coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रण गर्न जुम्लामा ‘मेडिकल मार्च’

कोरोना भाइरस नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जुम्लामा ‘मेडिकल मार्च’ सुरु गरेको छ । यहाँका एक नगरपालिकासहित सात वटा गाउँपालिकामा विशेषज्ञ चिकित्सक खटाएर ‘मेडिकल मार्च’सञ्चालन गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीका अनुसार कनकासुन्दरी गाउँपालिकामा एक जना र चन्दननाथ नगरपालिकासहितका स्थानीय तहमा दुई दुई जना चिकित्सक खटाइएको हो । यहाँका सबै स्थानीय तहमा १५ जना चिकित्सक खटाइएको हो ।

टोलीले क्वारेन्टिनको निगरानी गर्नुका साथै गाउँमा हुने सबै प्रकारका बिरामीको जाँच गर्ने छ । समग्रमा मनोबैज्ञानिक त्रास हटाउनको लागि ‘मेडिकल मार्च’ सुरु गरिएको रजिष्टार विश्वराज काफ्ले बताउँछन् ।

गुठिचौर गाउँपालिकामा प्राध्यापक डा. कमलराज शर्मा,प्रा.डा. रामप्रसाद उप्रेतिलाई खटाईएको छ ।  तातोपानी गाउँपालिकामा प्राध्यापक डा. सुनिल बुढाथोकी, प्राध्यापक सुस्मा काफ्ले खटाईएको छ ।

पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अमगाई, डेण्टल सर्जन भूमेस काफ्ले, तिला गाउँपालिकामा लेक्चर संचिव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र डेण्टल सर्जन दृष्टिराज जोशीलाई खटाईएको प्रतिष्ठानले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकामा डा. सम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा. प्रविण गिरी र लेक्चर डा. अर्जुन तिवारी परिचालन गरिएको रजिष्टार काफ्ले बताउँछन् । हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा. महिमा थापालाई खटाईएको छ ।

जिल्ला बिपत व्यवस्थापन समितिको वैठकमा स्थानीय तहले क्वारेन्टिनमा स्वास्थ्य र सुरक्षाको  ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका सवै स्थानीय तहमा चिकित्सक खटाएर ‘मेडिकल मार्च’ चलाएको हो ।

यो टोलीले बिरामीको चेकजाँच गर्नुका साथै संकास्पद बिरामीको निगरानी गर्ने छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘मेडिकल मार्च’को शिलशिलामा हुम्ला, मुगु र कालिकोट जिल्लामा एक महिना अघि नै चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटाईसकेको छ ।  

पहिलो पटक ‘मेडिकल मार्च’ सञ्चालन गरेर दुर्गम क्षेत्रमा चिकित्सक परिचालन भएका हुन् । कोरोना भाइरसको रोकथाम, नियन्त्रण गर्न सचेतनाका क्रियाकलामा जोड दिने भएको हो । जुम्लाका हरेक स्थानीय तहमा दुई दुई जना चिकित्सक खटाएर एकै दिनमा ८ सय ४७ जनाको स्वाब संकलन गरेर परिक्षण गरिएको थियो । पछिल्लो समयमा भारतबाट आउने क्रम बढेकोले कोराना संक्रमण फैलन सक्ने खतरालाई मध्येनजर गर्दै हरेक स्थानीय तहमा चिकित्सक खटाइएको कर्णाली प्रतिष्ठानले जानकारी दिएको छ ।  

जुम्लामा कोरोना भाइरसको संक्रमण देखिसकेकोले कोराना मुक्त जुम्ला बनाउन सकिने अवस्था छैन । तर कोरोना नियन्त्रण तथा रोकथामका लागि चिकित्सक टोलीले गाउँमा स्वास्थ्य शिक्षाका क्रियाकलाप गरेर उच्च सतर्कता बढाउन राहत मिल्नेछ ।  

 

 

 

  

प्रकाशित: २२ जेष्ठ २०७७ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App