चल विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयवीच भएको सम्झौता अनुसार अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले  भने‘सम्झौतामा  उल्लेख भए अनुसार अस्पताललाई क्रमिक रुपमा अघि बढाउँदै लगिएको छ । ’ 

निरौलाका अनुसार अस्पतालमा भर्ना भएका संक्रमितको व्यक्तीगत प्रयोजनका लागि  खाना,औषधिलगायतका बस्तुहरू प्रदेश सरकारले उपलब्ध गराईरहेको छ । संक्रमितका लागि  इन्टरनेट सेवा, अस्पताल सञ्चालनका लागि आबश्यक खर्च प्रदेश सरकारले  व्यहोर्ने भने पनि अहिलेसम्म खर्च आइसकेको छैन । अस्पतालल बिल पेश नगरेका कारण खर्च उपलब्ध नभएको निरौलाले बताए । अस्पतालका लागि आवश्यक ३ जना डाक्टर र २ जना स्टाफ नर्स विराटनगरबाट आवासिय रुपमा सोमबार देखि ल्याउने तयारी गरिएको छ  । स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता प्रदेश सरकारले चाँडै उपलब्ध गराउने निरौलाले दाबी पनि गरे । 

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App